logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

बलात्कार पृतिसत्तात्मक साेचकाे परिणाम हाे जसले महिलालाइ भाेग्या ठान्छ : आहुती


  • आहुती
  • शनिबार, फाल्गुन ११ २०७५

विवाह संस्था बलात्कारबाटै सुरु भएको हो । महिलाहरूलाई जबर्जस्ती लुटेर, बन्धन बनाएरै विवाहको सुरु भएको हो । पछि विवाहलाई संस्कारको रूप दिइयो । संस्कारको रूप प्राप्त गरेपछि विवाह भन्ने संस्थाले समाज अघि बढाउन भूमिका पनि खेलेको छ । वैवाहिक बलात्कार त समाजमा भइरहेको थियो, यद्यपि लामो समय त्यसलाई बलात्कार भनिएन । ‘जोइपोइको झगडामा यस्तो भइहाल्छ नि’ भनेरै टारियो । महिलाको इच्छाविपरीत सबै यौन गतिविधि बलात्कार हुन् । त्यसैले वैवाहिक बलात्कार वैधानिक रूपमै भइरहेकै थियो ।
अहिले जे–लाई बलात्कार भनिन्छ, त्यसको हिजोदेखि चलिआएको चरित्र के हो भनेर हेर्नुपर्ने हुन्छ । बलात्कार हुने केही अवस्था छन् । पुरुषले कुनै महिलालाई आफ्नी श्रीमती बनाउन चाहन्छ र प्रस्ताव गर्छ । प्रस्ताव महिलाले इन्कार गर्छे । यस्तो अवस्थामा पितृसत्तात्मक अहंबाट विकसित भएको पुरुषले आफ्नो मानमर्दन र ठूलो अपमान भएको ठान्छ । केही समयसम्म त पुरुषले महिलालाई फकाउने नै प्रयास गर्छ, नहुने नै भन्ने भइसकेपछि बदला लिन थाल्छ । महिलाको हुर्मत लिएर, उसमाथि अत्याचार गरेर आफ्नो अहं तुष्टि गर्ने बाटो लिन्छ । परिबन्दमा पार्ने, बाटो ढुक्ने इत्यादि–इत्यादि योजना बनाउँछ । बलात्कारका घटना विकसित हुने एउटा बाटो हो यो । दोस्रो शृंखला–बाटोघाटो वा कुनै अक्करमा एक्लैदुक्लै महिला भेटेपछि पुरुषहरूको समूह वा एक्लो पुरुषले भोग गर्न चाहँदा पनि बलात्कार हुन्छ ।
तेस्रो शृंखला– परिवारभित्र हुने यौन उत्तेजनात्मक दुर्घटनाका रूपमा बलात्कार हुने देखिन्छ । बच्चा र आफ्नो नाता सम्बन्ध भएका मान्छेमाथि पुरुषले र कतिपय सन्दर्भमा एकाध महिलाले पनि बलात्कारको प्रयास गर्छन् । यौन उत्तेजनाको गलत लत वा अवस्थाका कारण यस्तो परिस्थिति उत्पन्न हुन्छ ।  चौथो शृंखला– पुरुषसँग बदला लिन महिलाहरूलाई सताउने । श्रीमान् वा दाजुभाइसँगको रिसइबी उसकी श्रीमती वा दिदी–बहिनीमाथि पोख्छन् कतिपय पुरुष । पुरुषलाई उत्पीडित गर्न पनि महिलालाई  जबर्जस्ती गर्ने ।
पाचौँ शृंखला– युद्धलगायत घटनामा खास विचार वा समूहलाई निस्तेज पार्न उनीहरूको परिवारमाथि बलात्कार गर्ने । दुनियाँमा हुने बलात्कारका मुख्य शृंखला यिनै हुन् ।  सन्दर्भ वा परिस्थिति जेजस्तो भए पनि महिला भोग्या हो र हाम्रो काम महिला भोग्ने हो भन्ने पुरुष मानसिकता नै बलात्कारको कारक हो । बलात्कारको स्रोत नै पितृसत्तात्मक सोच हो । पितृसत्तावादका मूलतः तीनवटा दृष्टिकोण छन् ।
पहिलो, महिलाहरू पुरुषभन्दा बौद्धिक र शारीरिक दुवै रूपमा कमसल र कमजोर हुन् । दोस्रो, महिला सुन्दर प्रजाति हुन् र पुरुषहरू शक्तिशाली प्रजाति हुन् । तेस्रो, महिला भनेका पुरुषका भोग्या हुन् । पितृसत्तावादका मुख्य अवधारणा यिनै हुन् । समाजमा महिला र पुरुष यही अवधारणाबाट प्रशिक्षित हुने हुन् । यो अवधारणाले स्वाभाविक रूपमा पुरुषलाई बलात्कारी बनाउँदै लैजान्छ । महिलालाई कमजोर भएको महसुस गराएर भाग्नुपर्ने र लुक्दै हिँड्नुपर्ने मनस्थितिमा हुर्काउँदै लैजान्छ । बलात्कारको वैचारिक पृष्ठभूमि यही हो । महिलालाई आफूसरहको मान्छे नठानेपछि नै बलात्कार हुने हो । महिला पनि विचार, भावना र आत्मसम्मान भएको, संसारलाई हस्तक्षेप गर्नसक्ने चेतना बोकेकै प्राणी हो भन्ने लागे त बलात्कार नै हुँदैन । कसैको दिमागमा बलात्कार भन्ने नै आउँदैन ।
नेपालमा जसरी बलात्कारका घटना घटिरहेका छन्, हामीले चर्चा गरेकोबाहेक अतिरिक्त कारणले काम गरिरहेको छ । नेपाली समाजको चेतना विकासको जुन गति छ, त्यसलाई धेरै ठूलो हस्तक्षेप गर्ने गरी बाहिरी चेतनाको गति आएको छ । यसले नेपाली र त्यसमध्ये पनि सबभन्दा बढी युवाहरूमा अन्योल सिर्जना गरिदिएको छ । चुकुल–छेस्कनी लगाउने र स्विच थिचेर बत्ती बाल्ने मान्छेहरू जब पाँचतारे होटेलमा बस्न जान्छन्, त्यतिवेला बत्ती बाल्न र कार्डवाला ढोका खोल्न सक्दैनन् । त्यसपछि मान्छे आत्तिन्छ । यो के भएको हो त ? आधुनिक पाँचतारे होटेलवालाको बत्ती बाल्ने र साँचो खोल्ने चेतना उसको चेतनाभन्दा धेरै माथि भयो । छेस्कनी वा आग्लो लगाउने मान्छेले पाँचतारे होटेलको चेतनालाई धान्नै सकेन । त्यहाँ ठूलो अन्योल पैदा हुन्छ र दुर्घटनाको खतरा रहन्छ । अरू सामान्य घटनामा पनि चेतनाको यस्तो प्रभाव देख्न सकिन्छ । काँटाचम्चाले खाना नखाएको मान्छेलाई काँटाचम्चाले खान दिँदा त्यो मान्छे भोकै पर्छ ।
नेपाली समाजमा हुने बलात्कारका घटनामा पनि यही कारणले धेरै काम गरेको देख्छु म । भर्खरै पोखरामा एउटा घटना घटेको छ । विदेशबाट फर्किएको व्यक्ति एउटा भट्टीमा छिरेर एक गिलास रक्सी खान्छ, भट्टीदेखि एककिलोमिटर पर उसकी श्रीमती र घर छ । भट्टीबाट निस्किँदा पनि धेरै मातेको छैन । दुनियाँ नबुझेको पनि छैन । श्रीमती घरमा छ, यौन आशक्तिको समस्या पनि होइन । तर, बाटोमा भेटिएकी सानी बच्चीलाई बलात्कार गरेर मारिदिन्छ । यसलाई बलात्कारको कुन सूत्रमा हेर्ने ?
बलात्कारका पछाडि शक्ति सम्बन्ध (पावर रिलेसन) त हुने नै भयो । तर, नेपाली समाजमा शक्ति सम्बन्ध मात्रै छैन । मुख्य कुरा, यतिवेला युवाहरूको चेतनामा निकै ठूलो अन्योल पैदा भएको छ । के गर्न हुने र कति गर्न हुने भन्ने सवालका बीचमा समाजको चेतनाको गतिले जसरी लगिरहेको थियो, त्यसभन्दा हजार गुणा बढी उसमाथि हस्तक्षेप आएको छ । निर्णय लिन सकिरहेको छैन । बिहानै पढ्न आएका प्लस टु पढ्ने युवायुवती क्याम्पसको गेटमा किस गरेर बसिरहेका छन् । के भएको हो त यस्तो ? शक्ति सम्बन्धको तर्कले त यहाँ काम गरेन । गर्नु नहुने काम पनि होइन त्यो तर कतिवेला गर्ने ? कसरी गर्ने ? सिंगो समाजसँग यसको सम्बन्ध के ? मेरो भविष्यसँग यसको सम्बन्ध के ? यी प्रश्नको ती युवायुवतीसँग कुनै हिसाबकिताबै छैन ।
यस्तो किन भइरहेको छ त ? नेपाली समाजमा अहिले पनि घुम्टो ओढेर बस्नेदेखि मागीविवाह गर्नेसम्मका मान्छेहरू बस्छन् । तर, यहाँ हातहातमा पोर्नोग्राफी छ्याप्छ्याप्ती छ । यति स्वाभाविक रूपमा यौनलाई पोर्नोग्राफीमा देखाइदिएको छ कि त्यसबाट मान्छे अलमलमा परेको छ । कति हुने ? कति नहुने ? के हुने ? के नहुने ? कुनै निर्णय गर्न सकिरहेको छैन ।
चेतना विकासको तग्रहण गर्ने र आफ्नोपनमा ढाल्ने एउटा शृंखला हुन्छ । यहाँका युवामा कुनै शृंखला नै छैन । बाहिरी चेतनाको गति र घनत्व एकैचोटि यति धेरै भयो कि यहाँको चेतना विकासको गतिसँग त्यसको कुनै तालमेल भइरहेको छैन । यही कारण पनि यौनजन्य दुर्घटना भइरहेका छन् । त्यसैले पुराना चस्माबाट मात्रै हेर्दा नेपाली समाजमा देखा परिरहेका कतिपय घटनाको नियमै मिल्दैन ।
प्रहरीकै रिपोर्टमा हेर्दा पनि बलात्कारमा जात, जाति र समुदाय प्रकट भएको देखिन्छ । खासखास वर्गको यौन चरित्रलाई देख्न त सकिन्छ, तर वर्गीय नजरले मात्र नेपाली समाजको यौन चरित्रलाई बुझ्न सकिँदैन । नेपाली समाजमा वर्गको बनावट विशिष्ट प्रकारको छ । तामाङ समुदायको ८० प्रतिशतभन्दा ठूलो हिस्सा सर्वहारा श्रमिकमा पर्छ । तर, तामाङको यौनजीवन नेपालका शासकको भन्दा पृथक् छ । दलित आधारभूत रूपमा सर्वहारा–श्रमिक वर्गमा छ, तर उसको यौन चेतनाचाहिँ शासक समुदायकै छ । त्यसैले अरू देशमा वर्ग जसरी बनेको छ, नेपालमा वर्ग निर्माणको तरिका त्यो छैन । नेपालमा वर्गीय रूपमा मात्रै यौनको चरित्र हेर्न मिल्दैन । एउटा दलितले महिलालाई जसरी हेर्छ, मोटामोटी रूपमा ब्राह्मणले पनि त्यसैगरी हेर्छ । फरक–फरक वर्ग हुन् तर दृष्टिकोण एउटै छ । त्यसैले नेपाली समाजलाई चिनियाँ, रुसी, कोरियन वा जात व्यवस्था नभएको समाज जसरी हेरियो भने ठीक ठाउँमा पुगिँदैन । मुख्य त वर्ग नै हो, तर नेपाली समाजको वर्ग निर्माणमा जाति र जात व्यवस्था मिसिएको हुनाले यौन चेतनालाई यसबाट सर्लक्क छुट्याउन सकिँदैन ।
तर पनि शक्ति सम्बन्ध त हुन्छ । वर्ग जति माथि जान्छ, पितृसत्ताको घनत्व पनि थपिँदै जान्छ । वर्गको उचाइसँगै पितृसत्ताको घमन्डसमेत बढ्दै जान्छ । जति–जति वर्ग माथि उठ्दै जान्छ, त्यति नै पुरुषहरू महिलाप्रति आक्रामक हुँदै जान्छन् । हामी प्राकृतिकबाहेक सांस्कृतिक वा सामाजिक यौनको कुरा गर्दै छौँ । सामाजिक यौनबारेको धारणा विश्वदृष्टिकोण र उसले अभ्यास गर्दै आएको सांस्कृतिक जीवनले निर्धारण गर्छ ।
हाम्रो अबको कार्यभार पोर्नलाई ठीक ढंगले जजमेन्ट गर्ने पुस्ता तयार गर्नु हो । पहिला–पहिला टेलिभिजन हेर्ने विद्यार्थी बिग्रिन्छ भन्थे । हेर्दाहेर्दा विद्यार्थीले टेलिभिजनलाई पचाइदियो । यसरी पचाइदियो कि विद्यार्थी टेलिभिजन हेर्दै होमवर्क गर्न सक्ने भयो । मान्छेले सबै झिंगा सक्छु भनेर संसारमा औषधि छर्किएको थियो कुनै समय । अरू त सबै मरे तर फूलभित्र बसेको झिंगाको लार्भाले औषधि पचाइदियो । लार्भाले औषधि पचाइदिएको हुनाले संसारमा अहिले झिंगाको प्रजाति ज्युँदो छ । त्यसैले पोर्न मात्र होइन, युवालाई खत्तम पार्ने जति पनि विचार र दृष्टिकोण अहिले आइरहेका छन्, त्यसलाई ठीक ढंगले बुझ्न सक्ने आलोचनात्मक चेतसहितको युवापुस्ता हुर्काउने अभियान चाहिएको छ हामीलाई ।
नयाँ पुस्तालाई प्रेम, यौन, पोर्न र विविध आयातित चेतनामाथि बहस सृष्टि गर्ने काम अहिलेको मुख्य अभिभारा हो । जसलाई प्रेम भनिन्थ्यो, अहिले त्यसको अस्तित्व नै छैन । महिला र पुरुषबीच हुने जुन सम्बन्धलाई प्रेम भनिन्थ्यो, त्यो त अहिले अल्पमतमा परिसक्यो । यहाँ दुईतिहाइ बहुमत त अर्कै प्रेमको छ । युवालाई धेरै दृष्टिले ध्वस्त बनाउने चिजमध्ये पर्छ, प्रेमसम्बन्ध । सबै कतै न कतै ठक्कर खाइरहेका छन् । सबै ठाउँमा कोही न कोही रक्तमुछेल भइरहेका छन् । प्रेमले व्यक्तिका धेरै आयामको निर्धारण गर्नेवाला छ । तर, यसबारे कुनै बहस छैन । त्यसैले प्रेम, यौन, पोर्नलगायत जति पनि युवाले झेल्नुपर्ने विषय छन्, त्यसमाथि व्यापक बहस सृष्टि हुनुप¥यो । युवाले सामना गरिरहेको खराबीमाथि व्यापक संगठित अभियान चल्नुप-यो ।
यो सबै अन्तिममा ठोक्किने भनेको राज्यसत्तासँग हो । हामी छेउको या टुप्पोको कुरा मात्रै गरिरहेका छौँ । यसरी त काम चल्दैन । जगदेखि टुप्पासम्मको बहस गर्नुप¥यो । जुन वेला संसारमा ठुल्ठूला प्रगतिशील राजनीतिक आन्दोलन चलेका छन्, त्यसवेला बलात्कार र व्यक्तिगत हिंसा पनि असाध्यै कम भएका छन् । त्यसवेला सिंगो समाजले सपना देखेको छ, उसको बाटो एकातर्फ सोझिएको छ । यस्ता घटना रोक्ने त सामूहिक सपनाले पनि हो नि । सामूहिक सपनाचाहिँ नहुने तर हिंसा रोकौँ भन्नचाहिँ नछाड्ने ! यसरी त समस्या समाधान हुँदै हुँदैन ।

नयाँ पत्रिकाबाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार