logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

नेकपाको कार्यदल भंग, एकीकरणको जिम्मा सचिवालयलाई


  • आश तमु
  • शुक्रबार, फाल्गुन १० २०७५

दुइ पार्टी एमाले र माओवादी केन्द्र मिलेर बनेको सत्तारुढ दल (नेकपा)ले सांगठनिक एकता टुंगो लगाउने गठित कार्यदल भंग गरेको छ । आगामी दिनमा यसको कार्यभार शीर्ष नेताहरु रहेको सचिवालयले लिनेछ । अब सचिवालयले नै सांगठनिक एकताको प्रस्ताव तयार पारेर स्थायी कमिटीमा पेश गर्नेछ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले कार्यदलको म्याद थप नगर्ने निर्णय गरेको हो ।

बिहीबार सचिवालय बैठकमा संयोजक रामबहादुर थापा बादलले पेश गरेको कार्यदलको प्रतिवेदनमा एक साता समय माग गरिएको थियो । बैठकमा बोल्ने कार्यदलका बहुमत सदस्यहरुले पनि म्याद थप्नुपर्ने धारणा राखेका थिए । तर, प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले कार्यदल विघटन गर्ने प्रस्ताव गरेका थिए ।

शुक्रबारको सचिवालय बैठकले ओलीकै प्रस्तावअनुसार निर्णय गरेको छ । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘सचिवालयको बैठकले कार्यदललाई अहिलेसम्म गरेको कामका बापत धन्यवाद दिने निर्णय गर्‍यो । अब प्रस्ताव सचिवालयले तयार गर्ने र स्थायी समितिमा पेश गर्ने निर्णय भएको छ ।’

त्यस्तै नेकपाका अर्का नेता योगेश भट्टराईले पनि आफूले त्यस्तै सुनेको बताए । उनले भने ‘मैले पनि त्यही सुनेको छु । यदि कार्यदल भंग गरेको हो भने दुर्भाग्य हो । पार्टी एकता हुन नदिन पार्टीभित्रैबाट षडयन्त्र भएको बुझ्नुपर्छ । यसले पार्टी र सरकारलाई राम्रो गर्दैन । यो कार्यसमितिले छलफल गर्नुपर्थ्याे ।’ उनले कार्यदलका संयोजक र सदस्यहरुका कारण यस्तो भएको भन्दै कटाक्ष गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार