राजनीति
पर्सा- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पर्सा जिल्लाका दुई जना प्रधानाध्यापकविरूद्ध भ्रष्टाचार मुद्दा लगाएको छ।
छिपहरमाई गाउँपालिकास्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानाध्यापक प्रभु गिरी र रेडक्रस प्राथमिक विद्यालय मुडली फूलवरियाका प्रधानाध्यापक अब्बास मियाविरूद्ध अख्तियारले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
दुवैले मिलेमतो गरी नेपाल बैंक लिमिटेडबाट कृषि ऋण दिलाइदिने आश देखाएर सेवाग्राहीसँग घूस लिएको अख्तियारको आरोप छ।
सुरूमा अख्तियारले गिरीलाई १२ हजार घूससहित पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा अब्बास मियाले पनि घूस लिइसकेको खुलासा भएको थियो। अब्बासले ५२ हजार र गिरीले १२ हजार घूस लिइसकेको अख्तियारको दाबी छ।
त्यसैले अब्बासलाई ४ देखि ६ महिनासम्म कैद र गिरीलाई ३ महिना कैद माग गरिएको छ। दुवैलाई बिगो बराबरकै जरिवाना हुनुपर्ने अख्तियारको माग छ।