राजनीति
काठमाडौं — सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको एक पाकिस्तानी पत्रकारको भिडियोमा उनी भारतविरुद्ध आपत्तिजनक बयान दिइरहेका भेटिन्छन् ।भारतबाट पाकिस्तानतर्फ टमाटर निर्यात बन्द गरिएपछि रिसाएका उनले यस्तो बयान दिएका हुन् ।भिडियोमा उनले पाकिस्तानसँग एटम बम भएको बताए । यो एटम बम ड्रइङ रूममा सजाउनका लागि नराखिएको उनको भनाइ छ । पाकिस्तानलाई टमाटर आपूर्ति रोकिएको जवाफमा एटम बम प्रयोग गरिने उनको भनाइ छ ।
पाकिस्तान टमाटरविना बाँच्न सक्दैन भन्ने भारतलाई लागेको भए पाकिस्तानले आफैं टमाटर उमार्ने उनको भनाइ छ ।पत्रकारको नाम कैसर खोखर हो र उनी पाकिस्तानी टीभी च्यानल सिटी४२ का वरिष्ठ पत्रकार हुन् । उनले भिडियोमा भने, ‘हिन्दुस्तानको सवा अर्ब जनसंख्याले पाकिस्तानमाथि टमाटरमा नाकाबन्दी लगाएर नीच हर्कत गरेको छ ।
पाकिस्तानीहरू टमाटरविना बाँच्न सक्दैनन् भन्ने उनीहलाई लागेको होला । यो टमाटर हामी मोदी र राहुलको मुखमा हिर्काउँछौं ।’पत्रकार यत्तिमा मात्र रोकिँदैनन् र भन्छन्, ‘भारतीयहरू अहिले जसरी जलिरहेका छन्, सडिरहेका छन्, उनीहरूको टमाटर पनि जल्छ । अब टमाटरको जवाफ एटम बमले दिने बेला आएको छ । पाकिस्तानले एटम बम भारतलाई लक्षित गरेर बनाएको हो ।’
एजेन्सी