राजनीति
पोखरा- पोखरा महानगरपालिकाको बा १ झ ५८७९ नम्बरको गाडी जलाएको आरोपमा पक्राउ परेका तीनजना नेपाल विद्यार्थी संघका नेता परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेल तारिखमा छुटेका छन्। जिल्ला अदालत कास्कीले थुनामा रहेका तीन विद्यार्थी नेतालाई साधारण तारिखमा रिहा गर्न शुक्रबार आदेश दिएको हो।
गत माघ १९ गते शनिबार पक्राउ परेका पाँचजना मध्ये तीन विद्यार्थी नेतालाई प्रहरीले अदालतमा अपराधिक उपद्रव मुद्दा दायर गरेको थियो।
प्रहरीले बिहीबार अदालतमा मुद्दा दायर गरेपछि शुक्रबार भएको थुनछेक बहसपछि कास्की जिल्ला अदालतका न्यायाधीश काजीबहादुर राईको इजलासले उनीहरुलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको निमित्त स्रेस्तेदार मोहनबहादुर अधिकारीले जानकारी दिए।
महानगरपालिका शिक्षा महाशाखाको बा १ झ ५८७९ नम्बरको गाडीमा गत शनिबार मासबारमा उनीहरुले आगजनी गरेका थिए।
आगजनीको अरोपमा पाँचजना पक्राउ परेकोमा २ जनालाई केही दिनपछि छाडेपनि ३ जना विरुद्ध प्रहरीले मुद्दा दायर गरेको थियो। नेविसंघले उनीहरुको बिना सर्त रिहाइको माग गर्दै गण्डकी प्रदेशमा चरणवद्ध आन्दोलन गर्दै आएको थियो।