आजको दिनसम्म आँउदा नेपालमा थुप्रै परिवर्तनका आन्दोलनहरु भएका छन र केही राजनैतिक परिवर्तन पनि भए । राणा शासन विरुद्ध २००७ सालमा, २०२८ सालमा जसलाई झापा विद्रोह र सँगसँगै सुखानी हत्याकाण्ड अनि २०५२ साल फागुन १ गते बाट प्रारम्भ भएको दश वर्षे महान जनयुद्ध । आजको यो विशेष दिन फागुन २१ गते झापा विद्रोह जुन आफैमा एउटा महत्वपूर्ण र एतिहासिक रहेको छ। यो दिनले नेपालको राष्ट्रिय राजनितिमा नै भङ्गकर हलचल मच्चाएको थियो ।
पूर्व कोशी प्रान्तीय समिति अन्तर्गत रहेको झापा जिल्ला समितिको नेतृत्वको निर्णयमा आधारित भएर सञ्चालन गरिएको झापा विद्रोह नै नेपाल कम्यूनिष्ट आन्दोलनको एउटा महत्वपूर्ण कडी थियो । बिद्रोहको हिसाबले उक्त आन्दोलनको प्रशंसा गर्नै पर्छ तर यो बिद्रोह पार्टीको मनोगत इच्छामा उम्लेको आत्मगत र वस्तुगत परिस्थिति विपरीत भाकपा नक्सलवाडी धारको खुल्ला अन्धानूकरण थियो , त्यसकारण जनबादी ब्यबस्था स्थापना गर्ने पबित्र उद्देश्य भएपनी बिद्रोह सफल भएन। उक्त आन्दोलनमा पक्राउ पर्ने डरले के पि ओली चाहिँ भागेका थिए र बारा-पर्सा तिर लुकेर बसे , पछी पक्राउ परे । त्यतिबेलाको पन्चायती शासकको निर्मम दमन अगाडी उक्त बिद्रोह टिक्न सकेन। आज भन्दा ४६ वर्ष अगाडी झापाको चन्द्रगढीबाट क्रान्तिकारी कम्यूनिष्टहरुलाई जेल सार्ने निहुँमा सुखानीको जङ्गगलमा लगेर हत्या गरेको थियो । ऐतिहासिक झापा विद्रोह का क्रान्तिकारी योद्धाहरु पूर्व कोशी प्रान्तीय कमिटिको झापा जिल्लाका बौद्धिक योद्धा रामनाथ दहाल, जुझारु यूवा नेता नेत्र घिमिरे, भर्खर एस.एल.सी उत्तीर्ण गरेका भर्भराँउदा क्रान्तिकारी यूवा कृष्ण कुइँकेल र नारायण श्रेष्ठ अनि तत्कालीन पीडिओ (सरकारी अधिकृत) भइसकेका आदीवासी समुदायको भरपर्दो नेता तथा राजवंशी समुदायका विश्वासपात्र वीरेन राजवंशीलाई निरङ्कुश पञ्चायती सरकारले झापा जेल बाट इलाम जेल सार्ने क्रममा झापा– इलामको सीमाना दानाबारी सुखानीको जङ्गलमा पुर्याइ आत्मसमर्पणको प्रस्ताव विद्रोहको आगोले भष्म हुन लागेका पञ्च शासकहरुका मतियार मार्फत राखेका थिए, जुन प्रस्तावलाई गिरफ्तार भएका ५ योद्धाहरु मारीन तयार भए परन्तु आत्मसमर्पण ठाँडो अस्विकार गरे । अस्विकार गरे कै कारण पाँच क्रान्तिकारी योद्धाहरुको एउटै चिहान बनाई मार्ने आदेश दिए पछि सुखानी, दाना बारीमा उनीहरुलाई पञ्च शासकका मतियारले पाँचैँ जनालाई एकै ठाँउमा हत्यागरे जसलाइ आज पाँच रुख पनि भनिन्छ ।

सुखानीको बलिदान देशकै महान् बलिदान थियो । झापा विद्रोह पश्चात नेपालको राष्ट्रिय राजनितिमा विभिन्न क्रिया र प्रतिक्रियाहरु पैदा भयो । झापा विद्रोह असफल मार्गमा मोडिन गएता पनि यो विद्रोहलाइ सही क्रान्तिकारी लाइनमा आधारित विद्रोह भनेर मुुल्याङ्कन गर्ने वामपन्थीहरुको कुनै कमि थिएन । तर आज दुःख कुरा क्रान्तिकारी योद्धाहरुको हत्याराहरु संग साठ–गाठ गर्ने र सामन्ती तथा साम्रान्यवादी तत्वहरु संग टाउको जोड्ने कार्य भएको छ, बलिदान र सहिदहरुको ब्यापार गर्न खोजिएको छ । उनीहरुको सपना जलाएर खरानी पार्न खोजिदै छ। सुखानिका सहिदहरुको ब्यापार गर्न खोज्नेहरु, सपनामा डढेल्नो लगाउन खोज्ने ओली–प्रचण्डहरुको विरुद्ध धावा बोल्न आम यूवा विद्यार्थी एकगठ हुन पनि उत्तिकै आवश्यक छ । हिजो माधव कुमार नेपालले आफ्नो पार्टी संबैधानिक राजतन्त्रप्रति पूर्ण प्रतिबद्ध भएको गोर्खा पत्र दैनिकमा अन्तरवार्ता दिदै गर्दा यता त्यती बेला गणतन्त्रको नारा लगाउने तिनी विद्यार्थीहरु आज सुखानीको सहिद प्रति अपमान हुदा मौन बसेको देखिरहेका छौं । एक दिन तिनि सहिदहरुको अभिन्दन गर्ने र अरु बेला ब्याज खाने र उनैको सपनामा आगो लगाउने कार्य भएको छ । महान दश वर्षे जनयुद्धका सहिद वेपत्ताहरुको पनि उत्तिकै अपमान भएको छ ।

बैज्ञानिक समाजवाद हुदै साम्यवाद स्थापना गर्ने उद्देश्यका साथ आफ्नो ज्यानको कुनै प्रवाह नगरि मर्न तयार भएका योद्धाहरुको अपमान गर्दै आज देश साम्यवादमा कहिले पुग्दैन भनेर उनै सुप्रिम कमाण्डर पुष्पकमल दहाल “प्रचण्ड” भ्रम फिजाइ रहेका छन् । देशमा अहिले झापा बिद्रोह बाट भागेका के पी ओली र जनयुद्धलाई धनयुद्धमा पतन गराउने प्रचण्डको द्वैध नेतृत्वमा छ। सुखानी सहित जनयुद्धका सहिदहरुको सपनाको रक्षा गर्नुको साथै पूरा गर्ने अबिभारा अहिलेको यूवा पिडिको काधमा आएको छ। किनकि कृष्ण कुइकेल, नेत्र घिमिरे, रामनाथ दहाल, नारायण श्रेष्ठ, वीरेन राजवंशी, बिनोद ढकालहरुका कलिला आँखाले देखेका त्यो साम्यवादको सपना आज पनि उत्तिकै जीवित र महत्वपूर्ण छ ।

एक तर्फ सुखानी, दश वर्षे जनयुद्ध र हरेक परिवर्तनको निम्ति भएको आन्दोलन को इतिहास, ति सहिदहरुको सपना अर्को तर्फ प्रचण्ड– ओलीकोे पूँजीवादको मार्गमा भएको महापतन ? जसले संसदीय ब्यवस्था नै अन्तिम ब्यवस्था र अन्तिम विकल्प हो भनेर बैज्ञानिक समाजवादका विरुद्ध कर्कस भ्रम फैलाइरहेका छन्। हामीले अझैं विर्सिएका छैनौं सुखानी हत्याकाण्ड, रत्न कुमार वान्तवा, दिल बहादुर रम्तेल, पूर्ण पौडेल, विनोद ढकाल, महान जनयुद्ध !! यो ब्यवस्थालाइ ध्वस्त पारि बैज्ञानिक समाजवाद हुदै साम्यवाद सम्म पुर्याउने ती सहिदको सपना पूरा नगर्दा सम्म हाम्रो मार्गमा काँडा बनेर आउने यस युगमा सकुनीको रोलमा रहेका प्रचण्ड र दुर्योधनका रोलमा रहेका ओली, सकुनी र दुर्योधनको रोलमा मात्र नभइ अरुको रोलमा आउने जो कोहीलाई परास्त गरि गन्तब्यमा पुग्ने र साच्चै साम्यवाद स्थापना नगर्दा सम्म अर्को सुखानी इतिहासमा रच्न तयार छौं । काँडा लगाएर दमन गर्दा विद्रोह हुन्छ, इतिहास साक्षी छ यदि यो कुराको ज्ञान छैन भने उहाँहरु सिंहासनमा बस्न लाएकको हुनुहुन्न ।