logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

विप्लवबारे सेनाको विश्लेषण:३ हजार लडाकू देखी ५०० मिटरको दुरीसम्म मार हान्न सक्ने ड्रोन


  • राजनीति
  • आइतबार, चैत्र १० २०७५

मंगलबार अपराह्नको मन्त्रिपरिषद वैठकले नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको ‘नेपाल कम्युनिस्ट पार्टी’का सम्पूर्ण गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय ग¥यो । यसअघि पनि राज्यबाट ‘राजनीतिक दल’को ‘मान्यता’ नपाएको विप्लव नेतृत्वको नेकपालाई सरकारले ‘अवैध समूह’को दर्जा दिएर उसका गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

सरकारको निर्णयसँगै विप्लवका गतिविधिमाथि सुरक्षा निकायले थप उच्च निगरानी बढाएका छन् । यसअघि पनि ‘विध्वांत्समक’ समूहको रुपमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले आ–आफ्नै तरिकाले विप्लवमाथि निगरानी गरिरहेका थिए ।

विप्लव समूहले हतियार समेत संकलन गरेर सैन्य तालिम दिन थालेको रिपोर्ट सुरक्षा निकायबाट सरकारले प्राप्त गरेको थियो ।

मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्न बिहीवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विप्लव समूहबाट अवैध हतियार बरामद हुन थालेपछि उसका गतिविधिमाथि प्रतिबन्ध लगाइएको बताए ।

विप्लवबारे सेनाको विश्लेषण– तरिका पुरानो माओवादीकै

२०५२ सालदेखि ‘जनयुद्ध’ शुरु गरेको तत्कालीन माओवादीबारे नेपाली सेनाको विश्लेषण थियो, राजनीतिक आवरण बोकेको फौजी संगठन । अहिलेको विप्लव समूहलाई पनि सेनाले पहिलेकै माओवादीको ‘क्याटेगोरी’मा राखेको छ ।

तत्कालीन माओवादीले आफ्नो अभियान शुरु गर्दा राज्यशत्ताप्रति वितृष्णा जगाएर ग्रामिण क्षेत्रका जनतालाई आफ्नो एजेण्डाप्रति आकर्षित गराएको थियो । विप्लवले पनि उस्तै रणनीति लिएको एक उच्च सैनिक अधिकारीको विश्लेषण छ ।

सैनिक स्रोतका अनुसार विप्लव अहिले स्थानीय तहका काम रोक्ने अभियानमा छन् । ‘स्थानीय तहलाई जसरी हुन्छ असफल बनाउने यो समूहको पहिलो प्राथमिकता छ,’ सैनिक स्रोत भन्छन्, ‘हालै निर्वाचित भएका जनप्रतिनिधिहरुलाई असफल बनाउन सकियो र उनीहरुप्रति ग्रामिण क्षेत्रका नागरिकमा वितृष्णा जगाउन सकियो भने आफू सफल हुन्छौं भन्ने उनीहरुको बुझाइ रहेको खबरहबमा खबर छ ।’

पहिलेका माओवादी समर्थकहरुलाई आफूतर्फ आकर्षित गर्न पनि विप्लव समूहले पहिलेको माओवादीकै जस्तो रणनीति लिएको सेनाको बुझाइ छ ।

सैनिक स्रोतका अनुसार विप्लवको सबैभन्दा बढी प्रभाव अहिले कर्णाली प्रदेशका ६ जिल्लामा छ । विस्तारै सुदूरपश्चिमका जिल्ला हुँदै अन्य प्रदेशका पहाडी क्षेत्रमा समेत विप्लवले आफ्नो प्रभाव विस्तार गर्दै लगेको सेनाको बुझाइ छ ।

विप्लवले शहरी क्षेत्रमा चन्दा संकलन गरेर ग्रामिण क्षेत्रमा पकड बढाउँदै लगेको सैनिक स्रोत बताउँ । ‘शहरी क्षेत्रका व्यवसायीदेखि विभिन्न पेशा व्यवसायमा लागेका मानिसहरुलाई त्रसित बनाएर चन्दा असुल्ने र ग्रामिण क्षेत्रका जनतालाई विश्वासमा लिने उनीहरुको रणनीति छ,’ एक उच्च सैनिक अधिकारी भन्छन्, ‘यदि उसका गतिविधिलाई नियन्त्रणमा नलिने हो भने देशको अर्थतन्त्र नै धरासायी हुने जोखिम छ ।’

विप्लवलाई सामान्य शक्तिको रुपमा मात्रै मुल्यांकन गर्नु ‘मुर्खता’ हुने सैनिक अधिकारीको विश्लेषण छ । ‘उनीहरुसँग हतियारको उपलब्धता, चन्दा संकलन र संगठन विस्तारको प्रक्रियालाई हेर्दा यो समूह ठूलो समस्याका रुपमा उदाउने खतरा छ,’ सैनिक अधिकारी आफ्नो विश्लेषण सुनाउँदै भन्छन्, ‘उसका गतिविधिलाई निस्तेज पार्ने हो भनेपनि प्रहरी परिचालन गरेर मात्रै सम्भव छैन ।’ विप्लवका गतिविधि नियन्त्रणका लागि कुनै न कुनै रुपमा सेना परिचालन गरिनुपर्ने ती अधिकारीको राय छ ।

सरकारको प्रतिबन्धपछि झन् बलियो !

सेनाको विश्लेषणमा सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेपछि विप्लव समूह आन्तरिक रुपमा झन बलियो बनेको छ । यसअघि चन्दा संकलनको विषयमा महासचिव विप्लव र खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)बीच विवाद थियो ।

कतिपय ठाउँमा प्रकाण्डले विप्लवलाई समेत जानकारी नदिइ चन्दा संकलन गरेर व्यक्तिगत फाइदाका लागि प्रयोग गरेका थिए । साथै जनवर्गीय संगठनहरुमा समेत प्रकाण्डले एकतर्फी गर्न खोजेको भन्दै विप्लवको गुटमा असन्तुष्टि बढेको थियो ।

‘यसअघि उनीहरुमा चन्दा संकलन, जनबर्गीय संगठन परिचालन र सञ्चारकर्मीदेखि नागरिक समाजसँगको सम्पर्कको विषयलाई लिएर आन्तरिक विवाद थियो,’ सैनिक स्रोत भन्छ, ‘सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेपछि उनीहरुको आन्तरिक विवाद साम्य भइसकेको छ । अब उनीहरु सरकारको पछिल्लो निर्णयको प्रतिवाद गर्ने भनेर लागेको बुझिन्छ ।’

विप्लवसँग ३ हजार लडाकू !

विप्लव समूहले यसअघि देशका विभिन्न ठाउँमा बम विस्फोटन गराउँदै आएको थियो । ललितपुरको नख्खुस्थि एनसेल टावरमा गरिएको आक्रमणमा एकजनाको मृत्यु हुनुका साथै अघिल्लो वर्ष चुनावका बेला गरिएका आक्रमणमा पनि सुरक्षाकर्मीसहित केहीको ज्यान गएको थियो ।

हतियारसहित आक्रमणमा नउत्रिए पनि विप्लवले फौजी आक्रमणका लागि तयारी गरिरहेको भन्ने खबर यसअघि पनि सार्वजनिक भएका थिए ।

नेपाली सेनाको विश्लेषण हेर्दा विप्लव समूह फौजी रुपमा समेत ‘बलियो’ रहेको देख्न सकिन्छ । विप्लव समूहसँग करिब ३ हजारको हाराहारीमा लडाकूहरु छन् । यी लडाकूहरु कुनै पनि बेला आक्रमणमा उत्रिन सक्ने सेनाको मुल्यांकन छ ।

यस्तै विप्लव समूहसँग साना–ठूला, आधुनिक र परम्परागत गरी करिब १ हजारको संख्यामा हतियार रहेको सैनिक स्रोतको भनाइ छ । जसमध्ये १ सयजति आधुनिक किसिमका स्वचालित हतियारहरु विप्लव समूहसँग हुनसक्ने सेनाको मुल्यांकन छ ।

तर, विप्लव समूहमा राजनीतिक र फौजी संगठनबीच प्रस्ट समन्वय नरहेको सेनाको बुझाइ छ । विप्लवबाहेक राजनीतिक संगठनका अन्य व्यक्तिसँग फौजी संगठनको सम्पर्क हुँदैन । अधिकांश राजनीतिक संगठनका व्यक्तिलाई पनि फौजी संगठनबारे जानकारी हुँदैन ।

विप्लवबारे सेनाको विश्लेषण

सैनिक स्रोतका अनुसार विप्लवसँग एउटा ड्रोन छ । जसले ५०० मिटरको दुरीसम्म मार हान्न सक्ने अुनमान गरिएको छ ।

उच्च सैनिक स्रोतका अनुसार केही दिन अगाडि मात्रै विप्लव समूहले उक्त ड्रोन परीक्षण गरेको थियो ।

विप्लवले ड्रोन परीक्षण गरेसँगै सरकारका गुप्तचरी संयन्त्रमा समेत हल्लीखल्ली मच्चिएको छ । उक्त ड्रोनले आधा किलोसम्मको विस्फोटक पदार्थ बोक्नसक्ने अनुमान गरिएको छ ।

‘ड्रोनको परीक्षण मात्रै गरेको हो या यसलाई अपरेशनमा पनि ल्याइएको हो भन्नेबारे अहिले स्पष्ट रुपमा खुल्न सकेको छैन,’ सैनिक स्रोत भन्छ ।

विप्लवले ड्रोन परीक्षण गरेको विषयमा प्रहरीको विशेष ब्यूरोले समेत अनुसन्धान थालेको छ । ब्यूरोले यसअघि लामो समयदेखि विप्लवका गतिविधिमाथि निगरानी राख्दै आइरहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार