logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

पोखरा र आसपासका तालतलैया एवं जलाशयमा रैथाने जातका माछा लोप हुँदै


  • राजनीति
  • बुधबार, माघ १६ २०७५

नयाँ प्रजातिका माछा भित्रिएसँगै पोखरा र आसपासका तालतलैया एवं जलाशयमा रैथाने जातका माछा लोप हुँदै गएका छन् ।

पछिल्ला वर्षमा मिचाहा प्रजातिको माछा टिलापियालगायतका माछा फष्टाउँदै जाने र रैथाने माछा लोप हुँदै जाने क्रम बढेको हो । टिलापियाको बढ्दो क्रमले रैथानेका साथै अन्य जातका माछालाई पनि प्रभावित पारेको बेगनास ताल जलाहारी समुदायका अध्यक्ष ज्ञानबहादुर जलाहारीले बताए।

“बेगनास ताल र आसपासका ताल एवं जलाशयमा रेवा, फगेटा, काँडे, बिग हेड, बाम, कत्ले, शहर र भित्तेजस्ता रैथाने जात मिचाहा प्रजातिको अतिक्रमणमा परेका छन्”, उनले भने । टिलापियाको अन्य माछामा भन्दा प्रजनन क्षमता बढी हुने भएका कारण पनि पछिल्ला समयमा ताल तथा जलाशयमा यसको सङ्ख्या निकै बढेको मत्स्य व्यवसायी बताउँछन् । रैथाने जातका शहर, बामजस्ता माछाको माग बढी हुने गरे पनि यी विस्तारै हराउँदै गएको जलाहारीले बताए ।

उनका अनुसार बेगनासमा सर्वसाधारणले अत्यधिक रुचाइएको शहर माछा प्रतिकिलो रु ८०० मा बिक्री हुने गरेको छ । टिलापिया ठूलो प्रतिकिलो रु २७० मा बिक्री हुन्छ भने सानो रु २३० मा । त्यस्तै भ्याकुर रु ५००, ग्रास-रघु-नैनी-कमन जातका माछा रु ४०० प्रतिकिलो बिक्री हुन्छ । यहाँ पाइने भित्ता माछा रु २८० प्रतिकिलोमा बिक्री हुने गरेको उनले जानकारी दिए ।

मिचाहा प्रजातिको टिलापिया फुल पारेर मुखमा राखी भुरा निस्केपछि छाड्ने अनौठो माछा हो । यसले सामान्यतः तीनदेखि आठ पटकसम्म फुल पार्छ । एकै पटक ५०० सम्म भुरा निकाल्ने भएकाले पछिल्ला समयमा ताल तथा जलाशयमा यसको सङ्ख्या ह्वात्तै बढेको मत्स्य व्यवसायी बताउँछन् । मत्स्य अनुसन्धान केन्द्र बेगनासका प्रमुख अग्नी नेपालले पोखरामा फेवातालमा मात्रै करीब ३० प्रजातिका माछा पाउने गरेको जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार