राजनीति
पोखरा- ताप्लेजुङमा भएका हेलिकोप्टर दुर्घटनाको उद्धारमा खटिएका सैनिकहरुलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले ‘प्रधानसेनापति प्रशंसा निशान’ प्रदान गरेका छन्।
प्रतिकुल मौसममा पनि खोज तथा उद्धारका लागि खटिएका नेपाली सेनाका अधिकृत, पदिक तथा अन्यदर्जासहित ४६ जनाले उद्धारमा देखाएको साहसिक कार्यको उच्च मूल्यांकन गर्दै ‘प्रधानसेनापति प्रशंसा निशान’ प्रदान गरिएको हो।
उक्त निशान प्राप्त गर्ने मध्ये उपत्यका भित्रका युनिटहरुमा कार्यरत १६ जनालाई शुक्रबार सैनिक मञ्च टुँडिखेलमा महाशिवरात्री तथा सेना दिवस २०७५ को अवसरमा आयोजित एक समारोहमा प्रधानसेनापति थापाले सो प्रशंसा प्रदान गरेका हुन्।
यही फागुन १५ गते तेह्रथुम जिल्लाको चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि गएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको टोली ताप्लेजुङ जिल्लास्थित पाथीभरा देवीको दर्शन गरी काठमाडौँ फर्कने क्रममा उनीहरु सवार एयर डाईनेस्टिक हेलिकोप्टर दुर्घटना भएको थियो।