logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

प्रमुख दलकै कारण राजा फर्किने खतरा बढ्योः अध्यक्ष केसी


  • राजनीति
  • शुक्रबार, चैत्र २२ २०७५

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख दलहरुको असफलता र अकर्मण्यताका कारण राजा फर्किने खतरा रहेको बताएका छन्।

रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘देशमा राजा फर्काउने खेल भइरहेको छ। सयौं राजा पाल्नुभन्दा एउटै राजा भए हुन्थ्यो भन्ने जनतामा परिसकेको छ।’ कांग्रेस महामन्त्री शशांक कोइरालाले हिन्दूराष्ट्रको कुरा उठाउनु र महासमिति बैठकमा हिन्दूराष्ट्रको माग गर्नुले राजा आउने खतरा आफूले देखेको उनले बताए। उनले भने,‘हिन्दू राज्य भनेपछि यसको राज गर्ने त राजाले नै हो।’

मुलुकका लागि संघीयता घाँडो भएको पनि उनको टिप्पणी छ। उनले भने,‘संघीयता खारेज गरिएन भने यसले मुलुकलाई खारेजी गर्छ।’ नेपालका ठूला दलहरुले संघीयता आफै नबोकेको बरु विदेशीहरुले बोकाएको भारी बोकिरहेको उनको भनाइ छ।

फरक प्रसंगमा उनले संसदमा प्रस्तुत नागरिकता विधेयक तत्काल खारेज नगरे राष्ट्रियता नै खतरामा पर्ने बताए। अध्यक्ष केसीले सदनमा प्रस्तुत विधेयक तत्काल खारेज नगरे नेपालको अस्तित्व नै समाप्त हुने खतरा रहेको बताए।

उनले भने,‘नागरिकता विधेयक सदनमा छलफलकै क्रममा छ। तर मन्त्रिपरिषदको बैठकले देशभरिका जिल्ला प्रशासन कार्यालयलाई अंगीकृत नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन सर्कुलर जारी गरेको छ। यो अत्यन्तै गम्भिर र गलत कुरा हो। तत्काल खारेज गर्नुपर्छ।’

संसदबाट विधेयक पारित हुन बाँकी रहेको अवस्थामा सरकारले यसरी ‘सर्कुलर’ जारी गर्नु अत्यन्तै गम्भिर रहेकाले आफ्नो पार्टीको आपत्ति रहेको उनले बताए। उनले विधेयकले नेपालमा जन्मिएका बास्तविक नागरिकहरुलाई नागरिकता दिनबाट बञ्चित गराइने र विदेशबाट आएकाहरुलाई नागरिकता दिने बाटो खोलिदिएको आरोप लगाए।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हालै तराईमा पुगेर नागरिकता विद्येयकबारे गलत टिप्पणी गरेको भन्दै उनले आपत्ति जनाए। उनले भने,‘यस्तो खालको विधेयक पारित भयो भने हामी मूल नेपालीहरु अल्पमतमा पर्छौं, र विदेशबाट आएका आगन्तुकहरु बहुमतमा पर्ने निश्चित छ।’

नेपालमा कांग्रेस, एमाले, माओवादी र राप्रपा जसको नेतृत्वमा सरकार बनेपनि सबैले विदेशीहरुलाई नागरिकता दिने बाटो खोलिदिएको पनि केसीले आरोप लगाए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार