राजनीति
सरकारमा हुँदा आफैंले बनाएका नियम मिचेर नेताहरूले पछुवा गाडी राखेका पाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदले बनाएको सुरक्षा मापदण्ड निर्देशिका मिचेर नेताहरूले सुरक्षा नाममा पछुवा गाडी राखेको पाइएको हो। गाडीसँगै उनीहरूले नियमभन्दा बढी सुरक्षाकर्मी पनि राखेका छन्।
२०७० सालमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले कसले-कति अगुवापछुवा सवारी र सुरक्षाकर्मी राख्न पाउने निर्देशिका बनाएको थियो।
यो मापदण्ड धेरै नेताहरूले उल्लंघन गरेको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो। स्रोतले बताएअनुसार उनीहरूले पछुवा गाडीसँगै नियम र आवश्यकताभन्दा बढी सुरक्षाकर्मी राखेका छन्। यसरी राखिएका सुरक्षाकर्मीलाई नेताहरूले आफ्ना घरायसी काममा प्रयोग गरिरहेको स्रोतको भनाइ छ।
नियमभन्दा बढी सुरक्षाकर्मी लिने सूचीको पहिलो नम्बरमा छन्, पूर्वराजा ज्ञानेन्द्र शाह। उनले तोकिएभन्दा १ सय ११ जना बढी सुरक्षाकर्मी राखेका छन्। शाहलाई त्यति धेरै सुरक्षाकर्मी आवश्यक नरहेको गृह स्रोत बताउँछ।
पूर्वराजापछि धेरै सुरक्षाकर्मी र पछुवा गाडी लिएर हिँड्नेमा पुष्पकमल दाहाल र शेरबहादुर देउवा पर्छन्। नेकपा अध्यक्ष दाहालसँग अगुवापछुवासहित ४८ जना सुरक्षाकर्मी छन्।
गृहको सूचीमा देउवालाई भने कुनै सुरक्षा चुनौती छैन। उनीसँग पछुवा गाडीसहित ४० जनै सुरक्षाकर्मी छन्। यी ४० मध्ये आठ जना देउवा श्रीमती आरजु र छोराको सुरक्षामा खटेका छन्।
गृहले पूर्वप्रधानमन्त्री, पूर्वउपराष्ट्रपति, पूर्वगृहमन्त्री, पूर्वसभामुखसहित करिब ३० नेताका अनावश्यक पछुवा गाडी र सुरक्षाकर्मी तान्न मन्त्रिपरिषदमा दुई महिनाअघि प्रस्ताव पठाएको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो।
तर, आफ्नै नेताका पछुवा गाडी र सुरक्षाकर्मी खोसिने भएपछि सरकारले सो फाइल अगाडि बढाएको छैन।‘प्र
स्रोतका अनुसार पूर्वउपराष्ट्रपति परमानन्द झा र मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीसँग पछुवा गाडीसहित नियमभन्दा एक जना बढी सुरक्षाकर्मी छन्। पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल, माधवकुमार नेपाल, लोकेन्द्रबहादुर चन्दलगायत नेता पछुवासहित घरायसी काममा पनि सुरक्षाकर्मी राख्ने सूचीमा पर्छन्।
नेपालले १२, खनालले ४ र चन्दले ५ जना आवश्यकभन्दा बढी सुरक्षाकर्मी राखेका छन्।पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले ७ जना राखेका छन् भने पूर्वसभामुख ओनसरी घर्तीले पनि १३ जना बढी सुरक्षाकर्मी राखेकी छिन्।
पूर्वगृहमन्त्रीमध्ये कमल थापाले ३, कृष्ण सिटौलाले १६, जनार्दन शर्माले २३, पूर्णबहादुर खड्काले पछुवासहित १४ जना सुरक्षाकर्मी घरमा राखेका छन्। पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले १५, पूर्वगृहमन्त्री भीम रावलले १३, रामचन्द्र पौडेलले १३, बामदेव गौतमले १३, विमलेन्द्र निधिले १३, विजयकुमार गच्छदारले ११ र शक्तिबहादुर बस्नेतले पछुवासहित १३ जना सुरक्षाकर्मी राखेका छन्।शक्ति बस्नेत अहिले वनमन्त्री छन्। तर, गृहमन्त्रीकै हैसियतमा सुरक्षाकर्मी र पछुवा गाडी लिएर हिँड्छन्।
गृह स्रोतका अनुसार पूर्व पदाधिकारीका गाडी र सुरक्षाकर्मी खोस्न सके शान्ति सुरक्षा र सरकारकै प्रगतिमा सघाउ पुग्छ।