logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

विप्लव माथिको प्रतिबन्ध : ओली जीले झापा विद्रोह सम्झनुस, प्रचण्ड जीले जनयुद्ध -मोहन वैद्य ‘किरण’

आवश्यक परे फेरि हतियार उठाउने उद्घोष


  • विधुर ढकाल
  • आइतबार, चैत्र २४ २०७५

काठमाडौं- नेकपा (क्रान्तिकारी)का महासचिव मोहन वैद्य ‘किरण’ले आवश्यक परे फेरि हतियार उठाउने उद्घोष गरेका छन्। पार्टी निकट देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) नेपालको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले यस्तो उद्घोष गरेका हुन्।

सत्ता बाहिर रहेका जनवादी गणतन्त्र पक्षधर कम्युनिस्टहरु,’ किरणले अगाडि भने, ‘हामी मिल्यौ भने यो व्यवस्था ढाल्न सकिन्छ। आन्दोलन कुराले मात्र हुन्न आवश्यक परे बन्दुक उठाउनुपर्छ। उनीहरु (शासक)ले बन्दुक राख्न पाउने जनताले राख्न नपाउने भन्ने हुन्छ? आवश्यक परे जनआन्दोन, जनविद्रोह र सशस्त्र विद्रोहका लागि तयार हुनुपर्छ।’

उनले सत्ता बिना केही सम्भव नहुने भन्दै सत्ताका लागि संघर्षको प्रक्रिया अगाडि बढेको उद्घोषसमेत गरे। ‘अब सत्ता बिना अरु केही काम छैन। सत्ता कसको जनताको की प्रतिक्रियावादीको? भन्ने प्रश्न मुलभूत रुपमा हो। जनताको सत्ता स्थापनाका लागि संघर्ष आवश्यक छ,’ उनले भने।

महासचिव किरणले अहिलेको सरकार कम्यनिस्ट सरकार नभएको र कम्युनिस्टको बदनाम गर्ने सरकार भएको बताए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारालाई ‘लफ्फाजी’को संज्ञा दिए।

‘ओलीजीले समृद्ध नेपाल सुखी नेपालीको लफ्फाजी दिइरहनु भएको छ। के सम्भव छ समृद्ध नेपाल सुखी नेपालीको नारा?’ उनले प्रश्न गरे, ‘हाम्रा उब्जाउ जमिन बाँझो राखेर विदेशबाट अन्न आयात गरेर, हाम्रा रोजगार युवालाई विदेश पठाएर, नेपाली नदी नाला विदेशीलाई वेचेर के समृद्धि आउला?’

उनले नेपालमा विदेशी लगानीको नाममा विस्तारवाद भित्राएको आरोपसमेत लगाए।

‘के हो लगानीको लागि विदेशी गुहारेको? नेपालको विकास नेपालीको लगानी हुनुपर्छ। के नेपालीले कर्णाली बनाउन सक्दैनन्?,’ उनले प्रश्न गरे।

महासचिव किरणले भारतीय विस्तारबादको साहरामा नेपाल प्रवेश गर्ने अमेरिकी साम्राज्यवाद अहिले सिधै नेपाल पस्न थालेकोसमेत बताए।

उनले इन्डो प्यासिफिक रणनीति अनुसार नेपालमा अमेरिकाले खेल्न थालेकोसमेत बताए। यसैको परिणाम स्वरुप सिके राउतसँगको सहमति यसैको परिणाम भएको उनको आरोप थियो।

उनले रेसम चौधरीलाई मिथ्या आरोप लगाएर जेल हालिएकोसमेत आरोप लगाए। उनले राजनीतिक मुद्दालाई अपराधिक मुद्दा बनाएर जेल हालिएको आरोप लगाए।

विप्लव माथिको प्रतिबन्ध: ओली जीले झापा विद्रोह सम्झनुस, प्रचण्ड जीले जनयुद्ध

यसैबीच किरणले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि सरकारले लगाएको प्रतिबन्धको विरोध गरे। उनले कम्युनिस्ट नामको सरकारले कम्युनिस्टमाथि प्रतिबन्ध लगाएको भन्दै आफ्नो विगत हेर्न सुझाव दिए।

‘एक पटक ओलीजीले २८ सालको झापा विद्रोह सम्झनुस। त्यतिवेला सरकारले उहाँहरुलाई त्यही गर्‍या होइन। प्रचण्ड जीले ५२ सालको जनयुद्ध सम्झनुस उहाँलाई पनि सरकारले त्यही गर्‍या होइन्,’ उनले भने।

विधुर ढकालले पहिलो पोष्टमा लेखेका छन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार