राजनीति
काठमाडौं– भक्तपुरबाट खटिएको प्रहरी टोलीले महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) बसन्त लामाको घुमुवाको रुपमा काम गर्दै आएका दुईजना प्रहरी जवानलाई नियन्त्रणमा लिएको छ ।
काठमाडौंमा कार्यरत प्रहरी जवान मिलन ढुंगाना र महानगरीय प्रहरी वृत सिंहदरबारमा कार्यरत मनोज धमलालाई बिहिबार साँझ मनहरा खोलामा मापसे गरेर हो–हल्ला गरेपछी महानगरीय प्रहरी परिसर भक्तपुरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई अहिले महानगरीय प्रहरी वृत ठिमीको हिरासतमा राखिएको छ ।
पक्राउ परेका ढुंगानाले आफूलाई काठमाडौंका एसएसपी बसन्त लामाको अंगरक्षक (बडिगार्ड) भएको बताएका छन् । प्रहरी जवान मनोज धमलालाई बसन्त लामाले आफ्नो घुमुवाको रुपमा काम गर्नेगरी महानगरीय प्रहरी वृत सिंहदरबारमा खटाएका थिए ।
काठमाडौं प्रहरी प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले पक्राउ परेको दुईजना जवानहरु एसएसपीको घुमुवा नभएको तर काठमाडौं प्रहरी मातहत कार्यरत रहेको बताए ।
उलने भने, ‘मिलन ढुंगाना गाडीको पछाडी हतियार बोकेर बस्ने केटा हो’ साँझ ६ बजे ड्युटी सकेर भक्तपुरमा आफन्तको विवाहमा सहभागी हुन गएको थियो, अहिले बिहान पक्राउ परेको खबर आएको छ ।’
मापसे गरेर तिब्र गतिमा मोटरसाईकल चलाएर हो–हल्ला गर्दै हिँड्ने प्रहरीहरुबारे थप अनुसन्धान भईरहेको बताईएको छ ।