राजनीति
काठमाडौं – दुर्घटनामा मृत्यु भएकाको शव लिएर काठमाडौं आउने हेलिकोप्टर ताप्लेजुङको सुकेटार विमानस्थलमा बाक्लो हिमपातका कारण उड्न सकेको छैन । बिहान साढे ६ बजे नै तारेभीरबाट बाँकी रहेका तीनवटा शव नेपाली सेनाको हेलिकोप्टरले सुकेटार विमानस्थलमा ल्याएको थियो ।
तर त्यसपछि सुकेटार विमानस्थलमा बाक्लो हिमपातका कारण हेलिकोप्टर उड्ने अवस्था नरहेको बताइएको छ । बाक्लो हिमपात र हावाहुरीका कारण अझै केहीघण्टा उडान हुन सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ ।
र्घटनाग्रस्त हेलिकप्टरका यात्रुहरूका शव काठमाडौँ पठाउन आवश्यक कानूनी प्रक्रिया पूरा गर्न विमानस्थलमै बसेको जिल्ला सुरक्षा समितिको बैठकले ताप्लेजुङमा शवपरीक्षण हुन नसक्ने ठहर गरेको छ । बैठकले परीक्षणको प्रयोजनका लागि काठमाडौँ पठाउने निर्णय गरेको छ । तर निरन्तर बिग्रँदो मौसमले शव काठमाडौँतर्फ पठाउन ढिलाइ भइरहेको छ ।
ताप्लेजुङमा निरन्तर हिमपात भइरहेको छ र अधिकांश क्षेत्रमा कुहिरोले ढाकिरहेको छ । प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीका अनुसार मौसममा सुधार आउने बित्तिकै शवहरू काठमाडौँ पठाइनेछन् ।
हिजो बुधबार दिउँसो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सातजना चढेको डाइनेस्टी एयरको हेलिकप्टर सिस्नेभीर नजिकै दुर्घटनाग्रस्त हुँदा सबै सातजनाको निधन भएको थियो । (रासस)