पोखरा- सत्तारूढ दल नेकपाका शिर्ष नेताहरुले प्रधानमन्त्री ले पार्टीमा सल्लाह नै नगरि बिप्लव नेतृत्वको नेकपामाथी प्रतिबन्ध लाएकाे बताएका छन्।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउने निर्णय गरेसँग सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा नयाँ तरङ्ग पैदा भएको छ । सरकारको यस्तो निर्णयले सचिवालयकै केही नेताहरु असन्तुष्ट बनेका छन् । र, यसबारे नेकपाका शीर्ष नेताहरुमा छलफल सुरु भएको छ ।
सरकारले एकपछि अर्को गर्दै विवादीत निर्णय गर्नथालेपछि असन्तुष्ट बनेका सचिवालयका नेताहरु र अध्यक्ष प्रचण्ड सहित बुधबार विहान खुमलटारमा बैठक बस्यो । बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी रहेको स्रोतले बतायो ।
विप्लव पार्टीमाथि प्रतिबन्ध लगाउने निर्णयबारे पार्टीमा कुनै छलफल नभएको र पार्टीलाई भद्रगोल अवस्थामा पुर्याएको, सांगठनिक एकीकरणका वाँकीकाम अलमलाएको भन्दै असन्तुष्ट चार नेताहरुले अध्यक्ष प्रचण्डलाई नीतिगत निर्णय गर्न तत्काल सचिवालयको बैठक बोलाउन प्रधानमन्त्री ओलीलाई दबाब दिनेबारे छलफल भएको स्रोतले बतायो ।
विप्लव नेतृत्वको पार्टीमाथि प्रतिबन्ध लगाउने निर्णयपछि चौतर्फी सरकारको विरोध भएको छ । यसमा सत्तारुढ दलकै दोस्रो तहका केहि नेताहरुको असन्तुष्टि बाहिर आएको छ । तर, यसबारे सचिवालयका शीर्ष नेता माधव कुमार नेपालले सरकार काे अपरिपक्व निर्णय भनेका थिए भने अन्य नेताहरुकाे धारणा अहिलेसम्म सार्वजनिक भने भएको छैन ।