पोखरा- चैते दसैँ र रामनवमी पर्व शनिबार देशभर मनाईँदै छ । चैते दसैँ तथा रामनवमी पर्वका अवसरमा बिहानैदेखि देशभरका शक्तिपीठ एवं राममन्दिरमा भक्तजनको घुईँचो छ ।चैत्र नवरात्रसमेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजाआजा एवं दर्शन गरेमा शक्ति प्राप्त हुने धार्मिक विश्वास छ ।
यस वर्ष चैत ३० गते शनिबार चैत्र शुक्ल अष्टमी र नवमी अर्थात् चैतेदशैँ एवं रामनवमी पर्व परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । अष्टमीलाई पूर्वान्ह् र नवमीलाई अपराह्नको समय लिनुपर्ने भएकाले एकैदिन दुवै पर्व परेको हो ।
त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा भगवान श्रीरामको जन्म भएको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ ।
आजका दिन व्रत बसी श्रीरामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा बैकुण्ठ बास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ । यसै विश्वासका आधारमा आज लाखौँ भक्तजन व्रत बसी श्रीरामचन्द्रको पूजा आराधना गर्छन् ।
अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको छैटौँ अवतारका रूपमा जन्मनुभएका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेका थिए । भगवान रामले संसारबाट पापी तथा दुष्ट राक्षसहरूको नाश गरेको र आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिएको रामायणलगायत ग्रन्थमा उल्लेख गरिएको छ ।