हलिउड अभिनेता निकोलस केजले बिहेको चार दिनमै श्रीमतीसँग डिभोर्स गर्न प्रक्रिया अघि बढाएका छन् ।
निकोलस र एरिका कोइकेबीच मार्च २३ मा लस भेगासमा विवाह भएको थियो । एरिका पेसाले मेकअप आर्टिष्ट हुन् ।
तर चार दिनपछिनै बुधबार निकोलसले डिभोर्सको प्रक्रिया अघि बढाएका हुन् । यो उनको हालसम्मको सबैभन्दा छोटो विवाह हो । यस अघिको उनको सबैभन्दा छोटो विवाह सन् २००२ मा लिसा म्यारी प्रिस्लेसँगको थियो । लिसासँग उनको विवाह १०८ दिन टिकेको थियो ।
टीएमजीका अनुसार विवाहको केही घण्टापछि नै निकोलस र एरिका लास भेगासको होटेल बेलाजियोमा झगडा गरिरहेको देखिएका थिए । प्रत्यक्षदर्शी र फोटोहरुले कोइके ५५ वर्षे अभिनेतामाथि चिल्लाइरहेको देखिन्छिन् ।
यो जोडी सन् २०१८ अप्रिलदेखि सम्बन्धमा थिए ।
केजको हालसम्म चार पटक विवाह भइसकेको छ । उनी सन् १९९५ देखि २००१ सम्म प्याट्रिसिया आरक्वेटसँग विवाहित थिए । त्यसपछि लिसासँग विवाह गरेको उनले तेस्रो वैवाह एलिस किमसँग गरेका थिए । त्यो सन् २००४ देखि २०१६ सम्म टिक्यो ।
यसबाहेक विवाह नगरी लामो समय उनकी प्रेमिका रहेकी क्रिस्टिना फुल्टोउनबाट उनको एक छोरा छ । वेस्टन कोपाला केज हाल २८ वर्षका भए ।
केजले मुन–स्ट्रक, नेसनल ट्रजर, घोष्ट राइडरजस्ता धेरै ब्लकबस्टर फिल्ममा अभिनय गरिसकेका छन् । अगिल्लो वर्ष उनले आवाज दिएको ‘स्पाइडरम्यान ः इन्टू द स्पाइडर–भर्स’ले एनिमेसन विधामा ओस्कार जितेको थियो ।