राजनीति
पोखरा- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका स्थायी समितिका सदस्य हेमन्तप्रकाश ओली (सुदर्शन) सँगै खानेपानी मन्त्री बिना मगरका पूर्वपति पनि पक्राउ परेका छन्।नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का एकमात्र छोरा प्रकाश दाहाललाई पति बनाउनु अघि बिनाका पति थिए, विद्यार्थी नेता शंकर अधिकारी।
तिनै अधिकारी सुदर्शनसँगै काठमाडौँ आउँदै गर्दा काभ्रेको खानीखोला–७, मिल्चेबाट पक्राउ परेका छन्।अधिकारीसँग वैवाहिक जीवनमै रहेका बेला सगरमाथा आरोहण अभियानमा सँगै रहेका प्रचण्डपुत्र प्रकाशसँग बिनाको प्रेम सम्बन्ध रहन गएको थियो।
प्रकाश–बिनाबीचको सम्बन्ध सार्वजनिक भएसँगै शंकर र बिना भौतिक रुपमा अलग भएका थिए। त्यसपछि बिना प्रकाशसँग बस्न थालिन्।शंकर त्यो बेला तत्कालिन एमाओवादीको काठमाडौँ जिल्लाका नेता थिए। पार्टी विभाजनसँगै उनी बैद्य समूह र त्यसपछि विप्लव समूहमा आवद्ध हुन पुगेका थिए।
विप्लव समूहमा आवद्ध भएपछि उनी पछिल्लो समय सो समूहको मध्य कमाण्डको पार्टी कार्यालय सचिव थिए।सुदर्शन र शंकरसँगै पक्राउ पर्ने विप्लव समूहका अन्य कार्यकर्ताहरुमा धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्का छन्।नेपाल खबरबाट साभार
नेत्रविक्रम चन्द ‘विप्लव’ समातिए ,के होला ? एक बिश्लेषण
काठमाडौँ– सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ को पार्टीलाई प्रतिबन्ध लगाएसँगै उसका नेता कार्यकर्ता धमाधम पक्राउ पर्न थालेका छन् । रातोपाटीमा लेखेका छन।
यही फागुन २८ पछिमात्रै विप्लव पार्टीका पाँच दर्जन बढी नेता–कार्यकर्ता पक्राउ परिसकेका छन् ।
प्रहरीले अरु नेता–कार्यकर्ता पनि पक्राउ गर्ने सरकारी नीतिलाई निरन्तरता दिने जनाइसकेको छ । सरकारको अहिलेसम्मको नीति हेर्दा पनि विप्लवका धेरै नेता कार्यकर्ता नियन्त्रणमा लिएर उसको पार्टी कमजोर बनाएपछि विप्लव वार्तामा नआइ सुखै पाउदैनन् भन्ने देखिन्छ । त्यसैले सरकारका मन्त्रीहरुले भन्ने गरेका छन् ‘हतियार बुझाएर वार्तामा आए सरकार वार्ता गर्न तयार छ ।’
तर सरकारका मन्त्रीहरुले वार्ताका लागि तयार रहेको भन्ने गरेपनि औपचारिक रुपमा सरकारले वार्ताका लागि कुनै लिखित आह्वान अहिलेसम्म गरिसकेको छैन ।
यसअघि सरकारले आफूमाथि दमन गरे प्रतिवाद गर्ने जवाफ दिएपनि विप्लव पार्टीले आफ्ना नेता–कार्यकर्ता गिरफ्तारीबाट बचाउन सकेको छैन । पछिल्लो समय शनिबार मात्रै पनि विप्लवका तेस्रो वरियताका नेता हेमन्त प्रकाश वली समेत प्रहरीद्वारा पक्राउ परेका छन् ।
सुरक्षा स्रोतले विप्लवसहितका शीर्ष नेताहरुमाथि उच्च निगरानी गरिरहेको बताइरहँदा स्वाभाविक रुपमा प्रश्न सतहमा आएको छ– प्रतिवन्धित नेकपाका महासचिव विप्लव नै पक्राउ परे के होला ?
राजनीतिक विश्लेषक श्याम श्रेष्ठका अनुसार दमनबाट समस्याको समाधान हुन नसक्ने भन्दै वार्ताबाटै समस्याको समाधान खोजिनु पर्छ ।
‘दमन त्यसको उपाय होइन । तर, सरकार जसरी प्रस्तुत भएको छ त्यसबाट वार्ताको सम्भावना देखिदैन । प्रतिवन्ध लगाउने अनि वार्ता गर्छु भनेर को आउँछ ? पार्टी प्रतिवन्ध लगाएपछि झन् एग्रेसिप रुपमा जाने सम्भावना हुन्छ ’ श्रेष्ठ भन्छन् ‘पार्टी प्रतिवन्ध लगाउनु अघि वार्ताको सम्भावना थियो ।’
विप्लव गिरफ्तार भए भने के हुन्छ ? भन्ने प्रश्नमा विश्लेषक श्रेष्ठ भन्छन्, ‘विप्लव गिरफ्तार भए भने वाँकी नेतृत्व कुन ढंगले चल्छ भन्ने कुरामा आधारित हुन्छ । नेतृत्व एकलमात्रै रह्यो भने पेरुको जस्तो हुने सम्भावना हुन्छ । गोन्जालोको गिरफ्तारि पछाडि जस्तो भयो त्यस्तै हुने सम्भावना हुन्छ । होइन बैकल्पिक नेतृत्व पनि बलियो भयो भने यो अगाडि बढ्छ ।’
श्रेष्ठका आुसार वैकल्पिक नेतृत्व कति बलियो छ भन्नेमा भर पर्छ । यो अहिले भन्न सकिने कुरा होइन । तर, विप्लवले तत्काल आफ्ना गतिविधिलाई बढाउने सम्भावना श्रेष्ठले देखेका छन् ।
उनका अनुसार सरकारले भन्दैमा विप्लव सहजै वार्तामा आउने सम्भावना छैन ।
श्रेष्ठ भन्छन्, ‘विप्लव वार्तामा आउने सम्भावना देख्दिन । किनभने उनको पार्टीको उद्देश्य क्रान्तिकारी छ । तत्काल वार्ताद्वारा त्यो सम्भव भएको भए हतियार बोकेर हिँड्ने थिएनन् होला । हतियार समात्नेमा गएपछि तत्काल रणनैतिक शक्ति सन्तुलनको स्थितिमा नपुगेसम्म वार्तामा आउने सम्भावना हुदैँन ।’
विश्लेषक श्रेष्ठको विश्लेषणमा यो समस्या समाधान गर्न सरकार जति ढिला र गल्ती गर्दै जान्छ त्यति नै विप्लव पार्टी बलियो हुँदै जान्छ ।