logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

पर्वतको विहादी गाउँपालिका लुरिङ डाँडामा यसरी पहिलो पटक उड्यो प्याराग्लाइडिङ


  • राजनीति
  • आइतबार, फाल्गुन १२ २०७५

पर्वत- पर्वतको विहादी गाउँपालिका वडा नं।४ को लुरिङ डाँडामा प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ । विहादी गाँउपालिका उरामको गेप्ताङ सामुदायिक होमस्टेले आयोजना गरेको गाउँ पर्यटन प्रवर्द्धन कार्यक्रमको अवसरमा प्याराग्लाइडिङको उडान परीक्षण सफल भएको हो ।

पोखराको सराङकोटमा प्याराग्लाइडिङ चलाउँदै आएका विवेक राना र गोले लामाको नेतृत्वमा विपिन परियार, रमेश नेपाली, विक्रम नेपाली र शत्या राईले विहादी गाउँपालिकाको आकाशमा प्याराग्लाइडिङ उडाएका हुन् ।

परीक्षण उडानपछि विपिन परीयारले लुरिङ र देउराली डाँडा प्याराग्लाइडिङ उडानका लागि र रानीपानीमा रहेको इमीचौर अवतरणका लागि उत्तम स्थान रहेको बताए । यस ठाउँमा धेरै सम्भावना रहेको बताउँदै भौगोलिक अवस्था, उचाई, हावाको गतिलगायतको सहजताका कारण आफूलाई उडान सहज बनेको उनले बताए ।

प्यारागलाइडिङका माध्यमबाट पर्यटन क्षेत्रको प्रवर्द्धन गर्दै बिहादीलाई समृद्धिको पथमा हिँडाउने लक्ष्यका साथ परीक्षण उडान गरिएको विहादी गाउँपालिकाका अध्यक्ष कमल प्रसाद भुसालले बताए । उनले यस स्थानको थप भौगोलिक अध्ययन र पूर्वाधार विकास गरी आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी प्याराग्लाइडिङ नियमित सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।

सफल उडानअघि धावन मार्ग र अवतरण स्थलको बारेमा सम्भाव्यता अध्ययन गरिएको थियो । विहादीको आकाशमा एकैसाथ ४ वटा प्याराग्लाइडिङ उडेपछि स्थानीयवासीमा खुशीयाली छाएको विश्व न्यौपानेले बताए । चालकले आधा घण्टाभन्दा बढी समयसम्म उडान गरेपछि उडान आँपालयमा अवतरण गराएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार