राजनीति
सत्तारूढ दल नेकपा का प्रभावितशाली नेता तथा पुर्व गृहमन्त्री भिम रावलको पहिलो आपत्ति राउतको संगठनको नाम ‘स्वतन्त्र मधेस गठबन्धन’ मा छ । मधेस कहिल्यै स्वतन्त्र नभएको भन्दै स्वतन्त्र मधेस गठबन्धनका नाममा सहमति गर्नु गलत भएको बताए । यो दुई देशको जस्तो सम्झौता भएको बताए ।
केही नेताले यो त पार्टीको नाम पो हो भन्ने तर्क गरेको आफूले सुनेको भन्दै उनले भने, म कानुनको विद्यार्थी पनि हुँ । जुन नाम लिन्छ, काम पनि त्यही गर्छ । होइन भने हामीले कम्युनिस्ट पार्टी किन राख्ने ? भृकुटी पार्टी राखे भइहाल्यो नि ।’
अब देशभर ‘स्वतन्त्र मधेस गठबन्धन’को नाममा पार्टी कार्यालय खोल्दा त्यसले के अर्थ जान्छ भन्ने प्रश्न गरे ।
उनले अघि भने, ‘यो त नाम पो हो त भनेर कसैले भन्छ भने जनतालाई झुक्याउने खेल हो ।’
उनको दोस्रो आपत्ति ११ बुँदे सहमतिको दोस्रो बुँदामा छ । त्यसमा ‘तराई मधेस लगायत देशका कतिपय स्थानमा रहेको असन्तुष्टिहरुलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भएका छौं’ छ ।
यसले देशमा जताततै द्वन्द्व छ र त्यसको माधान जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्ने भनेर सरकारले स्वीकार गरेको बुझिएको उनले बताए । ‘मेरो शब्द होइन, जनअभिमतमा आधारित लोकतान्त्रिक विधि भनेको जनमत संग्रह हो भनेर सिके राउतजी भन्नुहुन्छ’ उनले अघि भने, ‘यो आपत्तिजनक छ । संविधानसभाबाट के कुरालाई पराजित गरेका थियौं, त्यसलाई यहाँ स्थापित गरेका छौं । कसका लागि ? कसको स्वार्थमा ?
उनको तेस्रो आपत्ति, बुँदा नम्बर ४ मा उल्लेख भएको स्वशासन भन्ने शब्दमा छ ।
संविधान निर्माणका क्रममा प्रदेशले स्वशासन गर्ने र मनलागे छुटि्टन पाउने अधिकार हुनुपर्ने माग उठेपनि आफूहरुले अस्वीकार गरेको र जनताले त्यसलाई अनुमोदन गरेको स्मरण गर्दै नेकपा नेता रावलले भनेका छन्, ‘संविधानअनुसार स्थानीय तह, प्रदेश छँदैछन्, अनि यो स्वशासन भनेको के हो ?
रावलले राउत समूहका नेता कार्यकर्ताको मुद्दा फिर्ता लिने सहमतिमा पनि आपत्ति जनाए । माओवादी सशस्त्र द्वन्द्वका बेलामा भएका घटना टुंग्याउन बाँकी रहेको र अहिलेसम्म सत्य निरुपण आयोगले काम गरिहेको भन्दै उनले त्यसभन्दा बाहिर गएर सबैको मुद्दा फिर्ता लिने सहमति गरिएको बताए ।
रावलको पाँचौं आपत्ति सहमतिको बुँदा नम्बर ७ मा छ । जसमा स्वतन्त्र मधेस संगठनका कार्यकर्तालाई बसोबास, संघसंस्था वा पार्टी खोलेर मुलधारको राजनीति गर्न दिने भनिएको छ ।
रावलका अनुसार झट्ट हेर्दा मान्छेले भन्न सक्छन्, कुरा ठीकै हो । तर, राउतले विगतमा मधेस स्वतन्त्र हुनुपर्छ किनभने त्यहाँ बसोबास गर्न पाइएन, संगठन गर्न पाइएन भनेर अन्तराष्ट्रिय मञ्चहरुमा दाबी गरेको भन्दै राउवले भने, यो लेखाईले के भन्छ ? विगतमा नदिएकै रहेछ भन्ने पुष्टि हुन्छ ।’