राजनीति
लमजुङ- लमजुङको मस्र्याङ्दी गाउँपालिका–९ पामचोकमा एक सन्की युवाले गाउँमा भेटिएका जति सबै मानिस माथि चिर्पट प्रहार गरेका छन्। एक सन्की युवाले ७ जनामाथि चिर्पट प्रहार गरेका हुन्।
मानसिक सन्तुलन ठिक नभएका पामचोक सेग्लेका रामबहादुर विश्वकर्माले गाउँमा भेटेकालाई चिर्पटप्रहार गरेका थिए। उनको प्रहारबाट ५ जना गम्भीर घाइते भएका छन् भने २ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।
स्थानीयले घाइतेको उद्धार गरी उपचारका लागि बेंसीसहर पठाएका छन्।चिर्पट प्रहारबाट स्थानीय गोपाल भण्डारी, उनको श्रीमती लक्ष्मी भण्डारी, बुद्धिबहादुर थापा, शिला खड्का, रेखु भण्डारी गम्भीर घाइते भएका छन्।
घाइते मध्येका ३ जनालाई काठमाडौंको छाउनी अस्पताल, एक जनालाई टिचिङ अस्पताल र एक जनालाई चितवन मेडिकल कलेज चितवन रिफर गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए। २ जनालाई बेंसीसहरको सामुदायीक अस्पतालमा उपचार गरिएको छ।
आक्रमणकारी युवालाई स्थानीय, प्रहरी, गाउँपालिकाका पदाधिकारीहरु मिलेर वडा नं। ३ को खुदी तरापुबाट नियन्त्रणमा लिइएको खुदी प्रहरी चौकीका सई अर्जुन केसीले जानकारी दिए।