राजनीति
काठमाण्डौ- ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीका परिवारजनलाई भेटेर नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले समवेदना व्यक्त गरेका छन्।बिहीबार बिहान ललितपुर पुल्चोकमा रहेको मन्त्री निवास पुगेर अध्यक्ष दाहालले मन्त्री अधिकारीका श्रीमती, बा-आमालाई भेटेर समवेदना व्यक्त गरेका हुन्।अध्यक्ष दाहालले दुर्घटनामा परी निधन भएका व्यवसायी आङछिरिङ शेर्पा, नेपाल उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, उपसचिव युवराज दाहालका परिवारजनलाई भेटेर समवेदना व्यक्त गरेको दाहालको निजी सचिवालयले जनाएको छ।



हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि उनको गृह जिल्ला कास्कीमा हुने भएको छ ।
कास्की क्षेत्र नं २ बाट संघीय संसदका लागि निर्वाचित अधिकारीको शव शुक्रबार बिहान ८ बजेदेखि पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलीका लागि राख्ने तयारी भइरहेको उनका स्वकीय सचिव राजेन्द्र आचार्यले जानकारी दिए ।
मन्त्री अधिकारी पोखरा-३३ भरतपोखरीको जामुनाबोटमा जन्मिएका थिए ।
स्वकीय सचिव आचार्यका अनुसार अधिकारीको शव काठमाडौं ल्याइएपछि त्रिवि शिक्षण अस्पतालमा शव परीक्षण गरिनेछ । त्यसपछि नेकपाको केन्द्रीय कार्यालयमा पार्टीको झण्डा ओढाउने र केहीबेर श्रद्धाञ्जलिका लागि राखिने छ । गृहमन्त्रालयले निर्णय गरेपछि काठमाडौं खुलामञ्चमा सम्मानका लागि लगिनेछ ।
अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने मन्त्रिपरिषद्ले बुधबार निर्णय गरिसकेको छ ।
पोखरा महानगरपालिका वडा नं. ३३ का अयक्ष शिवप्रसाद आचार्यले बिहीबार बेलुकासम्म अधिकारीको शव पोखरा ल्याउने तयारी भएको र शुक्रबार बिहान ८ बजेदेखि अन्तिम श्रद्धाञ्जलिका लागि राखी त्यसपछि अन्त्येष्टि गरिने जानकारी दिए ।