logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

एनसेल छली प्रकरण खेल : कोको छन ? हेर्नुस …….यसरी लुटेछन


  • राजनीति
  • बुधबार, चैत्र २७ २०७५

एनसेलको लाभकर छली प्रकरणमा सर्वोच्च अदालतले माघ २३ गते गरेको फैसलाको पूर्णपाठ जारी गरेको छ। सर्वोच्चले आफ्नो फैसलामा तीन महिनाभित्र कर असुल गर्न भनेको छ। एनसेलले कर नतिरेमा उसले लाभांस लैजान र शेयर बिक्री गर्नसमेत रोक लगाएको छसर्वोच्चको यो आदेशले एनसेल बाध्य भएर नेपालमा कारोबार गरिराख्न कर बुझाउनुपर्ने भएको छ।आजको पूर्णपाठपछि एनसेलको ८० प्रतिशत शेयर खरिद बिक्रीको खेल समाप्त भएको छ

कर छलीको प्रकरण २०५८ असार ७ गतेदेखि नै सुरु भएको थियो। एक कम्पनीबाट अर्कोमा सेयर स्थानान्तरण गर्ने र त्यसबापतको लाभकर नतिर्ने लामो समयदेखिको खेल भएको थियो

नेपाल लाइभलाई प्राप्त तथ्यांक अनुसार, ०५८ देखि ०७२ सम्ममा एनसेलको सेयर १२ पटक किनबेच भएको थियो।
०५८ मा एक पटक, ०६१ मा तीन पटक, ०६२ मा एक पटक, ०६३ मा दुई पटक ०६४, ०६५ र ०६७ मा एकरएक पटक सेयर खरिदबिक्री गरिएको देखिन्छ। यस्तै, ०६८ मा दुई पटक र ०७२ मा एक पटक सेयर किनबेच भएको छ

०५८ साल असार ७ गतेसम्म स्पाइस नेपाल प्रालिको नाममा एनसेल (तत्कालीन समयमा मेरो मोबाइल) को शतप्रतिशत सेयर थियो। जसको सेयर मूल्य तत्कालीन समयमा १ करोड रुपैयाँ थियो।

स्पाइसले ५५ प्रतिशत सेयर भारतीय कम्पनी मोदी कर्प लिमिटेडलाई बिक्री गरेको थियो। त्यस्तै, अर्को भारतीय कम्पनी स्पाइस सेल लिमिटेडको नाममा ५ प्रतिशत र खेतान ग्रुप लिमिटेडको नाममा ४० प्रतिशत रहेको तथ्यांक देखिन्छ।

०६१ मंसिरमा एनसेलको सेयर राज ग्रुप नेपालको नाममा ५५ प्रतिशत स्थानान्तरण भएको देखिन्छ, जुन मोदी कर्पले बिक्री गरेको हो। पछि राज ग्रुप नेपाल समूहले खेतान समूहको ४० प्रतिशत सेयर पनि खरिद गरेको देखाइएको छ। बाँकी ५ प्रतिशत भने स्पाइस सेल भारतकै नाममा रहेको पाइन्छ

०६१ मंसिरमै साइप्रसमा रहेको डाल्टो ट्रेड कम्पनीले ५७ प्रतिशत सेयर खरिद गरेको देखिन्छ। उक्त सेयरको बिक्रेता भारतीय कम्पनी राज ग्रुप हो। त्यसपछि &न्ब्स्प्;सो ग्रुपसँग ३८ प्रतिशत सेयर बाँकी थियो। उक्त सेयरको क्यापिटल मूल्य १० करोड रुपैयाँ निर्धारण गरिएको थियो। यसअघि सोही सेयरको मूल्य एक करोड रुपैयाँ मात्र देखाइएको थियो। बाँकी ५ प्रतिशत सेयर ०६१ मंसिरसम्म भारतीय कम्पनी स्पाइस सेलकै नाममा रहेको देखिन्छ।

०६१ चैतमा एनसेलको सेयर फेरि खरिद बिक्री भएको थियो। योसँगै एकै वर्षमा एनसेलको तेस्रो पटक सेयरको किनबेच गरिएको थियो। चैतमा टेलियासोनेरा नर्वेको वेस्ट इन्डिजमा रहेको रेनोल्ड्स होल्डिङ कम्पनी सेयर खरिद गर्दै एनसेलको साझेदारको रुपमा भित्रिएको थियो। रेनोल्ड्स होल्डिङले डाल्टो ट्रेडसँग ४० प्रतिशत सेयर खरिद गरेको देखिन्छ। होल्डिङलाई बिक्री गरेपछि डाल्टो ट्रेडले आफूसँग १७ प्रतिशत सेयर राखेको थियो। बाँकी सेयरमा राज ग्रुपको ३८ र स्पाइस सेलको ५ प्रतिशत हिस्सा थियो।

०६२ फागुन २२ गते पुनः एनसेलको सेयर खरिदबिक्री भएको थियो। फागुनमा रेनोल्ड्स होल्डिङसँग ५८ दशमलब ६, डाल्टो ट्रेड साइप्रससँग १७, राज गु्रपसँग १९ दशमलब ४ र स्पाइस सेल भारतसँग ५ प्रतिशत सेयर रहेको देखिन्छ। राज गु्रपले १८ दशमलब ६ प्रतिशत सेयर बिक्री गरेसँगै रेनोल्ड्स होल्डिङको हिस्सा ५८ दशमलब ६ प्रतिशत पुगेको हो

तीन महिनापछि ०६३ जेठ २३ गते पुनः एनसेलको सेयर किनबेच भएको देखिन्छ। त्यसक्रममा एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोको नाममा रहेको सिनर्जी नेपाल नामक नयाँ कम्पनी एनसेलमा भित्रिएको थियो। जेठको तथ्यांकमा एनसेलको सेयर साझेदारको रुपमा ५ वटा कम्पनी रहेको देखिन्छ। रेनोल्ड्ससँग ५८ दशमलब ६, डाल्टो ट्रेडसँग १७, राज ग्रुपसँग ११ दशमलब ४, स्पाइस सेलसँग ५ र नयाँ भित्रिएको कम्पनी सिनर्जीसँग ८ प्रतिशत सेयर थियो।

सोही वर्षको असोजमा पनि एनसेलको हिस्सेदारीमा परिवर्तन हुनपुग्यो। असोजमा राज ग्रुप आफ्नो सम्पूर्ण सेयर बेचेर एनसेलबाट बाहिरियो। राजको नाममा रहेको ११ दशमलब ४ प्रतिशत सेयर सिनर्जीले खरिद गरेको देखिन्छ। उक्त मितिसम्म रेनोल्ड्ससँग ५८ दशमलब ६, डेल्टोसँग १७, स्पाइस सेलसँग ५ र सिनर्जीसँग १९ दशमलब ४ प्रतिशत सेयर थियो

उक्त कारोबार भएको एक वर्षपछि ०६४ मंसिरमा सेयरको अर्को कारोबार भएको देखिन्छ। उक्त समयमा स्पाइस सेलको सेयर जफत भएको भनिएको छ। स्पाइस सेलको क्रमश १ दशमलब ४, ३ र शून्य दशमलब ६ प्रतिशत सेयर जफत भएको नेपाल लाइभलाई प्राप्त कम्पनीको तथ्यांकमा देखिन्छ। स्पाइस सेलको सेयर जफतपछि एनसेलको सेयर तीन वटा कम्पनीको स्वामित्वमा आएको हो। यस वर्षको मंसिरमा रेनोल्ड्ससँग ६०, डाल्टो ट्रेडसँग २० र सिनर्जीसँग २० प्रतिशत सेयर हुन पुगेको थियो।

०६५ साउन १ गते तीन वटा कम्पनीमा रहेको एनसेलको सेयर दुई वटा कम्पनीमा मात्र रहेको देखिन्छ। साउनमा रेनोल्ड्ससँग ८० प्रतिशत र सिनर्जीसँग २० प्रतिशत सेयर रहेको तथ्यांक छ। रेनोल्ड्सले डेल्टाको २० प्रतिशत हिस्सा खरिद गरी आफूलाई ८० प्रतिशतको मालिक बनाएपछि यस्तो अनुपात बनेको हो।

यहाँ मेरो मोबाइलब्रान्डमा सञ्चालन भएको कम्पनी ०६७ कात्तिकदेखि एनसेलमा रुपान्तरण भएको थियो। उक्त कम्पनीको सेयर कारोबारका क्रममा एनआरएनका संस्थापक अध्यक्ष महतोले आफ्नै नाममा स्थानान्तरण गरेको देखिन्छ। त्यतिबेला महतोले आफ्नै कम्पनी सिनर्जीको नाममा रहेको २० प्रतिशत सेयर आफ्नो नाममा सारेका थिए।

०६८ चैत १६ गते महतोले आफ्नो नाममा रहेको सेयर निरज गोविन्द श्रेष्ठलाई बिक्री गरेका थिए। ०७२ जेठ १९ गतेसम्म उक्त सेयर निरज गोविन्दले सुनिभेरा क्यापिटल भेन्चरलाई बिक्री गरेका थिए। सतिष आचार्यकी श्रीमती भावना सिंहको नाममा उक्त सेयर आएको थियो।

यता, रेनोल्ड्सले आफ्नो सेयर हिस्सा एक्जियाटा कम्पनीलाई बिक्री गरेको थियो। एक्जियाटाले नेपालमा आफ्नो उपस्थिति कायम राख्न भावना सिंहको नाममा सेयर राखेको थियो। पावर ब्रोकर सतिष आचार्यलाई प्रयोग गरी नेपालमा राजनीतिक तहसम्म पहुँच कायम राख्न एक्जियाटाले यस्तो गरेको थियो।

सेयर किनबेच प्रकरणमा व्यवसायी महतो विभिन्न नाममा जोडिएको तथ्यांकले प्रष्ट देखाएको छ। कम्पनीमा सेयर स्थानान्तरण गर्दा सरकारलाई तिर्नुपर्ने लाभकर २० करोड रुपैयाँको दायित्वबाट बच्न महतोले सर्वोच्च अदालतमा आफूले सेयर बिक्री गरेका बिक्रेता श्रेष्ठमार्फत मुद्दा लडेका थिए। ०७२ मा बिक्री भएको सेयरको लाभकर तत्कालीन समयमै ठूला करदाताको कार्यालयले निर्धारण गरी असुल गर्ने प्रक्रिया नथाल्दा यो प्रकरण अदालत पुगेको देखिन्छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार