मुलुकमा गत पुष महिनाभरिमा १०४ महिला विभिन्न प्रकारका हिंसाबाट पीडित भएका छन् । तीमध्ये १७ महिलामाथि बलात्कार भएको पाइएको छ ।
शुक्रबार ओरेक नेपालले सार्वजनिक गरेको मासिक प्रतिवेदनमा यो तथ्याङ्क उल्लेख छ । ओरेक नेपालले पत्रपत्रिकामा छापिएका घटना र आफूकहाँ आएको उजुरीको आधारमा यो प्रतिवेदन तयार पारेको हो ।
पुष महिना ५३ जना महिला घरेलु हिंसाबाट प्रभावित भएका छन् । अन्य महिला चाहिँ छाउपडी, बेचबिखन र हत्या जस्ता हिंसाको शिकार भएको ओरेक नेपालले जनाएको छ ।
देखिएका हिंसा प्रभावित महिलामध्ये ५८ प्रतिशत श्रीमानबाट, २३ प्रतिशत छिमेकीबाट, ५ प्रतिशत परिवारका सदस्यबाट, ७ प्रतिशत साथीबाट, २ प्रतिशत शिक्षकबाट र ५ प्रतिशत अन्यबाट पीडित भएको पाइएको छ ।
सरकारले महिला विरुद्धको हिंसा रोक्न घरेलु हिंसा तथा कसुर सजाय ऐन २०६६ र नियमावली २०६७ जारी गरेको छ । तर, त्यसको पूर्ण कार्यान्वयन नभइरहेको ओरेकको प्रतिवेदनले देखाउँछ ।