logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

मोबाइलबाटै चिट चोरेको आरोपमा सात जना एसइई परीक्षार्थी र एक शिक्षक पक्राउ


  • रासस
  • मंगलबार, चैत्र २६ २०७५

सप्तरी- सप्तरीमा मोबाइलबाटै चिट चोरेको आरोपमा सात जना एसइई परीक्षार्थी र एक शिक्षक आज पक्राउ परेका छन् ।

मोबाइलबाट उत्तर सारेको आरोपमा शम्भुनाथ नगरपालिकास्थित बुद्धिलाल विद्या मुनर मावि भगवतपुर बडहरी केन्द्रबाट परीक्षा दिइरहेको पाँच जना परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा बुझाएको केन्द्राध्यक्ष उमानाथ यादवले जानकारी दिएका छन् ।

केन्द्राध्यक्ष यादवका अनुसार उनीहरुको आजको परीक्षा रद्द भएको छ ।

बोदे बर्साइन नगरपालिकास्थित चन्द्र्रा मावि केन्द्र र विष्णुपुर गाउँपालिकास्थित जनता मावि मलेकपुर खुरहुरियाबाट एक-एक परीक्षार्थी पक्राउ परेको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रमेश दाहालले बताए ।

मलेकपुर केन्द्रबाट पक्राउ परेका परीक्षार्थीको मोबाइल चेकजाँच गर्दा उनलाई इमोमार्फत मोबाइलबाटै उत्तर पठाउने एक निजी विद्यालयका गणितका शिक्षक मो। मुख्तारसमेत पक्राउ परेका छन् ।

मोबाइल प्रयोग गरी इमो, वाट्सअप, भाइबर र फेसबुक चाट म्यासेञ्जरको माध्यमबाट प्रश्नपत्र बाहिर पठाउने र सोही माध्यमबाट उत्तरहरु मगाउने गरिएको थियो ।

मोबाइलबाट चिट चोर्न सुविधा दिएको भन्दै यसअघि माध्यमिक शिक्षा परीक्षा समन्वय समिति सप्तरीले कमलेश्वरी किसुन झौलाई मावि बनरझुला केन्द्रका केन्द्राध्यक्ष, सह–केन्द्राध्यक्ष, निरीक्षक र कार्यालय सहायक गरी सात जनालाई शिक्षा ऐनअनुसार कारवाही गर्दै जिम्मेवारीबाट हटाएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार