पूर्वमाओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका सचिव नारायण खनालले अर्की सचिव गंगा दाहाललाई एक वर्षअघि होलीको शुभकामना सन्देश पठाएथे । अश्लील चित्रसहितको त्यो आपत्तिजनक सन्देश प्रकरण झन्डै एक वर्ष सामसुम भयो । मंसिर ०७५ मा भने दाहालले संगठनमै उजुरी गरिन् ।
छानबिन क्रममा खनालले पत्नीलाई पठाएको चित्र झुक्किएर दाहाललाई गएको प्रस्टीकरण दिए । संगठनले लिखित आत्मालोचना गराउने निर्णय गर्यो । त्यसैअनुसारको निर्णय दाहाल र खनाललाई सुनाए, महासचिव उत्तम अधिकारीले । त्यसमा चित्त नबुझाएकी दाहालले विप्लव समूहमा आबद्ध पति अर्जुन राउतलाई बोलाएर पेरिसडाँडामा संगठनका नेताहरूलाई थर्काउन लगाइन् ।
सचिव खनाल लिखित आत्मालोचना बुझाउने तयारीमा थिए । पार्टी कार्यालय पेरिसडाँडानेर ओरालोमा चिया पिइरहेका सचिव खनाललाई संग्राम लामा भन्ने व्यक्तिले हेल्मेट हिर्काएर भागे, ७ माघ ०७५ मा । खनालको उजुरी कोटेश्वर प्रहरीमा दर्ता भएपछि लामाको संलग्नता खुल्यो । उनी क्रान्तिकारीका केन्द्रीय सदस्य निमा लामाका साला रहेछन् ।
केही दिनपछि अर्को रहस्य खुल्यो । निमाले सालोलाई बचाउन हारगुहार गरिरहेका बेला सचिव दाहाल तिनै लामाको बचाउका लागि खानेपानीमन्त्री बिना मगर भेट्न प्रचण्ड निवास खुमलटार पुगिन् । मगरले लामालाई बचाइदिन वाईसीएल अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा) लाई फोन लगाइन् । दीपशिखाले विद्यार्थी मुद्दा आफूले नहेर्ने बताएपछि सचिव खनाललाई कुट्न लगाउने काम अर्की सचिव दाहालले गराएको पुष्टि भयो ।
त्यति पोल खुल्न १५ दिन लाग्यो । र, २१ माघ ०७५ मा दाहाललाई क्रान्तिकारीले निलम्बन गर्यो । विद्यार्थी संगठनभित्र अराजकताको ज्वलन्त नमुनामध्ये यो पछिल्लो एक घटना हो ।
संगठन र मुद्दा फरक तर प्रवृत्ति उस्तै जनाउने घटना भइदियो कलंकीस्थित हिकास्ट कलेजमा । कलेज प्रशासनको शुल्कवृद्धिविरुद्धमा विद्यार्थीको आन्दोलन विभाजित मात्र भएन, कुटाकुट पनि भयो । अखिल क्रान्तिकारीले शुल्कवृद्धिभन्दा पहिला चन्दा लिएको तर कुरा नमिल्दा विवाद बल्झेसँगै आन्दोलनमा उत्रियो । विद्यार्थीबीच कुटाकुट भएपछि आन्दोलन यस्तो भइरहेको छ, न कलेज प्रशासन शुल्क घटाउन राजी छ, न त आन्दोलन टुंग्याउने बाटो देखिएको छ ।
राणाकालको उत्तरार्द्धमा ‘जयतु संस्कृतम्’ को जगबाट उभिएको विद्यार्थी आन्दोलनमा सामान्य लाग्ने यी घटना गनिनसक्नु छन् । निकट विगतसम्म ओजिलो इतिहास बोकेको विद्यार्थी आन्दोलन अन्धकारको दिशामा लम्केको छ । विश्वविद्यालय समाजको ऐना र विद्यार्थी चेतनाका संवाहक । कुनै बेला राजनीतिक, शैक्षिक मुद्दाको अग्रदस्ता विद्यार्थी नेताहरू अहिले गुन्डागर्दी, आपराधिक काण्ड र चन्दा असुली धन्दाको अग्रदस्ता बन्न थालेको खुलेआम स्वीकार्छन् । त्यही चन्दाको बलमा रवाफिलो जीवनशैली व्यतीत गर्न थालेका छन् ।
अपराधको राजनीतीकरण
गुन्डागर्दीबाट पहुँच विस्तारमा कुन हदसम्मको उत्कर्षमा पुग्छन् भन्ने उदाहरण ३० चैत ०६६ को त्रिचन्द्र घटना हेर्दा पुग्छ । त्रिचन्द्रमा अखिलको राजनीतिमा संलग्न समिक बडाललाई नेविसंघको विनयराम भट्ट समूहले हातै काटिदियो । योभन्दा एक वर्ष पहिले त्यही कलेजमा अखिलका ऐन महर र नेविसंघका भीम गुरुङबीच ठूलै झडप भयो । त्यसको चुरो थियो, त्रिचन्द्रका भवन भाडा । त्यो विवाद उत्कर्षमा पुग्दा गोली हानहानै भयो ।
यी दुवैलाई आपराधिक घटनाका रूपमा हेरिनुपर्नेमा राजनीतिक रंग दिइयो । यस्तै, शंकरदेव क्याम्पसका स्ववियु सभापति शुभराम बस्नेत वन्यजस्तुको अवैध छाला र हतियारसहित पक्राउ परे जेठ ०७१ मा । यो घटना पनि खास अगाडि बढेन, राजनीतिक संरक्षणमा । राजनीतिलाई आपराधीकरणतर्फ घिस्याएपछि विद्यार्थी आन्दोलन फितलो मात्र भएको छैन, अविश्वासिलो र त्रासदीपूर्ण बन्दैछ ।
०४६ पछिको विद्यार्थी आन्दोलन भ्रष्ट, अराजक र व्यक्तिगत लाभमा केन्दि्रत भएको बताउँछन्, शिक्षाविद् मनप्रसाद वाग्ले । “विद्यार्थी नेताहरू ठेक्कापट्टा, गोली काण्ड मच्चाउने अनि बिचौलियाको भूमिका निर्वाह गरिरहेका छन्,” वाग्ले भन्छन्, “धनी बन्ने लोभ विद्यार्थीभित्र पनि घुसेपछि भ्रष्टाचारको सिकाइ त्यहीँबाट सुरु भयो ।”
अनैतिक छिद्रबाट अतिरिक्त आम्दानी हत्याउन क्याम्पसका सटर भाडामा लगाउने मेसोमा बिचौलियाको काम विद्यार्थी नेताले गर्छन् । वाग्लेले भनेजस्तो विद्यार्थी नेताको चर्तिकलाले भ्रष्ट चरित्र निर्माण र अनियमितताको सीप सिकाउँछ ।
विद्यार्थी नेतासँग जोडिएर पार्टीका नेताहरू चन्दाको खेलमा कतिसम्म लाग्छन् भन्ने पछिल्लो उदाहरण चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई मान्दा हुन्छ । स्थापनाको २ वर्ष नपुग्दै सम्बन्धन बेच्न थालेको यो विश्वविद्यालयले ८ वटा कृषि कलेजलाई सम्बन्धन दिएपछि विवाद यति धेरै भयो कि केन्द्रीय विद्यार्थी नेता र विश्वविद्यालयका विद्यार्थी नेताबीच फाटो नै ल्यायो । आर्थिक लाभमा केन्द्रीय विद्यार्थी नेता मात्र होइन, चितवन जिल्ला पार्टी कमिटीहरू नै फसे । त्यसको सिकार बनेका थिए, पूर्वविद्यार्थी नेता ठाकुर गैरे र लेखनाथ न्यौपाने ।
सम्बन्धनबारे विश्वविद्यालयको बदमासीको रूप केसम्म देखिन्छ भने आंगिक कलेज र निजी कलेजका लागि मापदण्ड नै फरक छ । आंगिक क्याम्पसको हकमा २४ उपप्राध्यापक, ६ जना प्राध्यापक ६५ कर्मचारी हुनुपर्ने मापदण्ड छ । जबकि, निजीको हकको १० नियमित शिक्षक र कम्तीमा पाँच जना ल्याब ब्वाई भए पुग्छ ।
अर्को बदमासी जग्गाको सन्दर्भमा देखिन्छ । आंगिक क्याम्पसको हकमा तराईमा आठ बिघा र पहाडमा सय रोपनी जग्गाको मापदण्ड तोक्ने विश्वविद्यालयले निजीको हकमा तराईमा चार बिघा र पहाडमा ४० रोपनी जग्गा भए पुग्ने भनिदियो । आर्थिक चलखेलमा हद नाघेको उदाहरण कृषि तथा वन विश्वविद्यालय नै हो । “राजनीतिक दल र विद्यार्थी नेताहरूलाई खरिद गरेर सम्बन्धनमा भएको चलखेल भत्र्सनायोग्य थियो,” न्यौपाने भन्छन्, ‘पदाधिकारीले निजी र आंगिक कलेजका लागि बनाएको मापदण्ड झनै बदमासीपूर्ण छ ।”
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले अध्यापक तथा कर्मचारी नियुक्तिमा खोजेको हिस्सेदारी नपाएको झोँक विद्यार्थी नेताहरूले पुस ०७५ मा तालाबन्दी र तोडफोडका रूपमा पोखे । आरआर क्याम्पसका पूर्वस्ववियु सभापति राजकुमार राई भन्छन्, “अहिलेको विद्यार्थी आन्दोलन समाज परिवर्तन, शिक्षाको गुणस्तर वृद्धिभन्दा पनि नेता कसरी हुने भन्ने मानसिकताले ग्रस्त छ ।”
विद्यार्थी आन्दोलनको तेजोबध कतिसम्म भएको छ भन्ने सन्दर्भ त पछिल्लो पटक पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा’ ले देखाएको छ । विद्यार्थी आन्दोलन चेतनाको संवाहक मात्र होइन, सत्ताको प्रतिपक्षी आवाज पनि हो । तर विद्यार्थी नेताहरू सत्तासँग लय मिलाउँदै शर्माको गीत प्रतिबन्ध लगाउन तम्सिए । रवि लामिछानेले टेलिभिजन कार्यक्रममा सरकारको सामान्य आलोचना गरेकै कारण सामाजिक सन्जालमा आन्दोलित देखिए विद्यार्थी नेताहरू । तिनै नेताहरू अस्ट्रेलियामा १२ सयभन्दा बढी नेपाली विद्यार्थी समस्या परेको सार्वजनिक हुँदा भने चुँसम्म बोलेनन् ।

विद्यार्थी आन्दोलनमा निरन्तर विचलन र बिचौलियाको भूमिका देखिन थालेको अखिल क्रान्तिकारीका महासचिव उत्तम अधिकारी स्वीकार्छन् । भन्छन्, “मुद्दामामिला मिलाउने र आर्थिक उपार्जन गर्न विद्यार्थी नेता उपयोग हुनु दुर्भाग्य हो ।” गण्डकी मेडिकल कलेज र किस्ट मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी ५१ दिनदेखि आन्दोलित हुँदा केही नबोल्ने नेताहरू आन्दोलन रोकिने र घटना साम्य हुने छाँट नदेखिएपछि १ चैत ०७५ मा विज्ञप्ति निकाल्न बाध्य भए ।
आफ्नो स्वार्थ नजोडिएको शैक्षिक मुद्दामा विद्यार्थी बोल्दैनन् भन्ने उदाहरण बनेको छ, विश्वविद्यालय आयोगको एक अध्ययन प्रतिवेदन । करिब एक महिना पहिलेको त्यस प्रतिवेदनअनुसार प्रयोगशाला भएका त्रिचन्द्र, अमृत साइन्सजस्ता कलेजमा कामै नलाग्ने र प्रयोग नहुने उपकरण भेटिए । तिनै कलेजमा विद्यार्थी नेताहरू आर्थिक लाभका लागि गोली हानाहान गर्छन्, तर विद्यार्थीका लागि सिन्को भाँच्दैनन् ।
अझ दुःखद घटना त विद्यार्थी नेताहरू कलेज प्रशासनको मिलेमतोमा प्रश्नपत्र आउट मात्र गर्दैर्नन्, उत्तरपुस्तिका पनि साटफेर गर्छन् । एक क्याम्पस प्रमुखका अनुसार चिट चोर्न सहयोग गर्ने, उत्तरपुस्तिका साट्ने, होम सेन्टर पार्ने भूमिकामा संगठनका नेताहरू लाग्छन् । उनका अनुसार जनकपुरस्थित एक कलेजका ४० वटा उत्तरपुस्तिका साटफेर भएको देखिएको थियो । “उत्तरपुस्तिका साटिएको प्रस्ट देखिएपछि ४० वटै उत्तरपुस्तिका फेल गराइदिएँ र डीन कार्यालयलाई जानकारी पनि गराएको थिएँ,” ती क्याम्पस प्रमुख भन्छन् । दुई साता पहिला मात्रै मानविकी संकायअन्तर्गतको राजनीतिशास्त्र स्नातकोत्तर तहमा पनि विद्यार्थी अनुत्तीर्ण भएपछि पुनर्योग (रि-टोटलिङ) का लागि आएपछि अंक पुनः जोड्न खोज्दा उत्तरपुस्तिका साटेको पुष्टि भयो ।
विद्यार्थी नेताहरू शैक्षिक मुद्दाभन्दा ठेक्कापट्टा, सरुवा बढुवामा बढी चासो दिन्छन् भन्ने कुरा अखिल अध्यक्ष तथा सांसद नवीना लामा र क्रान्तिकारीका उपाध्यक्ष दीपेश पुनको सक्रियताले पुष्टि गर्छ । प्रहरी सरुवामा उनीहरू दुवै विवादमा तानिए । क्रान्तिकारीका दीपेश गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का स्वकीय सचिवसमेत रहेका छोरा प्रतीक थापाको आडमा प्रहरी सरुवामा चासो राख्छन् । तर एक दर्जन पनि विद्यार्थी नभएको बुद्धिज्म स्टडीको नतिजा ६ महिनासम्म प्रकाशन नहुँदा पनि बोल्दैनन् । पुस्तकालय विज्ञान विषयमा गत वर्ष मात्रै १ जना विद्यार्थीको नतिजा प्रकाशन गर्न झन्डै एक वर्ष लगायो । त्यसबारे पनि विद्यार्थी संगठन बोल्दैनन् ।

हिकास्टमा आन्दोलनरत विद्यार्थीले गत वर्ष लिएको चन्दा रसिद
क्रान्तिकारी उपाध्यक्ष दीपेश पुनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले घुस लिएको भिडियो नियन्त्रणमा लिन बिचौलियाको भूमिका निर्वाह गरेको घटना सार्वजनिक भयो । त्यसमा जोडिएका थिए, आरआरका विद्यार्थी कैलाश मगर । पुनले पनि घटनाको खण्डन गरे । त्यसको स्वतन्त्र पुष्टि भइसकेको छैन । तर विद्यार्थी आन्दोलनमा मध्यस्थकर्ताको भूमिका भने तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्माका स्वकीय सचिव रहेका अखिल क्रान्तिकारीका उपाध्यक्ष रमेश मल्लले पनि निर्वाह गरे । संगठनको आन्दोलनलाई भुत्ते र सम्झौतामा टुंग्याउने परिस्थिति निर्माणमा मल्लको भूमिका प्रभावी रहेको क्रान्तिकारीका नेताहरूको अनुभव छ ।
रहस्यमय गतिविधि

कृषि शिक्षामा निजीकरणविरुद्ध अन्तत्र्रिmयामा सहभागी विद्यार्थी नेता

विद्यार्थी नेताहरू विश्वविद्यालय होस् वा शिक्षा मन्त्रालयका पदाधिकारी अनेकन मुद्दामा रहस्यमय सम्झौता गर्छन्, जसबाट आर्थिक तथा भौतिक लाभ लिन्छन् । साउन ०६६ मा अखिल क्रान्तिकारी र त्रिवि पदाधिकारी तथा शिक्षा मन्त्रालयका कर्मचारीबीच एउटा सम्झौता भयो, प्रमाणपत्र तह फेजआउटबारे । त्रिवि विश्व बैंकको परियोजनाअन्तर्गत प्रमाणपत्र तह फेजआउट गर्ने अनि सेमेस्टर प्रणाली सुरु गर्ने तयारीमा थियो । त्यसविरुद्ध आमरण अनशन बसे क्रान्तिकारीका अध्यक्ष लेखनाथ न्यौपाने । अनि वार्तामा खटिए, महासचिव हिमाल शर्मा । शर्माले त्रिवि पदाधिकारी र शिक्षा मन्त्रालयका कर्मचारीसँग सम्झौता गरे प्रमाणपत्र तहको भर्ना खोल्ने भनेर । सम्झौतापछि न्यौपानेको अनशन त तोडियो तर त्यसमा के छ भनेर हेर्न पाएनन् । त्यसमा शर्माले ०६७ पछि फेजआउटमा सहमति जनाएको आरोप लाग्यो । न्यौपाने भन्छन्, “आजसम्म त्यो सम्झौता हेर्न पाएको छैन । त्यतिबेला खोज्दा पाइएन, अहिले खोजिएको छैन ।”
यो घटनाजस्तै विद्यार्थी आन्दोलनको आधार केमा उठान र बैठान हुन्छ भन्ने खुट्टिँदैन । त्यसको पछिल्लो उदाहरण बन्यो, सेमेस्टर प्रणाली लागू नगर्न विद्यार्थी संगठनले गरेको आन्दोलन । त्रिवि पदाधिकारी र विद्यार्थी नेताबीचको लामो रस्साकस्सी माघ ०७० को एक साँझ धोबीघाट सिद्धार्थ कटेजमा पटाक्षेप भयो । एक विद्यार्थी नेताको भनाइमा तीन विद्यार्थी संगठनका अध्यक्ष रञ्जित कर्ण, हिमाल शर्मा र किशोरविक्रम मल्लसँग त्रिवि उपकुलपति हिराबहादुर महर्जन, रेक्टर गुणनिधि न्यौपाने र रजिस्ट्रार चन्द्रमणि पौडेलले वार्ता गरे । त्यस वार्तामा के सहमति भयो, अहिलेसम्म खुलेको छैन । तर त्यस वार्ताको भोलिपल्ट पुल्चोक इन्जिनियरिङ कलेजमा विद्यार्थी संगठनसँग त्रिवि पदाधिकारीको अन्तिम बैठक बस्यो । त्रिवि पदाधिकारीले निर्णय सुनाए- जसरी पनि सेमेस्टर प्रणाली लागू हुन्छ । साना दलका विद्यार्थी संगठन चर्को विरोधमा उत्रिए । तर तीन ठूला संगठन चुपचाप रहे ।
यहाँ छुटाउन नहुने प्रसंग के भने जब अखिल क्रान्तिकारीले निजी कलेज र विद्यालयमा संगठन विस्तार गर्यो, संगठनसँगै विकृतिको बीउ पनि रोप्यो । क्रान्तिकारीमा अहिलेसम्म ती क्षेत्र भन्सारको रूपमा परिचित छन् । त्यसको गतिलो उदाहरण भक्तपुर प्राविधिक विद्यालयको घटना हो । दुई महिना पहिला शुल्कवृद्धिको नाममा आन्दोलन गरी पैसा बुझेर बैठान गराएको घटना सार्वजनिक भयो । क्रान्तिकारीले बाध्यतावश मात्रै घटनामा संलग्न उपत्यका जिल्ला कमिटीका नोर्बु लामालाई कारबाही गर्यो ।

कार्यक्रमविरुद्ध अखिल र अखिल क्रान्तिकारीको विज्ञप्ति
स्वार्थ बाझिने गतिविधि
कुनै पनि व्यक्तिको चारित्रिक सिकाइ पहिले परिवारमा, त्यसपछि शिक्षालयमा हुन्छ भनिन्छ । तर विद्यार्थी अगुवाहरू नै ‘कन्फ्लिक्ट अफ् इन्ट्रेस्ट’ को संवेदनशील पाटो नजरअन्दाज गर्छन् ।
सभापति सुशील कोइरालाको कोटाबाट नेविसंघ अध्यक्ष रञ्जित कर्ण दोस्रो संविधानसभामा सभासद् चुनिए । त्यसको विरोध संगठनभित्र मात्र भएन, बाहिर पनि नैतिकताको गम्भीर प्रश्न उठ्यो । कर्ण त्यतिबेला विद्यालय, कलेजमा ज्ञापनपत्र बुझाउँदै हिँड्थे जबकि उनी आफैँ कानुन बनाउने र कार्यान्वयन गर्ने हैसियतमा थिए । आखिर कर्णको विरोध यस्तो हदमा भयो कि नेविसंघ कार्यकर्ताले निवासमै २९ असार ०७२ मा मोसो मात्र दलेनन्, जुत्ताको मालासमेत लगाए । कर्णको गलत कार्यशैलीविरुद्ध अर्को निन्दनीय घटना हुन पुग्यो ।
त्यसको निरन्तरता अखिल अध्यक्ष नवीना लामाले दोहोर्याइन् । विद्यार्थी संगठनको अध्यक्ष पद कायमै राखेर संसद् भवन छिरेकी लामा पनि विश्वविद्यालय पदाधिकारीलाई ज्ञापनपत्र बुझाउँदै हिँड्छिन् । सांसदभन्दा विश्वविद्यालयका पदाधिकारी मर्यादाक्रममा तल पर्छन् । अनि कानुन बनाउने थलोमा बसेर ज्ञापनपत्र बुझाउने कि कार्यान्वयन गर्ने हो ?
यही प्रश्न सोध्न ३ दिनदेखि पछ्याउँदा लामाका सहयोगीले ‘भ्वाइस रेस्ट’ मा भन्दै कुरा गर्न दिएनन् । पूर्वअध्यक्ष न्यौपाने एकै व्यक्ति सांसद हुने अनि विद्यार्थी नेता पनि भइरहनु ‘लाजको उत्कर्ष’ ठान्छन् । खासमा नैतिक प्रश्न उठ्ने आचरणमा संलग्न हुने/नहुने व्यक्तिको विवेकको कुरा हो । त्यससँगै स्वार्थ बाझिने दुई पद एकसाथ लिनु अनैतिकताको पराकाष्ठा हो ।
योभन्दा पनि विडम्बनाचाहिँ विश्वविद्यालयको पढाइ सकेको वषौर्ंसम्म विद्यार्थी राजनीतिमा सक्रिय भइरहन्छन् । नेविसंघका निवर्तमान अध्यक्ष नैनसिंह महर हुन् वा स्ववियु सभापति बन्न त्रिविमा भर्ना भएका हिमाल शर्मा । अखिल, अखिल क्रान्तिकारी, नेविसंघ सबै संगठनमा विद्यार्थीभन्दा पनि पार्टीमा अवसर नपाएर रुंग्नेहरू धेरै भएको नेविसंघका शाह स्वीकार्छन् । त्यसमा सहमति जनाउँदै अखिलका सचिव समिक बडाल विद्यार्थी राजनीतिमा उमेर हद तोकिनुपर्ने बताउँछन् । भन्छन्, “विश्वविद्यालयको अध्ययन सकिएर पनि नेता बनिरहँदा धेरै समस्या भयो ।”
नेताका गोटी

विद्यार्थी राजनीतिक दलका लागि आलोचनात्मक शक्ति बन्नुपर्ने, उल्टै उपयोगको गतिला साधन बन्न गएका छन् । पञ्चायतकालमा कम्युनिस्ट र कांग्रेसले त्यस व्यवस्थाविरुद्धको मोर्चामा उपयोग गरे । विद्यार्थीको बलमै ०३६ मा सुधारिएको पञ्चायत र बहुदलबीच जनमतसंग्रह घोषणा भयो । शिक्षाविद् वाग्लेको विश्लेषणमा ०४६ अघिका विद्यार्थी आन्दोलन राजनीतिक र शैक्षिक मुद्दामा सम्झनलायक थिए । वाग्लेकै भाषामा ०२८ को राष्ट्रिय शिक्षा योजनाको आन्दोलन, ०३६ को आन्दोलन र ०४६ को जनआन्दोलनमा अग्रमोर्चामा थिए, विद्यार्थी । “विद्यार्थी शक्तिको सदुपयोग भएको उचित समय थियो,” उनी भन्छन्, “त्यतिबेला पढाइ बिगारेर आन्दोलन पनि हुन्थेन ।”
दलहरू सरकारको बागडोर सम्हाल्न जब सिंहदरबार छिरे, सिंहजस्तो विद्यार्थी आन्दोलनले बिरालोको रूप धारण गर्यो । आपसी मारपिट र आर्थिक उपार्जनका छिद्रको खोजीमै ०६३ अगाडिको समय बित्यो । यसमा अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष लेखनाथ न्यौपाने सहमत छन् । न्यौपानेको विश्लेषणमा ०४६ पछि विद्यार्थी आन्दोलनले गति र मति बिगार्न थाल्यो र ०६३ पछि ओरालो लागेको छ ।
हुन त, ०४६-०६३ बीचको समय विद्यार्थी सहुलियत आन्दोलन, सीमा रक्षा मार्चपासजस्ता चेतना निर्माणका अभियान नचलेका होइनन् । गायक/संगीतकार प्रवीण गुरुङको हत्यामा शाहजादा पारस शाहविरुद्धको आन्दोलनमार्फत दरबारको हैसियतमा प्रश्न उठाउने हिम्मत त्यतिबेला विद्यार्थी आन्दोलनबाट भएको हो । ती सम्झनलायक आन्दोलनसँगै विद्यार्थीले भ्रष्टाचार गर्ने सीप सिकेको गतिलो समय ०६३ अघिको मान्छन्, शिक्षाविद् वाग्ले । “०६३ पछि विद्यार्थीबीच एकअर्काको पोल खोलाखोल भएका कारण मात्र धेरै भएजस्तो लागेको हो । तर ०६३ अघि नै विद्यार्थी आन्दोलन विकृत भइसकेको थियो,” वाग्ले भन्छन् ।
०६३ पछि त झन् उपयोगको राजनीति मौलाउँदो मात्र छैन, विद्यार्थी नेताका लागि बाध्यताको आधार बन्न थालेको छ । १२ फागुन ०७५ मा कांग्रेस पार्टी मुख्यालय झडप पनि त्यही प्रयोगको उपज थियो । नेता कृष्ण सिटौला पक्षधर कुन्दनराज काफ्ले र सभापति शेरबहादुर देउवा पक्षका ऋषिकेशजंग शाहका दुई समूह झडपमै उत्रिए । ३२ वर्षे उमेर लागू गर्ने/नगर्ने मामुली विषयमा ।
नेता शाह पार्टीमा छलफल, परामर्श, र योग्यताका आधारमा भन्दा पनि प्रभाव, पहुँच, पैसा र सम्बन्धका प्रभावले नेता बन्न थालेपछि विद्यार्थी राजनीति प्रदूषित भएको स्वीकार्छन् । “पैसा खर्चेर प्रतिष्ठा कमाउने प्रवृत्ति, टिकट लिन पार्टीभित्रै पैसा खर्च गर्नुपर्ने बाध्यता अनि खर्चिलो निर्वाचन प्रणालीले विद्यार्थीलाई भ्रष्ट बनाइरहेको छ,” शाह भन्छन् ।
आन्दोलन र तालाबन्दी नगर्ने तथा नेताहरूलाई धम्की नदिँदासम्म स्वार्थ पूरा नहुने प्रवृत्तिको पनि बढोत्तरी छ । १४ फागुन ०७५ मा स्ववियु निर्वाचन तयारी गरेका त्रिवि पदाधिकारीलाई प्रधानमन्त्री केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाले तगारो लगाइदिए । २ फागुन ०७३ मा शिक्षाध्यक्ष सुधा त्रिपाठीले प्रयोग गर्ने बा२च ५६६० नम्बरको गाडी ललितपुरको यूएन पार्कनजिक आगजनी गरेर विद्यार्थीले स्ववियु निर्वाचन रोकेका थिए ।
विश्लेषक झलक सुवेदी पछिल्ला दिन विद्यार्थी नेताहरूमा राजनीतिक बहस, दर्शन, इतिहासको अन्वेषण र सामाजिक न्यायको पक्षमा हुने गम्भीर बहसभन्दा पनि सत्ताको नजिक रहने प्रवृत्ति हाबी भएको बताउँछन् । भन्छन्, “विश्वव्यापी रूपमै विद्यार्थी आन्दोलन शिथिल छ, तर नेपालको विद्यार्थी आन्दोलन सत्ताको निकटताले झन् कमजोर भइरहेको छ ।”
बौद्धिक विमर्शको थलो विश्वविद्यालयका पदाधिकारी, अध्यापक र विद्यार्थी भुत्ते बन्दै गएका छन् । विचलित र एजेन्डा गुमाउँदै गएको विद्यार्थी आन्दोलनबाट उत्पादित नेताले नेतृत्व गर्ने भावी नेपाल स्वाभाविक रूपमा निम्छरो हुनेछ ।
पत्रकार योगेश ढकालले नेपाल साप्ताहिकमा लेखेको यो साभार गरिएको हो