राजनीति
काठमाण्डाै – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई अपमान गरेको भन्दै नेता कृष्णप्रसाद सिटौलाले पार्टी गुनासो गर्नु भएको छ ।पार्टीभित्र विभाग गठनमा समेत भागबन्डा हुने गरेको उल्लेख गर्दै नेता सिटौलाले त्यसमा पनि आफूलाई अपमान गर्ने काम भैरहेको बताउनु भयो ।
मंगलबार काठमाण्डाैमा जनआन्दोलन दिवसको अवसर पारेर आयोजित एक कार्यक्रममा बोल्दै उहाँले इमान्दार, सक्षम व्यक्तिहरुलाई किनारामा राखेर आफ्नो पकेटका मान्छेलाई जिम्मेवारी दिने काम पार्टी नेतृत्वले गरेपछि पार्टीभित्र कसरी एकता हुन्छ ? भनि प्रश्न पनि गर्नु भयो ।
नेता सिटौलाले युवाहरु सक्षम र इमान्दार भएपनि पार्टी नेतृत्वले सधैं किनारामा पुर्याउने गरेको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो । उहाँले संवैधानिक आयोगहरुको नियुक्तिमा सरकारले संविधान र कानुन मिच्दा पनि त्यसको विरोधमा बोल्न नसकेको भन्दै सभापति देउवाको चर्को आलोचना पनि गर्नुभयो ।
नेता सिटौलाले पार्टीभित्र योग्यता र क्षमताको आधारमा जिम्मेवारी नदिएकै कारण पार्टी आज कमजोर अवस्थामा पुगेको पनि स्पष्ट पार्नु भयो ।