राजनीति
नेकपा केन्द्रीय सचिवालयले गठन गरेको कार्यदलभित्र तत्काल प्रतिवेदन बुझाउने वा दिइएको जिम्मेवारी पुरा गरेर बुझाउने भन्ने विषयमा विवाद सिर्जना भएको छ। कार्यदलका बहुमत सदस्यहरुले कार्यदल असफल देखिने गरी पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाइए समानान्तर प्रतिवेदन बुझाउने चेतावनी दिएपछि कार्यदलभित्र दुई धार देखिएको छ।
सोमबार (२१ माघ) बसेको नेकपा केन्द्रीय सचिवालयको बैठकले रामबहादुर थापा (बादल) नेतृत्वको कार्यदललाई २२ माघमा प्रतिवेदन बुझाउन समयावधि तोकेको थियो। दिइएको जिम्मेवारी पुरा नहुँदै प्रतिवेदन बुझाउने वा काम सम्पन्न गरेर मात्र प्रतिवेदन बुझाउने भन्ने सम्बन्धमा कार्यदलभित्रै देखिएको विवाद का कारण २२ माघमा प्रतिवेदन बुझाउने र २३ माघमा फेरि सचिवालयको बैठक बसेर एकता सम्बन्धमा थप निर्णय गर्ने बताइएपनि प्रतिवेदन नबुझाइँदा सचिवालयको बैठक २३ माघमा हुन सकेन।
जे जति काम भएको छ, सोही अनुसार प्रतिवेदन बुझाउन केन्द्रीय सचिवालयले निर्देशन दिएको निर्देशन अनुसार प्रतिवेदन बुझाउने तयारी भएपछि सदस्यहरुले विरोध गरेका थिए। कार्यदलको बैठक नबसी प्रतिवेदन नबुझाउन कार्यदलका सदस्यहरु सुरेन्द्र पाण्डे, योगेश भट्टराई, बेदुराम भूषाल र लेखराज भट्टले बुधबार (२३ माघ) गृहमन्त्रालय पुगेर गृहमन्त्री थापालाई दबाब दिएका थिए।
त्यसै अनुरुप आज कार्यदलको बैठक सिँहदरवारस्थित संसदीय दलको कार्यालयमा बसेको थियो।
बैठकमा कार्यदलको संयोजकसमेत रहेका गृहमन्त्री थापाले पार्टी सचिवालयले प्रतिवेदन मागेको र आफूले प्रतिवेदन तयार पारिसकेको ब्रिफिङ गर्दै ‘के गरौँ?’ भन्दै सदस्यहरुको राय मागेका थिए। कार्यदलका कारण दिइएको काम सम्पन्न नभएको जिकिर गरेका सदस्यहरुले ‘प्रदेश कमिटी भन्दा तलका कमिटीबीचको एकताका विषयमा छलफल नै नभएको स्थितिमा कसरी प्रतिवेदन बुझाउनु हुन्छ?’ भन्ने प्रश्न थापासँग गरे।
‘प्रदेश कमिटीमा असहमति भयो भन्दैमा सबै विषयमा असहमति हुन्छ भन्ने छैन’ उनीहरुको भनाई थियो, ‘त्यसैले, अन्य कमिटीका विषयमा पनि छलफल गरौँ, अनि आवस्यक निर्णय गरेर प्रतिवेदन तयार पारौँला।’ प्रयास गरिए सहमति असम्भव नरहेको बताउँदै कार्यदललाई असफल बनाउन नहुनेमा जोड दिएका थिए। कार्यदल असफल देखिने गरी प्रतिवेदन दिइए आफूहरुको तर्फबाट समानान्तर प्रतिवेदन बुझाउने उनीहरुले बताएका थिए।
कार्यदलका सदस्यहरु शंकर पोखरेल र रघुवीर महासेठ अनुपस्थित ९ सदस्यीय कार्यदलको आजको बैठकमा सुरेन्द्र पाण्डे, बेदुराम भूषाल, योगेश भट्टराई, लेखराज भट्ट र बर्षमान पुनले यस्तो चेतावनी दिइएपछि बैठक भोलिका लागि पनि डाकिएको छ।बैठकमा उपस्थित ७ मध्ये ५ सदस्यले यस्तो चेतावनीपछि गृहमन्त्री समेत रहेका कार्यदलका संयोजक थापाले आफूले तयार पारेको प्रतिवेदन अध्ययनका लागि सदस्यहरुलाई दिएका छन्।