राजनीति
काठमाडौं-खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुर लाई सरुवा गरिएको छ ।मेलम्ची खानेपानी आयोजनाको बाँकी काम गराउने विषयमा खानेपानी मन्त्री बिना मगर र सचिव गजेन्द्र ठाकुरबीच मत बाझिएपछि सचिव ठाकुरलाई सरुवा गरिएको हो । आयोजनाको काम छोडेर गएको इटालीयन कम्पनी सीएमसीलाई कानुन विपरित २ अर्ब ६० करोड रुपैयाँ भूक्तानी दिएर फेरि बोलाउन मन्त्रीले दबाब दिएको तर सो निर्देशन नमान्दा आफूलाई सरुवा गरिएको सचिव गजेन्द्र ठाकुरले बताए । उनले भने, त्यो कानुन विपरित भएकोले मैले दिन मानिनँ, त्यसको विकल्प खोज्नुस् मबाट मुलुकलाई अहित हुनेगरी राष्ट्रलाई घात हुने यस्तो काम हुँदैनँ भनेपछि सरुवा गर्नुभयो ।
आफूले नेपालीले नै बाँकी काम साढे २ अर्बमा गर्न सक्ने र समयमा पानी पनि आउने बताएपनि उहाँले भागेको सिएमसीलाई नै बोलाउने भन्नु भयो । सीएमसी बाँकी काम गर्न फिर्ता आए मुलुकलाई ७ अर्ब घाटा लाग्ने दाबी गरे । उनले भने, सीएमसी आउँदा मुलुकलाई ६ देखि ७ अर्ब घाटा हुन्छ । सोझो तरिकाबाट नेपाली ठेकेदारबाटै काम गराउनुपर्छ भन्ने मेरो अडान थियो । तर मन्त्रीजीको भागिसकेको ठेकेदार सीएमसीलाई नै फर्काउनुपर्छ भन्ने अडान भएपछि विचार मिलेन त्यसपछि सरुवा गराईयो । खानेपानी मन्त्रालयमा यसअघि पनि अर्का सचिव कृष्णराज बिसीको सरुवा गरिएको थियो ।
सचिव ठाकुरले मन्त्रीहरुले कानुन विपरित काम गर्न खोजेपछि सचिवसँग कुरा नमिल्ने बताए । उनले भने–‘हामी त आजको क्यार्डड हुँदैनौ । हामी सचिव तीस पैँतीस वर्ष जागिर गरेका हुन्छौँ, ए टु जेट माथि उठेका हुन्छौँ, हामीलाई मुलुकको एक एक विधि, प्रक्रिया र कानुन थाहा हुन्छ, यदी कानुन विपरित कुरा गर्छन् भने हामी राज बुझाउछौँ । बसिराख्नु भन्दा ठाँउ छोडिदिँउ नै उत्तम हुन्छ ।’ गत माघ २४ गते सरकारले सिएमसीसँग ठेक्का तोडेको थियो । मेलम्ची खानेपानी आयोजनको काम अघि बढाउने सम्बन्धमा मन्त्री मगर र ठाकुरबीच पहिलेदेखि नै मत बाझिएको थियो । ठेक्का तोडिएपनि मन्त्री मगरले फेरि सीएमसीलाई ल्याउन पहल थालेकी हुन् ।