राजनीति
जनकपुरधाम – २ नम्बर प्रदेशमा प्रश्नपत्र बाहिरिँदा सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएपछि तनाव उत्पन्न भएको छ ।
प्रश्नपत्र सुरक्षित राख्न नसकेको र परीक्षा स्थगित गरिएको विरोधमा विद्यार्थी आन्दोलित भएका छन् । शनिवार प्रदेशका विभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ । प्रदेशका विभिन्न जिल्लास्थित राजमार्गमा विद्यार्थी सडकमा उत्रिएका छन् ।
आन्दोलनरत बिद्यार्थीले प्रदेश सरकारका राज्यमन्त्री चढेको गाडीमा तोडफोड गरेका छन् । धनुषाको सपहीमा प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रराय यादव चढेको गाडीमा ढुंगामुढा गरिएको छ । ढुंगामुढाबाट राज्यमन्त्री यादव चढेको गाडीको सिसा फुटेको राज्यमन्त्री यादवले बताए ।
‘संघीय समाजवादी फोरम नेपालको भातृ संगठन समाजवादी युवा फोरमको वीरगञ्जमा भइरहेको बैठकमा भाग लिन गइरहेका बेला आन्दोलनरत विद्यार्थीले ढुंगामुढा गरेका हुन।
प्रश्नपत्र बाहिरिएपछि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शुक्रवार साँझ पत्रकार सम्मेलन गर्दै २ नम्बर प्रदेशमा बाँकी रहेका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको जनाएका थिए ।
विद्यार्थीहरुको प्रदर्शनका कारण बिहान ७ बजेदेखि नै राजमार्ग अवरुद्ध छ । प्रहरीले प्रदर्शनकारीलाई हटाई अवरुद्ध राजमार्ग खोल्ने प्रयास गरेपछि बाराको जीतपुर सिमरा उपमहानगरपालिका-७ जीतपुरमा झडप भएको हो ।
प्रदर्शनकारी विद्यार्थीलाई नियन्त्रणमा लिन बारा प्रहरीले अश्रुग्यासका साथै हवाई फायरसमेत गरेको छ । विद्यार्थीले रोकि राखेको गाडीमा आगजनी गर्न थालेपछि हवाई फायर गरेको हो । प्रदर्शनमा उत्रिएका विद्यार्थीको समूहले प्रहरीको ना १ झ ७१२ नम्बको भ्यानमा आगजनी गरेका थिए ।
दुई घण्टादेखि निरन्तर झडप भइरहेको बताइएको छ । झडपका क्रममा आधा दर्जन जति विद्यार्थी र एक प्रहरी घाइते भएका छन् ।
जारी एसईई परीक्षा अन्तर्गत प्रदेश २ मा सञ्चालित परीक्षामा विज्ञान, सामाजिक, स्वास्थ्य तथा जनसंख्या विषयको प्रश्नपत्र बाहिरिएपछि शुक्रबार शिक्षामन्त्री गिरिराजमणी पोखरलेलले पत्रकार सम्मेलन गरी सम्पूर्ण परीक्षा स्थगत गर्न निर्देशन दिएका थिए । सोहीको विरोधमा विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् ।