चिकित्सा क्षेत्रको सुधारका लागी भन्दै २४ दिनदेखि सत्याग्रहमा रहेका डा. गोविन्द केसीको माग पूरा गराउन दबाबस्वरुप देशभरका अस्पतालमा आज आकस्मिकबाहेकका सम्पूर्ण सेवा ठप्प भएको छ । नेपाल चिकित्सक संघले डा. केसीको माग वार्तामार्फत पूरा गराउन आग्रह गर्दै आकस्मिकबाहेकका सम्पूर्ण सेवा ठप्प पारेको हो ।
नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “डा. केसीको स्वास्थ्यमा गम्भीर असरहरु देखिन थालेको विद्यमान अवस्थामा सरकारको यो निस्किृय कदमप्रति हामी मर्माहत भएका छौं । आम सर्वसाधारण नागरिकहरुको सस्तो, सुलभ र गुणस्तरीय चिकित्सा तथा स्वास्थ्य सेवाका लागि निरन्तर लडिरहेका सत्याग्रहीका सम्बन्धमा सरकार मौन रहनु र डा. केसीको जीवन रक्षार्थ आधारभूत मानव अधिकारको समेत पालना नगरिएको हुनाले नेपाल चिकित्सक संघले मिति २०७५ माघ १८ गते शुक्रबार १ दिनका लागि सांकेतिक आन्दोलनस्वरुप देशभरका सरकारी, गैरसरकारी, निजी, मेडिकल कलेजलगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको व्यहोरा यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।”