राजनीति
काठमाडौं- हिजो बसेर स्थगित भएको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय आज पनि नबस्ने भएको छ ।
ने कपाका तर्फबाट ५ नं प्रदेशको प्रदेशसभामा निर्वाचित सांसद उत्तरकुमार ओलीको निधन भएका कारण बैठक सरेको हो। ओलीको शव श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय धुम्बाराहीमा राखिने बताइएको छ ।
प्रदेश नम्बर ५ का सांसद उत्तरकुमार ओलीको निधन भएको छ । २४ माघमा सवारी दुर्घटनामा परेका सांसद ओलीको काठमाडौंमा उपचार उपचारकै क्रममा उनको निधन भएको बताइएको छ । उनी दाङ क्षेत्र नं। ३ (२) बाट निर्वाचित भएका थिए ।

दुर्घटना भएको १६ दिनसम्म कोमामा रहेका सांसद ओलीलाई शुक्रबार बिहानै मृत घोषणा गरिएको छ ।
घोराहीबाट वीरगंजतर्फ जाँदै गरेको ना ५ ख ५५२९ नम्बरको यात्रुबहाक बसले बुटवलबाट तुलसीपुरतर्फ आउँदै गरेको बा १८ च ६८३६ नम्बरको सांसद ओली सवार कारलाई घोराही–लमही सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका वडा नम्वर ३ चिसापानी नजिकै ठक्कर दिदा दुर्घटना भएको थियो । सांसद ओलीको टाउकोमा, हातमा, खुट्टामा गम्भीर चोट लागेको थियो ।
यसैबीच दिवंगत प्रदेशसभा सदस्य ओलीलाई अन्तिम श्रद्धान्जली दिनका लागि अहिले बिहान ९ बजेदेखि १० बजेसम्म पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिने भएको छ । कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार १० बजेपछि उनको शव आजै गृहजिल्ला दाङ लैजाने तयारी छ ।