राजनीति
उत्तर कोरियाका कमान्डोहरूले दक्षिण कोरियाको राष्ट्रपति भवन लुट्ने कोशिश गरेका थिए । त्यसको प्रतिशोधस्वरूप दक्षिणले आफ्नो जेलमा बन्द केही कैदीलाई उत्तर कोरियामा घुसेर त्यहाँका तत्कालीन नेता किम इल सुङको घाँटी काट्ने तालिम दिएको थियो ।
त्यतिखेर दक्षिण कोरिया सफल भएन । अब इल सुङका नाति किम जोङ–उनले क्षेप्यास्त्र तथा आणविक हतियार कार्यक्रम तीव्रताका साथ अघि बढाइरहँदा सउल सरकारले प्योङयाङको नेतृत्व वर्गलाई निशाना बनाउनका लागि एउटा दस्ता तयार गरिरहेको छ । किमको टाउको काट्नु यो दस्ताको लक्ष्य हुनेछ ।
यसै महिना उत्तर कोरियाले शक्तिशाली हाइड्रोजन बम परीक्षण गरेको थियो । त्यसपछि दक्षिण कोरियाले टाउको काट्ने दस्तालाई तीव्रताका साथ तालिम दिइरहेको छ ।
तर यो दस्ता किमलाई तर्साउनका लागि मात्र बनाइएको र उनको टाउको साँच्चिकै चाहिँ नकाटिने खबर पनि आएको छ ।
यो दस्ता हेलिकप्टर र हवाईजहाजमार्फत उत्तर कोरियामा छिरेर राति किमकहाँ पुग्ने तालिम लिइरहेको छ । किमले हतियार विकास कार्यक्रम जारी राखे यो दस्ताले आफ्नो लक्ष्य पूरा गर्न समेत सक्ने बताइएको छ ।
आणविक युद्ध भएमा लाखौं मानिसको ज्यान खतरामा पर्ने तर किमलाई सिध्याए आणविक कार्यक्रम अन्त्य हुन सक्ने आँकलन दक्षिण कोरिया र अमेरिकाले गरेको विश्लेषकहरू बताउँछन् ।
एजेन्सी