राजनीति
पोखरा- ठगी मुद्दामा थप एकजनाविरुद्ध गण्डकी मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थीले किटानी जाहेरी दिएका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीमा विश्वराज घिमिरेविरुद्ध विद्यार्थीहरुले आइतबार साँझ पनि उजुरी दिएका हुन्। घिमिरेले विद्यार्थीहरुको रकम जम्मा गर्ने काम गर्दथे। स्रोतका अनुसार घिमिरेको खातामा विद्यार्थीहरुले बुझाएको २८ लाख रुपैयाँसमेत जम्मा भएको पाईएको छ। दुई जना विद्यार्थीहरुबाट १० लाख र १८ लाख रुपैयाँको दरले कलेजलाई बुझाएको रकम उनको खातामा जम्मा भएको पाइएको हो।
“घिमिरेले विद्यार्थीसँग नाम नलेखी चेक माग्ने गर्दथे, एउटा छात्रसँग २ पटक गरि ५-५ लाखका दरले र छात्रासँग १८ लाख एकमुष्ट रुपमा लिएका थिए, पछि विद्यार्थीहरुले आफ्नो बैंकिङ विवरण हेर्दा घिमिरेले आफ्नो खातामा रकम जम्मा गरेको भेटिएको हो”, एक विद्यार्थीले भने।
सोमबार एमबिबिएसका २३ जना विद्यार्थीहरुले दर्ता गरेको उजुरी अनुसार प्रति विद्यार्थी ५ देखि ६ लाख रुपैयाँसम्म कलेज प्रशासनले बढी रकम असुलेको पाइएको छ। विद्यार्थीहरुले गत फागुन २१ गते कलेजका सञ्चालक खुमा अर्याल, प्रिन्सिपल रवीन्द्र श्रेष्ठ, लेखा प्रमुख युवराज शर्मा, लेखा कर्मचारी हरिमाया पौडेल, प्रशासनका कर्मचारी दिनेश पौडेल, पूर्वसीईओ सन्तोष खनाल, कर्मचारीहरु तिलक पौडेल, लक्ष्मणप्रसाद शर्मा, कृष्ण पौडेल र कृष्ण घिमिरेका नाममा प्रहरीको पक्राउ पुर्जी जारी गरेको थियो।
यी मध्ये सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण प्रसाद शर्मा पक्राउ परेका छन्। बाँकी भने फरार नै छन्। उनीहरुको खोजीकार्य भईरहेको कास्की प्रहरी प्रमुख ओम रानाले बताए।
सरकारले उपत्यकाबाहिरको मेडिकल कलेजलाई एमबिबिएसमा ४२ लाख शुल्क तोकेको छ। तर, कलेजले विद्यार्थीबाट विभिन्न बहानामा शुल्क रकमभन्दा १५ लाखसम्म बढी रकम असुलेको विद्यार्थीको आरोप छ।
पक्राउ पुर्जीविरुद्ध कलेज सञ्चालकको रिट
प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि कलेजका सञ्चालक खुमा अर्याल अदालत पुगेका छन्। अर्यालले वारेसमार्फत २३ फागुनमा रिट हालेका थिए। जबकि अर्यालविरुद्ध २२ गते पक्राउ पुर्जी जारी भएको थियो।
त्यसको भोलिपल्टै अर्याल अदालत पुगेका हुन्। पुर्जी जारी गरेलगत्तै प्रहरीले कलेजका पूर्वसीईओसमेत रहेका सञ्चालक सन्तोष खनाल र कर्मचारी लक्ष्मण शर्मालाई पक्रेको थियो।
अर्यालको रिटमा आइतबार अदालतमा सुनुवाइ भएको छ। उनको पक्षबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, सुशील पन्त, डा रामकृष्ण अधिकारी, कृष्ण थापाले पैरवी गरे। न्यायाधीश जगतप्रसाद श्रेष्ठको इजलासले रिटमा कारण देखाऊ आदेश जारी गरेको छ।
अर्यालले जिल्ला अदालत कास्की, कास्की प्रहरी, कास्की प्रशासन र तीन जना विद्यार्थीलाई विपक्षी बनाएर रिट हालेका थिए। उच्च अदालतले १५ दिनभित्र लिखित जवाफ पेस गर्न विपक्षीमा नाममा आदेश जारी गरेको हो।
उच्च अदालतका रामप्रसाद न्यौपानेले दिएको जानकारी अनुसार रिट निवेदकको मागअनुसार अन्तरिम आदेश भने आइतबार जारी भएन। त्यसबारे छलफल गर्न २९ गते दुवै पक्षलाई अदालतले डाकेको छ।विशन क्षेत्री १२ खरीबाट साभार