राजनीति
काठमाडौं- देशभक्त जनगणतान्त्रिक मोर्चा प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष सीपी गजुरेलले ओली दहाल गथबन्धनको नेपाल कम्युनिस्ट पार्टी बिग्रेको अन्डा भएको आरोप लगाएका छन्। गजुरेलले यस्तो अण्डा सबै मिलेर मिल्काउनुपर्ने बेला आइसकेको बताए।
सबैले पार्टीलाई साथ दिन आह्वान गर्दै गजुरेलले यस्तो अण्डा सबै मिलेर मिल्काउनुपर्ने उल्लेख समेत गरे। ‘बिग्रेका अण्डा फाल्नु पर्छ। नजिक फालेर हुन्न। आउनुस टाढा मिल्काउँ,’ उनले भने।
उनले प्रधानमन्त्री ओलीको नामै तोकेर सरकारबाट हटाउनुपर्ने बेला आइसकेको बताए। ‘प्रचण्ड र ओलीको समाजवाद त शिक्षा स्वास्थ्यमा माफियाकरण रहेछ। अब ओलीलाई हटाउन पर्छ। राजालाई त हटाईयो ओलीलाई सजिलै हटाउन सकिन्छ। ओलीमात्र होईन यो राज्यव्यवस्था नै बदल्छौँ। यही व्यवस्था रहिरहे ओलीहरुले यसै गरी लुट मच्चाइरहन्छ,’ गजुरेलले भने।
भने, ‘अहिलेको सरकारमा रहेको दल नेकपा पनि कम्युनिस्ट भए अब राप्रपा र काँग्रेसलाई पनि कम्युनिस्ट भने भयो। आफूलाई डबल नेकपा राख्या छ। अनि अर्को नेकपालाई यस्तो विश्वमै कही छ?’कम्युनिस्टको नाममा नेकपाले इज्जत फालेको उनको आरोप थियो।
अहिले नेकपाको सरकार भएकै कारण देशको अवस्था तहसनहस भएको उनको आरोप थियो। त्यसैगरी उनले सरकारले संस्थागत मानव तस्करी गरेकोसमेत आरोप लगाए। भने, ‘सरकारले मानव तस्करिलाई संस्थागत गरेको छ। सरकारले मानव तस्करिका लागि मन्त्री नै भर्ती गरेको छ।’
उनले थपे, ‘अहिलेको राज्यको अवस्थाको जिम्मेवार ओली सरकार हो। ओली सरकार मात्र होईन यो राज्य व्यवस्था हो। हामीले यसको विकल्प लिएर आएका छौँ।लोकतान्त्रिक गणतन्त्र केही प्रगतिशील भए पनि अब नेपालको विकल्प संघीय जनगणतन्त्र भएको गजुरेलको तर्क थियो। ‘यो लोकतान्त्रिक गणतन्त्रमा झुलेर हामी बस्दैनौँ। अब जनगणतन्त्रको संघर्षको उद्घोष गर्छौ,’ गजुरेलले भने।
जनयुद्ध विजय नजिक पुग्न लाग्दा नेतृत्वले गद्दारी गरेकाले पराजित भएको उनको भनाई थियो।
सीके राउतसँग सहमति गरेर राष्ट्रघात गरेको उल्लेख गर्दै उनले सीके राउतले नेपाललाई कहिल्यै आफ्नो देश नभनेको आरोप लगाए।