logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

राष्ट्रपति रात्रिभोजमा सवारी हुन लाग्दा सडकमा यात्रुले गरेको ‘विद्रोह’ ! हेर्नुस भिडियो


  • राजनीति
  • बिहिबार, फाल्गुन २३ २०७५

सेना दिवसको अवसरमा सैनिक मुख्यालय, भद्रकालीमा आयोजित रात्रिभोजमा मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी ‘सवारी’ हुने कार्यक्रम थियो। सधैँ झै सवारी हुँदाको बेला ट्राफिक प्रहरीले बाटो रोक्ने गर्छन्। तर मंगलबार साँझ जे भयो, त्यसलाई ट्राफिक व्यवस्थापन गर्नेहरुले मात्र हैन, उच्च राजनीतिक नेतृत्व तहले पनि गम्भीर रुपमा लिनुपर्छ। किन राजा हटाएर स्थापित गरिएको राष्ट्रपति विरुद्ध सानै सही सडकमा यात्रुहरुले त्यो हदको ‘विद्रोह’गरे। कारण पहिल्याउन जरुरी छ।

‘अबको केही समयमा विशेष कारणवश शितल निवास,पानीपोखरी, लैनचौर, केशरमहल, महेन्द्र शालिक, भद्रकाली हुँदै चल्ने सवारी साधनहरु एकतर्फी रुपमै प्रभावित हुनेछन्। सो रुटमा संचालन हुने सवारी साधनहरुलाई वैकल्पिक मार्गको प्रयोग गर्नहुन अनुरोध गरिन्छ।’

महानगरीय ट्राफिक प्रहरी कार्यालयले साँझ साढे ६ बजे यो सूचना जारी गर्‍यो।

विशेष कारणवश भनिए पनि खासमा यो राष्ट्रपति शितल निवासबाट भद्रकालीको आर्मी हेडक्वार्टरमा रात्रिभोजमा सवारी हुने कार्यक्रम थियो। राष्ट्रपति उपत्यकाका कुनै पनि ठाउँमा सवारी हुँदा एकतर्फी बाटो रोक्ने गरिन्छ। औपचारिक भ्रमणमा जान लागेको हो भने चाहिँ दुईतर्फी बाटो नै रोक्ने गरिन्छ।

यो कसले बनाएको नियम हो, थाहा छैन। तर यसरी नै चलिरहेको छ।

साँझको बेला मानिसहरु घर फर्कँदै थिए। सवारी यही बेला पर्‍यो। अरुतिर के भयो, थाहा भएन। तर लैनचौरको एउटा दृश्य भने फेसबुकमा भाइरल भएको छ। कमल विष्टले खिचेको यो भिडियोमा सुरुमा हर्न बजाएर विरोध गरिरहेको देखिन्छ।

त्यसमा लेखिए अनुसार ४० मिनेटदेखि ट्राफिक प्रहरीले बाटो रोकेर राखेका थिए।

काठमाडौँ हर्न निषेधित क्षेत्र हो। अनावश्यक हर्न बजाएमा ट्राफिक प्रहरीले कारबाही गर्न सक्छ। दिनहुँ कारबाही भइरहेका विवरण पनि आउँछन्। तर त्यति धेरैले विद्रोह स्वरुप हर्न बजाउँदा कारबाही पो कसलाई गर्ने?

त्यतिमात्र हैन, त्यो रोकिएका सवारी साधनको भिडमा एक जना मानिसले आजित हुँदै भन्छन्, ‘यो बाटो राष्ट्रपति भन्दा जनताको धेरै हो, राष्ट्रपतिलाई त हामीले बनाएका हौँ।’

सबैले ‘हो हो’ भन्दै आफ्नो सवारी साधन अघि बढाउँछन्। बिचरा ट्राफिक प्रहरी रोक्न खोज्छन्, तर त्यति धेरैको ‘विद्रोह’ रोक्ने कसरी?

भिडियो हेर्नुस्-
मोटरसाइकलहरु सवारीका लागि रोकिएको ठाउँबाट एकपछि अर्को गर्दै हुरुरु कुद्‍छन्। भिडियो सकिन्छ। भिडियो सकिएका कारण त्यसपछि के भयो, थाहा पाउन हामी सक्दैनौँ। सवारी त्यसपछि पनि चल्यो र राष्ट्रपति आर्मी हेडक्वार्टर पुगेर फर्किन्।

राष्ट्रपति देशको सर्वोच्च पद हो। पदको सम्मानका लागि पनि सवारी चल्दा अरु गाडीलाई रोक्दा आवागमन सहज हुन्छ भन्ने विचार होला। ठीकै हो, तर त्यसका लागि एकदम छोटो समयका लागि बाटो रोक्दा पनि त हुन्छ। गुगल म्यापमा रुट हेर्दा यो बाटो ६ किलोमिटर चानचुनको रहेछ।

बाटो खुला हुने हो भने १५ मिनेटमा पुगिएला। त्यसका लागि जतिसक्दो कम बाटो रोके भइगो। ४० मिनेटसम्म बाटो रोकेपछि त जो कोहीको पनि धैर्यताको बाँध फुट्न सक्छ।

अथवा राष्ट्रपतिले आफू जसबाट चुनिएर आएको हो, उनीहरुलाई दुःख दिन चाहन्नँ भन्दै बाटो नरोकी जाँदा पनि त हुन्छ। आखिर त्यति विधि सुरक्षा थ्रेट त छैन नेपालमा कसैलाई।

जनता भन्या रैती हुन्। मेरो सवारी हुँदा यिनीहरुले सम्मान स्वरुप बाटो छोड्नु पर्छ भन्ने सोच राख्ने राष्ट्रपतिको पक्कै छैन होला। त्यसो भए कहाँ निर छ त यो ग्याप? कसले यस्तो गरिरहेको छ, जसका कारण राष्ट्रपतिप्रतिको धारणा नकारात्मक बनाउँदैछ? अब सोच्ने बेला आएन?

आउँदो आइतबार राष्ट्रपति न्युयोर्कको भ्रमणमा जाँदैछिन् महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यु) को ६३औँ बैठकमा भाग लिन। यो भ्रमण भएको कारण त्यतिबेला एयरपोर्ट जाँदा दुईतर्फी बाटो बन्द हुने होला शायद्।

अब सोच्ने कि फेरि यस्तै सडकमा विद्रोह निम्त्याउने।

डर छ, पाठ सिक्नुको साटो कन्ट्रोल गर्न नसकेको भन्दै ती बिचरा निरीह ट्राफिक प्रहरीलाई कारबाही त हुने हैन?

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार