बिप्लव नेतृत्वको नेकपाका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ र अर्का बरिष्ठ नेता खड्कबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ आफूहरुको पहुँचमै रहेको सुरक्षा निकायले दावी गरेको छ । हाल सिन्धुलीमा रहेका बिप्लवको गतिबिधिलाई नजिकबाट निहाली रहेको र उनले आफ्ना नेता तथा कार्यकर्तालाई भेटिरहेको जानकारी आफुहरुलाई प्राप्त भएको सुरक्षा उच्चस्रोतले दावी गरेको छ।
विप्लव केहीदिन देखि सिन्धुलीका बस्ती र जंगलमा बस्ने गरेको समेत सुरक्षा स्रोतले जानकारी दिएको छ। उनीहरुको कदम अहिलेसम्म हिंसात्मक नदेखिएको समेत सुरक्षा स्रोतले जानकारी दिएको छ। प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय सिंन्धुलीलाई बिप्वलको गतिबिधिको बारेमा जानकारी लिइरहन निर्देशन दिएको छ ।
सुरक्षा स्रोतका अनुसार सो पार्टीका प्रवक्ता बिश्वकर्मा अहिले दाङमा छन्। उनको गतिबिधिलाई समेत निगरानी गर्न समेत प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय दाङलाई निर्देशन दिएको छ। सो पार्टीको पोलिटब्युरोको बैठक बोलाएको भएपनि नेताहरु जम्मा हुन नसकेपछि बैठक बस्न नसकेको निष्कर्ष सुरक्षा निकायको छ। एक सुरक्षा अधिकारीले भने, ‘अन्य नेताहरुको बारेमा पनि हामी अपडेटमा नै छौं । उनीहरुले हिंसात्मक हर्कत गरे भने हामीले पनि छुट्टै रणनीति बनाएका छौँ।’ बिप्वल पार्टी माथी प्रतिवन्ध लगाएपछि सरकारले उसका बिभिन्न तहका ८४ जना नेता तथा कार्यकर्ता लाई पक्राउ गरेको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकबाट लिइएको हो ।