सन् १९१७ मा लेनिनको नेतृत्वमा रूसमा समाजवादी क्रान्ति भएको थियो। त्यस क्रान्तिले करोडौं रूसी जनतालाई जहानियाँ जारको शोषणयुक्त शासन तथा फ्रान्स, जर्मनी र ब्रिटेनको साम्राज्यवादी अत्याचारबाट मुक्ति दिलाएको थियो। आज सय वर्ष बितिसक्दा पनि जनताको अजेय शक्तिमा आधारित त्यो क्रान्तिको महत्वव संसारभरकै शोषितपीडित जनताका लागि उत्तिकै छ। किनकि त्यस क्रान्तिले सर्वप्रथम मानिसबाट मानिसको शोषण हुने शासन पद्धतिमाथि ठूलो धक्का दिएको थियो ।
त्यो क्रान्ति सम्पन्न भएको २५ वर्ष नपुग्दै सोभियत संघको सेनाले त्यसअघि अजेय मानिएको हिटलर नेतृत्वको जर्मनीको फासीवादी सेनालाई परास्त गरी पूर्वीयुरोपका विभिन्न देशमा जनतान्त्रिक गणतन्त्रको लागि बाटो प्रशस्त गरिदिएको थियो।
त्यसैगरी सो क्रान्तिको ३० वर्षपछि सोभियत संघको सहयोगमा चीनको कम्युनिस्ट पार्टीले राष्ट्रिय जनवादी क्रान्ति सम्पन्न गरी साम्राज्यवादी शक्तिहरूद्वारा समर्थित चाङ काइ सेकको पार्टीलाई पराजित गरेको थियो। सोभियत नेता लेनिनले सन् १८७१ को पेरिस कम्युनबाट सिक्दै क्रान्तिलाई पूर्णता दिएका थिए।
भनिन्छ- जब अक्टोबर समाजवादी क्रान्ति पेरिस कम्युनभन्दा धेरै समयसम्म टिक्न सक्यो, उनी खुसीले नाचेका थिए। तर लेनिनका उत्तराधिकारी स्टालिनको मृत्युपछि रूसमा समाजवादी क्रान्तिलाई भत्काउने कार्यहरू भए र आजसम्म आइपुग्दा हिजोको सोभियत संघको ठाँउमा रूसमा एउटा पुँजीवादी व्यवस्था पुनस्र्थापित भएको छ। तैपनि सन् १९१७ को समाजवादी क्रान्तिले ल्याएका उपलब्धिहरूको कारणले उक्त क्रान्तिको महत्वव यथावत् छ।
अक्टोबर क्रान्ति तत्कालीन रूसका किसान, सैनिक र श्रमिकहरूको बलमा भएको थियो। त्यहाँका जनता वर्ग संघर्षको लामो प्रक्रियाबाट गुज्रेका थिए र उनीहरूले अनुशासित ढंगबाट बोल्सेभिक पार्टीको नेतृत्वमा आफ्ना क्रियाकलाप अगाडि बढाएका थिए।
प्रथम विश्वयुद्धताकाको दुःखद अनुभव उनीहरूसँग थियो र उनीहरू लेनिन नेतृत्वको बोल्सेभिक पार्टीले मात्र उनीहरूको देशलाई अन्तर्राष्ट्रिय साम्राज्यवाद, सामन्तवाद र अन्तर्राष्ट्रिय पुँजीवादी पद्धतिबाट मुक्त गरी जनतालाई शान्ति, भोजन र जोत्नका लागि जमिन दिन सक्छ भन्नेमा विश्वस्त थिए। त्यही आशाअनुरूप क्रान्तिपछि त्यहाँको बोल्सेभिक पार्टीले जोत्नको लागि जमिन प्रदान गर्यो।
बोल्सेभिक पार्टीका नीतिहरूलाई व्यवहारमा लागू नगरिएको भए क्रान्तिपछिको गृहयुद्धको स्थितिमा त्यहाँ क्रान्तिले सफलता पाउने थिएन। त्यसैगरी अर्को सफलताको कारणको रूपमा रहेको थियो- आत्मनिर्णयको अधिकारसहितका अन्य अधिकार युक्रेन, जर्जियालगायतका देशका जनतालाई दिनु। यसले गर्दा साम्राज्यवादी शक्तिहरूले त्यहाँको अवस्थाको फाइदा उठाए र जतामा फुट ल्याउन सकेनन्।
अहिलेको आणविक हतियारको होडबाजी कुनै देशलाई रक्षा गर्नु अथवा जनतालाई सुख दिनु नभई केही व्यक्ति र तिनले प्रतिनिधित्व गरेको वर्गको हित पूर्ति गर्नको लागि हो। यसले समग्रमा मानव जाति सधैं त्रास र निराशामा बाँचिरहनेछ।
उदाहरणको लागि सन् १९१८ को मध्यतिर अर्थात् अक्टोबर क्रान्ति सफल भएको केही महिनापछि नै पुरानो जार सत्ताका सेनाले ब्रिटेन, फ्रान्स, अमेरिका र जापानसँग मिलेर विदेशी हस्तक्षेप निम्त्याएका थिए तर रसियन कामदार वर्गको अक्टोबर क्रान्तिप्रतिको समर्थनले त्यो हस्तक्षेप विफल हुन पुग्यो।
अक्टोबर क्रान्तिले रूसी साम्राज्यभित्र र बाहिरका देशका जनतालाई शोषण र अत्याचारबाट मुक्त नगरेको भए त्यो क्रान्तिले पूर्णता पाउन सक्ने थिएन। लेनिनको नेतृत्वको बोल्सेभिक पार्टीले जार शासनअन्तर्गत दबिएका राष्ट्रका नागरिकलाई आआफ्नै प्रकारले फल्न फुल्न दिने घोषणा गरेको हुँदा ती राष्ट्रका जनताले आफूखुसी सोभियत समाजवादी गणतन्त्रात्मक संघमा प्रवेश गरे।
त्यही संघको कारणबाट सोभियत युनियनको आर्थिक, सांस्कृतिक र राजनीतिक शक्तिको पनि जग बस्न गयो। सोभियत समाजवादी सत्ताविरोधी देशीविदेशी शक्तिहरूले राष्ट्रलाई गृहयुद्धमा धकेले र करिब ७० लाख जनताको ज्यान गयो। तैपनि अन्त्यमा सोभियत कामदार वर्गको ऐक्यबद्धताले साम्राज्यवादी शक्तिहरू पराजित भए।
त्यही समाजवादी शक्तिको विजयको कारणले द्वितीय विश्वयुद्धमा सोभियत संघले जर्मनीका हिटलरको नेतृत्वको फासीवादविरुद्ध निर्णायक लडाइँ लड्यो।
भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूले त्यतिबेलाको सोभियत संघको प्रशंसा आफ्नो आत्मकथामा गरेका छन् र आफू समाजवादी क्रान्तिबाट धेरै प्रभावित भएको उल्लेख गरेका छन्। त्यति मात्र होइन, द्वितीय विश्वयुद्ध उत्कर्षमा पुगेको बेला सन् १९४२ मा अमेरिकी जनरल डगलस मेक अर्थरले पनि रूसी व्यवस्थाको प्रशंसा गरेका थिए। ‘द ग्रेट कन्स्प्रेसी’ नामक पुस्तकको १३८ पेजमा उनले रसियन सेनाको साहस र वीरतामै मानव जातिको सभ्यताको रक्षाको आशा रहेको बताएका छन्।
अर्थरले आफ्नो जीवनमा धेरै लडाइँ र संघर्षका घटनाहरू अनुभव गरे पनि सोभियत सेनाको जस्तो साहस कहिल्यै नदेखेको बताएका छन्। अहिलेसम्म अपराजित हिटलरको फासीवादलाई सोभियत संघको सहभागिताविना पराजित गर्न नसकिने उनले उल्लेख गरेका छन्।
सोही किताबमा ब्रिटेनका तत्कालीन प्रधानमन्त्री विन्सटन चर्चिलले ‘संसारमा कुनै पनि सेनाले सोभियत सेनाले जस्तो कठिन परिस्थिति झेल्नुनपरेको र त्यसो हुँदाहुँदै पनि सोभियत सेनाले हिटलरको सेनामाथि गरेको आक्रमणले नै संसारलाई फासीबादबाट मुक्त गर्न सकिएको उल्लेख छ।
अक्टोबर क्रान्ति सफल नभएको भए सोभियत संघ या सोभियत सेनाको निर्माण हुने थिएन र द्वितीय विश्वयुद्धमा हिटलरका सेनाले पश्चिमी देशहरूलाई पराजित गर्ने सम्भावना रहन्थ्यो। तर दुःखको कुरा, आज संसारमा अक्टोबर क्रान्तिको महत्ववलाई बेवास्ता गरिएको छ र त्यसको गम्भीर परिणाम मानव जातिले भोग्नुपरेको छ।
शीतयुद्धको समाप्तिपछि संसारमा स्थायी शान्ति हुन्छ भन्ने आशा समाप्त भएको छ।
सामान्यतया रेड अक्टोबरको रूपमा उल्लेख गरिएको छ,