बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्य केन्द्रीय कमान्ड इन्चार्ज सुदर्शनले क्रान्तिका लागि बस्तुगत परिस्थिति तयार रहेको भन्दै आत्मगतस्थिति तयार बनाउनु पर्ने कुरामा जोड दिएका छन् ।
पार्टीको ललितपुर जिल्ला समितिले शनिबार आयोजना गरेको राजनैतिक तथा वैचारिक प्रशिक्षण मा बाेल्दै नेता सुदर्शनले सरकारको गतिविधिको कारण पनि क्रान्तिको वातावरण तयार बन्दै गएको बताए । युद्ध आफ्नो चाहनाको विषय नभएपनि परिस्थितिले क्रान्तिको लागि युद्धको माग गरेको खण्डमा तयार रहन कार्यकर्तालाई निर्देशन दिए ।
सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ ले एकीकृत जनक्रान्तिको लागि बलियो आधार बनाउने उनले बताए । अभियानमा एकजुट भएर लाग्न र जनताको घरआँगनमा पुगेर स्थानीय सरकारले मच्चाएको भ्रष्टचार र अत्याचारको भण्डाफोर गर्न कुनै कसर बाँकी नराखेर लाग्न कार्यकर्तालाई निर्देशन दिए ।
उनले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बलात्कारी र हत्यारा सरकारकै संरक्षणमा रहेको दाबी गर्दै यसमा प्रहरी प्रशासन पनि जिम्मेवार रहेको बताए । सुदर्शनले अहिले प्रधानमन्त्री केपी ओली र प्रचण्डहरु क्रान्तिको बद्नाम गर्न र नेकपाविरुद्ध भ्रम छर्न लागिपरेको बताए ।