राजनीति
भारतमा चुनावको माहोल छ । मानिसहरु पाँच वर्षमा सरकारले गरेको कामको समीक्षा गर्न थालेका छन् । त्यतिबेला नेताहरुले बाँडेको घोषणापत्रको समीक्षा पनि गर्न सुरु गरेका छन् । यस्तै, कन्हैया कुमारको तर्कको पनि भारतीय राजनीति धेरै चर्चा हुन थालेको छ ।
केही दिन अगाडि सामना पत्रिकामा कन्हैयाको बारेमा आएको लेखले उनको चर्चा बढाएको हो । शिव सेनाका नेता सन्जय राउतले उक्त पत्रिकामा कन्हैया कुमारलाई कुनै पनि हालतमा चुनावमा जिताउन नहुने भन्दै सम्पादकीय लेखेका थिए ।
सन्जयले कन्हैयालाई भनेका छन्, ‘उ विष हो, उसलाई हराउन भोटिङ मेसिन विगार्नु पर्ने भए त्यो पनि गर्नुपर्छ ।’ तर, कन्हैयालाई उनले हराउनैपर्छ भन्नुको पछाडि अन्य कारण पनि रहेको भारतीय विश्लेषकहरुले शंका गरेका छन् । यो त अर्को पाटो भयो ।
तर, रोचक कुरा त तीन वर्ष अघि नाम नै नसुनिएका कन्हैया कहाँबाट एकाएक उदाए र यहाँसम्म आइपुगे भन्ने हो । भारतीय मिडियामा कन्हैयाको नाम तीन वर्ष पहिलेमात्रै सुनिएको थियो, त्यतिबेला उनी जवाहरलाल नेहरु विश्व विद्यालयका (जेएनयु) एक विद्यार्थी थिए । र, उनी त्यहाँको छात्र संघको अध्यक्ष थिए ।
सन् २०१६ फेबु्रअरी ९ मा उनले गरेको भाषण र उनी संलग्न भएको आन्दोलनको नाराले गर्दा उनको चर्चा एक्कासी बढायो । जेएनयुका विद्यार्थीले उक्त आन्दोलनमा भारत विखण्डनको नारा लगाएको आरोप लगाइन्छ । त्यसो त त्यो आन्दोलन जेएनयुका विद्यार्थीले गरेका थिए । विद्यार्थी संगठनको नेता भएको हिसाबले उनी पनि कार्यक्रममा सहभागी थिए । त्यसपछि उनीमाथी राष्ट्रद्रोहको आरोप लाग्यो र सँगै उनको चर्चा पनि बढ्यो ।
त्यो बेलामा टिभी च्यानलले विश्वविद्यालयमा राष्ट्रियताविरुद्ध अभियान चलाउने एउटा जत्था नै संलग्न रहेको बताएका थिए । संलग्न सबै भारतलाई विभाजन गर्न लागि परेको आरोप उनीहरुमाथी थियो ।
त्यो समूहमा ओमर खालिद, सैलर आसिद, अमिर बाडसहित कन्हैयाको नाम पनि थियो । हेर्दा यी सबै सामान्य युवा जस्तो देखिन्थे, कुनै पनि तरिकाले उनीहरु असाधारण लाग्दैनथे । उनीहरुको परिवार पनि त्यतिनै साधारण रहेको त्यसपछि थाहा भयो । तर, उनीहरुले गरेको आन्दोलन र उनीहरुले गरेको प्रश्न सामान्य थिएन ।
कन्हैया बिहारको बेगुसराय नामको विकट गाउँका जन्मेका हुन् । उनी एक गरिब मजदुर परिवारका सदस्य हुन् । अहिले पनि उनको परिवार त्यही गाउँमा बस्छ । तर, उनी बेगुसरायबाट संघर्ष गर्दै पट्ना पुगे । त्यहाँ उनले फ्रिज बनाउने टेनिङ गर्न थाले ।
उनलाई त्यतिले पुगेन र लोकसेवा आयोगको परीक्षा दिन दिल्ली पुगे । दिल्ली पुगेपछि मात्रै उनी जेएनयुमा भर्ना भएका हुन् । उनले त्यहाँ अफ्रिकी अध्ययन केन्द्रमा भर्ना भए । उनी विभिन्न कार्यक्रममा भन्ने गर्छन्, ‘म नेल्सन मन्डेलाले अफ्रिकामा गरेको परिवर्तन पढ्न चाहन्थे, पछि त्यसलाई भारतीय समाजमा पनि लागू गर्न सकियोस् ।’ तर, उनको अंग्रेजी राम्रो थिएन ।
पछि अंग्रेजी नजान्नुनै उनको विद्रोहको कारण बन्यो । उनले जेएनयुमा मात्रै होइन, दिल्ली विश्वविद्यालयमा पनि अंग्रेजी जान्ने र नजान्नेको बीचमा विभेद भएको पाए । त्यही विभेदले उनलाई विद्रोही बनायो । त्यसपछि उनी भारतमा समानताको आवाज जोडतोडले उठाए ।
उनलाई आफैंजस्ता विद्यार्थीले जेएनयुमा नेता बनाए र उनी जेएनयु छात्र संघको अध्यक्ष भए । उनको वाककला निकै राम्रो थियो । सटिक तर्क शक्तिले उनलाई त्यहाँ विद्यार्थीहरु माझ लोकप्रिय बनायो । सबै उनको यो कलाको खुलेर तारिफ गर्थे ।
अध्यक्ष भइसकेपछि फेबु्रअरी ९ को उक्त कार्यकमले भने उनलाई निकै चर्चामा ल्यायो । त्यो कार्यक्रमपछि भारतीय गृहमन्त्रीले उनको सम्बन्ध देश बाहिरका आतंकवादीसँग रहेको आरोप लगाए । उनलाई देशद्रोही भन्दै गिरफ्तार गरियो । र भारतकै सबैभन्दा ठूलो ‘तिहाड’ जेलमा राखियो ।
गिरफ्तारपछि अदालत पुर्याइँदा उनीमाथी सार्वजनिक रुपमा नै आक्रमण गरियो । त्यसपछि जेल हालियो । उनी १५ दिनको जेल बसाइपछि जमानतमा रिहा भए । तर, उनीमाथी लागेको देशद्रोहको आरोप अहिलेसम्म पुष्टी भएकै छैन् ।
पछिल्लो समय भाजपा, राष्ट्रिय स्वयंसेवक संघले अहिलेसम्म उनीविरुद्ध नै बोलिरहेका छन् । सारा मिडिया अहिले उनको विरुद्ध छन् । उनी आफैं पनि भन्छन्, ‘अहिले सबै मिडिया हेरेर मानिसहरु धारणा बनाइरहेका छन्, मानिसहरुलाई बुझायो बेलुका टिभी हेरेपछि फेरि जस्ताको तस्तै ।’ मानिसलाई आफूविरुद्ध ह्वाट्सएपमा समेत म्यासेज आउने उनले दाबी गरे ।
यसले भारतीयहरु उनलाई देशको दुस्मन मान्न थालेका छन् र कन्हैयालगायत उनको साथीहरुको सुरक्षा संकटमा परेको छ ।
यसरी आन्दोलमा होमिएका कन्हैया कुमार अहिले भारतीय लोकसभाका उम्मेदवार बनेका छन् । उनी आफू जन्मेको गाउँ बेगुसरायबाटै भारतीय कम्युनिष्ट पार्टीको तर्फबाट चुनावमा उठेका हुन् ।
कन्हैयाविरुद्ध भाजपाका नेता गिरिराज सिंह र संयुक्त गठबन्धनको तर्फबाट तनवीर हसन चुनावी मैदानमा छन् । विहारमा लोकसभावको चुनाव २३ मेमा हुँदै छ ।
कन्हैयामाथि दुई आरोप
लोकसभाको चुनावमा उमे्दवार भएपछि उनलाई दुई प्रमुख आरोप लागेको छ । पहिलो त जेएनयुमा भएको आन्दोलनमा उनको सहभागिताले देशद्रोहीको आरोप लागेको छ ।
त्यसमा प्रष्ट प्रमाण नभेटेरै उनलाई जेलबाट रिहा गरिएको थियो । तर, सामाजिक सन्जाल र मिडियाहरुमा उनीविरुद्धका समचारले सर्वसाधारणले देश टुक्राउन खोजेको आरोप लगाएका छन् ।
भारतीय मिडियाले बेला बेलामा चुनावी सर्वेे भन्दै बेगुसरायका मानिसहरुसँग लिएको प्रतिक्रियामा पनि सर्वसाधारण उनीसँग निकै आक्रोशित रहेको देखिन्छ । तर, युवाहरु माझ उनको सटिक तर्कले राम्रो प्रभाव जमाएको छ ।
यस्तै, चुनावमा उम्मेदवारी दिनु पूर्व पनि उनी भारतको विभिन्न ठाउँको भ्रमण गर्दै धनी र गरिबबीचको असमानता हुनुपर्ने बताउँदै आएका छन् । तर, उनी स्वयं बिहारको उच्च जातिको भएकाले उनले गरिबी र असमानता हटाउने वाचा गर्नु आफैंमा झुट भएको सर्वसाधारणको आरोप छ ।
उनी भूमिहार समुदायका हुन् । बिहारमा भूमिहार समुदायलाई उच्च जातिको मानिन्छ । तर, कन्हैया कुमार आफू समानतावादी भएको भन्दै उक्त आरोप अस्वीकार गर्छन् ।
‘मलाई उच्च जातिको भन्नेले मेरो परिवारको अवस्था हेर्नुस्,’ उनी तर्क गर्छन् । तर सर्वसाधारणहरु दलितहरुले उनलाई किन भोट दिने भन्ने प्रश्न गरिरहेका छन् ।फरकधारबाट साभार