राजनीति
पोखरा- नेपाल कम्युनिस्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेनेजुएला प्रकरणमा विज्ञप्ति जारी गर्दा चिप्लिएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्।
प्रधानमन्त्री ओलीले भेनेजुएला प्रकरणमा प्रचण्ड चिप्लिएको नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘जनतासँग प्रधानमन्त्री’मा बोल्दै बताएका हुन्। यसअघि गत माघ ११ गते नेकपाका प्रचण्डले भेनेजुएलाको राजनीतिक परिवर्तनमा अमेरिकाले हस्तक्षेप गरेको भन्दै अमेरिकाकी साम्राज्यवादी प्रवृत्तिको कडा शब्दमा विरोध गरेका थिए। उनको विज्ञप्तिपछि कूटनीतिक क्षेत्रका विज्ञहरूले नेपालले अनावश्यक ठाउँमा र विषयमा प्रतिक्रिया दिएको बताउँदै आएका छन्।
प्रधानमन्त्री ओलीले प्रचण्ड चिप्लिएको बताए पनि नेपाल सरकार र नेकपा सचिवालयको तर्फबाट प्रकाशित छुट्टाछुटै वक्तव्यमा प्रचण्डकै वक्तव्यलाई मान्यता दिँदै तर भद्र भाषामा भेनेजुएलाको राजनीतिक परिवर्तनमा अमेरिकाले हस्तक्षेपको विरोध गरिएको छ।
प्रधानमन्त्री ओलीले नेकपाका अध्यक्ष प्रचण्ड बहकिएको बताए पनि गत मे महिनामा भएको भेनेजुएलाको राष्ट्रपति निर्वाचनमा निकालोस मडुरो निर्वाचित भएपछि नेपालले मडुरोलाई बधाई सन्देश पठाएको थियो।
राष्ट्रपतिय निर्वाचनमा धाँधली भएको भन्दै भेनेजुएलाका विपक्षी दल, अमेरिका र समर्थित देशले निर्वाचनको विरोध गरेका थिए।
नेपालले भने राष्ट्रपति विद्यादेवी भण्डारीको नाममा मडुरो भेनेजुएलाको राष्ट्रपतिमा पुनःनिर्वाचित भएकोमा बधाई सन्देश पठाएको थियो।
भेनेजुएला प्रकरणमा यदि पार्टी अध्यक्ष प्रचण्ड चिप्लिएकै हो भने त्यसको सुरुवातमा राष्ट्रपतिको बधाई सन्देशबाटै सुरु भएको प्रचण्ड निकट व्यक्तिहरूको बुझाइ छ।