logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

पर्वत फलेवासमा बजेट अभावका कारण सामुदायिक विद्यालयको भवन निर्माण अलपत्र


  • राजनीति
  • आइतबार, माघ २७ २०७५

पर्वत- बजेट अभावका कारण यहाँको एक सामुदायिक विद्यालयको भवन निर्माण अलपत्र परेको छ ।

फलेवास नगरपालिका–४ मुडिकुवास्थित माटेदेवल व्यावसायिक तथा प्राविधिक माध्यमिक विद्यालयको भवन बजेट अभावका कारण विगत चार वर्षदेखि अलपत्र परेको हो । एक वर्षभित्रै सम्पन्न गर्नेगरी २०७१ मा निर्माण शुरु गरिएको सो विद्यालयको भवन अझैसम्म बन्न सकेको छैन ।

तत्कालीन शान्ति तथा पुनःनिर्माण मन्त्रालयको सहयोगमा निर्माण शुरु भएको दुई कोठे सो पक्की भवन अलपत्र रहँदा विद्यालयमा कक्षाको समस्या छ । आर्थिक वर्ष ०७१-७२ मा शान्ति तथा पुनःनिर्माण मन्त्रालयले एक वर्षभित्रै सक्नेगरी विद्यालयको पक्की भवन निर्माण गर्ने सम्झौता गरेको थियो ।

सम्झौताअनुरूप पहिलो किस्ता रकम पठाएर बाँकी भुक्तानी नदिएपछि निर्माण कार्य रोकिएको सरोकारवालाको भनाइ छ ।

‘हामीले धेरैपटक सम्बन्धित निकायमा हारगुहार गर्यौं,’ विद्यालय व्यवस्थापन समिति अध्यक्ष धनेश्वर रेग्मीले भने, “शुरुमा रु ६ लाख ल्याउन सकियो, त्यसपछि मन्त्रालय नै विघटनभयो, पैसा आउने कुरै भएन ।”

विद्यालयको अरू स्रोत नभएकाले प्राप्त बजेटबाट हुने कामबाहेक अरू अगाडि बढाउन नसकेको उनले बताए । भवनको जग, झ्याल–ढोका र गारो लगाएपछि बाँकी काम रोकिएको हो । निर्माणाधीन भवन अलपत्र परेपछि विद्यार्थीलाई चौर, नजिकैका चौतारा र बरण्डामा राखेर पढाउनु परिरहेको प्रधानाध्यापक रामप्रसाद रिजालले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार