राजनीति
नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको तयारी भइरहँदा माओवादी केन्द्रका प्रभावशाली नेता गोपाल किराँतीले एकता स्वीकार नगर्ने स्पष्ट गरेका छन् ।
रातोपाटीसँग लामो कुरा गर्दै नेता किराँतीले घोर दक्षिणपन्थी एमालेसँग पार्टी एकता गर्नु भनेको माओवादी पार्टी र आन्दोलनलाई त्रिशुली नदीमा लगेर बिसर्जन गर्ने षड्यन्त्र भएको टिप्पणी गरे ।
सोमवार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको शीर्ष नेताहरुको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत्त बाम एकताका लागि एमालेसँग पार्टी एकता गर्नुको प्रस्ताव अघि सारेका थिए । सात बुँदामा प्रस्तुत गरिएको पार्टी एकता प्रस्तावमा आपत्ति जनाउँदै किराँतीले माओवादी आन्दोलनलाई विसर्जन हुन नदिन आफूले माओवादी केन्द्रको नेतृत्व गर्ने स्पष्ट पारे ।
‘वर्गीय, जातीय, क्षेत्री, महिला उत्पीडन विरोधी आन्दोलनलाई अगाडि बढाउन हामी मिलेर माओवादी केन्द्र चलाउँछौं’, किराँतीले भने, ‘माक्र्सवाद, लेनिनवाद, माओवादको विज्ञानलाई पथप्रदर्शक सिद्धान्त मान्छौँ र महान जनयुद्धका शहीदहरुको सपना पूरा गर्छौैं ।’
किराँतीका अनुसार पार्टी बैठकमा प्रचण्डले एमालेका साथीहरुले एमाले संकटमा पर्योक्स्म भन्दै गुनासो गरेको हुनाले र देशको वामपन्थी आन्दोलनलाई जोगाउन पनि पार्टी एकता गर्नु परेको अध्यक्षले उल्लेख गरेको बताए ।
प्रचण्डको प्रस्तावमा टिप्पणी गर्दै किराँतीले भने– ‘यहाँ प्रश्न के उठ्छ भने संंकट माओवादीको हो कि एमालेको ? माओवादीले एमालेको संकट हल गर्ने होइन ।’
सोमबारको बैठकमा सहभागि भएर विराटनगर तर्फ लागेका किराँतीले रातोपाटीसँग कुरा गर्दै पटक पटक एमालेसँगको एकता माओवादी आन्दोलनलाई त्रिशुलीमा विसर्जन गर्ने षडयन्त्र भएको बताए । त्यसैले माओवादी आन्दोलनलाई अगाडि बढाउने जिम्मेवारी भनेको क्रान्तिकारीहरुकै हो ।