logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

किन चाेरेका रहेछन् मेयर र वडाअध्यक्षले बिधुत ?


  • न्युज डेस्क
  • मंगलबार, माघ २२ २०७५

नेपाल विद्युत प्राधिकरणको टाेलिले रौतहटको गढीमाई नगरपालिका मेयर र वडाध्यक्ष विद्युत चोरीमा संलग्न रहेको भेटाएकाे छ । नेपाल विद्युत प्राधिकरणको विद्युत चुहावट नियन्त्रण महाशाखा काठमाडौंबाट खटिएको टोलीले मेयर श्यामप्रसाद यादव (ग्राहक नं ००८.१३.०१) र वडा नम्बर ६का वडाध्यक्ष रामसिंघासन यादव (ग्राहक नं ०७.२०.०३ ए) र गरुडा नगरपालिका-१का वडाध्यक्ष सरोज राय यादव -ग्राहक नं १८.०८.१९)ले आफ्नो घरमा विद्युत चोरी गरी प्रयोग गरेको फेला पारेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गौर क्षेत्रमा विद्युत चोरी अत्याधिक रहेको गुनासो आएपछि महाशाखाका इन्जिनियर प्रदिपकुमार शर्माको नेतृत्वमा छड्के चेकजाँच टोली खटाएका थिए । जनताबाट निर्वाचित मेयर र वडाध्यक्ष नै विद्युत चोरीमा संलग्न हुनु दुर्भाग्यपूर्ण रहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

टोलीले गत १४-२० माघमा रौतहटमा गरेको छड्के चेकजाँचको क्रममा गढीमाई नगरपालिकाको  बिनगरमा रहेको दुईवटा घरमा मेयर श्यामप्रसाद यादवले हुकिङ गरी विद्युत् प्रयोग गरिरहेको फेला पारेको हो । टोली प्रमुख शर्माले हुकिङ गरेर प्रयोग गरिएको लाइन काटिएको तर सुरक्षाका कारण मेयरको घरमा राखिएको मिटर खोल्न नसकिएको बताए ।

‘घर पछाडि रहेको प्राधिकरणको वितरण लाइनबाट हुकिङ गरेर ल्याएको तारबाट  एउटा घरमा बिजुली प्रयोग गरिएको रहेछ, त्योभन्दा अलि पर रहेको अर्को घरमा मिटर छ, त्यहाँबाट पनि चोरी गरेर वत्ति वालिएको घरमा लाइन ल्याइएको छ’,उनले भने,’त्यो घरमा चोरी गरेको र नगरिएको दुवै लाइन जोडिएको रहेछ, हुकिङ काट्यौं तर चोरीको वत्ति प्रयोग गरिरहेको फेला परेपछि मान्छेको भीड जम्मा भयो उनीहरुले मिटर खोल्न दिएनन् ।’

तर, मेयरले विद्युत चोरी गरेको मुचुल्का तयार गरेको र त्यसमा मेयरका भाइ संजिव कुमार यादवले सही गरेको शर्माले जानकारी दिए । उनले मुचुल्लाको फाइल गौर शाखालाई दिएर विगो तथा त्यसमा लाग्ने जरिवाना लगायतका कानुनी कारबाही गर्न निर्देशन दिइएको बताए ।

टोलीले गढीमाई नगरपालिकाको वडा नम्बर ६ का वडाध्यक्ष रामसिंघासन यादवले आफ्नो घरमा, वडा कार्यालयमा र धरमपुर स्वास्थ्य चौकीमा चोरीको विद्यत् प्रयोग भइरहेको फेला पारेको छ ।

‘वडाध्यक्षको घरमा धेरै विद्युत खपत गर्ने सामाग्री प्रयोगमा रहेछन्, मिटरको सर्भिस केबल खोली राखेको तर हुकिङमार्फत घरमा वत्ति प्रयोग गरिएको रहेछ’, शर्माले भने,’त्यस क्षेत्रमा चोरी अत्याधिक रहेकाले  विद्युत आपूर्ति गर्ने टान्सर्फमरबाट लाइन काटेर आएका छौं ।’

गरुडा नगरपालिका १का वडाध्यक्ष्यक्ष सरोज राय यादवले मिटर बाइपास गरी घरमा बिजुली प्रयोग गरेका थिए । टोलीकाअनुसार, वडाध्यक्षले आफ्नो घरमा मात्रै हैन दाजुभाइको घरमासमेत चोरीको विद्युत दिएका थिए ।

वडाध्यक्षहरुले चोरी गरेको विद्युतको विगो र त्यसमा लाग्ने जरिवाना लगायतका कानुनी कारबाही गौर वितरण केन्द्रले गर्ने छ ।

प्राधिकरणले बढी विद्युत चोरी हुने क्षेत्रमा लोडसेडिङ गर्ने, विद्युतको नियमित आपूर्तिका लागि टान्सर्फमर नथप्ने तथा मर्मत समेत नगर्ने नीति लिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार