राजनीति
संगठनात्मक एकीकरण टुंग्याउन गठित कार्यदलको म्याद थप्नेबारे सचिवालयमा विवाद उत्पन्न हुदा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को वौठक नै स्थगित भएको छ ।
बिहीबार सचिवालय र कार्यदलको संयुक्त बैठक बसेको थियो । बैठकमा कार्यदलले एकीकरणको खाका जिल्ला तहको नेतृत्वको सिफारिससमेत बुझाउन सात दिनको समय माग गरेको थियो ।
स्रोतले शीर्ष तहका नेताको मत सचिवालयले नै टुंग्याउने कि कार्यदललाई समयावधि थप्ने भन्ने विषयमा बाझिएपछि बैठक भोलि शुक्रबार बिहानसम्म स्थगित भएको जानकारी दियो ।
स्रोतका अनुसार कार्यदलको समयावधि थप्ने विषयमा अध्यक्षद्वयकै मतैक्य हुन सकेको छैन । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली कार्यदलको समय नथप्ने मनशायमा छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने कार्यदललाई ७ दिनको समय दिएर सबै काम कार्यदलबाटै टुंग्याउनुपर्ने मनशायमा छन् ।
कार्यदलका ९ सदस्यमध्ये ६ जना पूर्वएमालेका छन् । ३ जनामात्रै पूर्वमाओवादी केन्द्रका छन् ।पूर्वएमालेका ६ जनामध्ये ३ जना माधव नेपाल समूहका रहेकाले आफू अनुकूल निर्णय गराउन नसक्ने भय अध्यक्ष ओलीलाई छ । अतः उनले महासचिव विष्णु पौडेलमार्फत् कार्यदलको बैठक नै नबोलाएर निष्कृय बनाउन लागिपरेको आरोप नेता माधव नेपाल पक्षले लगाउँदै आएको छ ।
बिहीबारको संयुक्त बैठकमा पनि नेपाल समूहले सोही कुरा राख्यो । बैठकमा बोल्ने नेपाल समूहका सबै सदस्यले कार्यदललाई निष्कृय बनाइएको आरोप लगाएका थिए ।
नेपाल समूहले कार्यदलको समयावधि नथपिएमा समानान्तर प्रतिवेदन बुझाउने तयारी गरेको बताएको छ । यसअघि पनि कार्यदलले ‘म्याद थप्नु पर्दैन, कार्यदलले गर्न सक्ने यत्ति हो भन्ने आशयसहित’को प्रतिवेदन बुझाउने तयारी संयोजक रामबहादुर थापा ‘बादल’ ले गरेका थिए । तर, नेपाल समूहका ३ जनासहित वर्षमान पुन र लेखराज भट्टले हस्ताक्षर नगर्ने बरु समानान्तर प्रतिवेदन बुझाउने तयारी गरेपछि बाध्य भएर म्याद थप्ने प्रस्तावसहितको प्रतिवेदन बुझाइएको थियो ।