राजनीति
पोखरा- ‘विप्लव’ नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओलीसहित पक्राउ परेका नेता-कार्यकर्तालाई चार मुद्दामा अनुसन्धान थालिएको छ। आइतबार जिल्ला अदालत ललितपुरले सबैलाई आठ दिन थुनामा राखी अनुसन्धान गर्न आदेश दिएको छ।
ओलीसहितका माओवादीहरूलाई संगठित अपराध, राज्यविरुद्धको अपराध, हातहतियार तथा खरखजाना र बम बिस्फोटको मुद्दामा अनुसन्धान थालिएको हो।
मुद्दा चलाइएकाहरूमा केन्द्रीय सदस्य रहेका रुपन्देहीका वसन्त श्रेष्ठ, सुर्खेत घर भई रौतहट जिल्ला इञ्चार्ज शंकर अधिकारी, ललितपुर जिल्ला कमिटी सदस्य बुद्धबहादुर सिन्ताङ, साधारण सदस्य सिन्धुपाल्चोकका रामकृष्ण खतिवडा, बाराका देवराज घिमिरे, नुवाकोटका सन्दीप कार्की, रुकुमका लोकेन्द्र खड्का र चालक धर्मराज राजबाहक छन्।
बा१७च ४८९३ नम्बरको स्कोर्पियोका चालक राजबाहकलाई पनि प्रहरीले मुद्दा चलाएको हो। विप्लव नेता कार्यकर्ताले राजबाहकले चलाउँदै आएको स्कोर्पियो भाडामा लिएका थिए।
प्रारम्भिक अनुसन्धानमा चार मुद्दा आकर्षित हुने ठानेर ललितपुर प्रहरीले सबैलाई अदालतबाट म्याद थप गरेको हो। उनीहरूमाथि कर्तव्य ज्यान मुद्दा पनि चलाउने प्रहरीको तयारी छ। ओलीले नख्खु बिस्फोटको जिम्मा समेत लिएका कारण कर्तव्य ज्यान मुद्दा चल्ने ललितपुर प्रहरीले जनायो। प्रहरीका अनुसार ओलीसँगै पक्राउ परेकाहरु बम बिस्फोट घटनामा संलग्न छन्।