logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

धर्म निरपेक्षता जनयुद्धको माग नभएको दिनानाथ शर्माको खुलासा


  • राजनीति
  • सोमबार, बैशाख २ २०७६

वर्तमान सरकारको नेतृत्व कर्ता दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले धर्मनिरपेक्षता आफूहरुको माग नभएको बताएका छन्।

‘१२ बुँदे सम्झौतापछि हामी सरकारमा आउनु पूर्व नै धर्म निरपेक्षता बनाइयो। त्यतिबेला पनि धर्म निरपेक्षता बनाउने हाम्रो माग थिए। सरकारमा कांग्रेस र तत्कालिन नेकपा एमाले नै थियो। त्यतिवेला त्यो एजेण्डा नै थिएन। को बाट आयो? कहाँबाट आयो? हामीलाई थाहा थिएन। तर, हामीले विरोध गरेनौं। हामी धर्मको विषयमा पहिलेदेखि नै संवेदनशील थियौं,’ उनले भने।

रिपोर्टर्स क्लबले सोमबार गरेको साक्षात्कारमा उनले धर्मलाई बोकेर हिँड्न नहुनेपनि तर्क गरे। उनले भने,‘धर्म बोकेर हिँड्दा राम्रो हुँदैन। अहिले धर्मलाई राजनीतिक एजेण्डा बनाउन त सजिलो होला। तर, भोलि सरकारमा हुँदा मिलाउन गाह्रो हुन्छ।’

आफूहरुले जनयुद्धकालिन समयमा पनि मठ, मन्दिरमा आक्रमण नगरेको शर्माले स्मरण गराए। उनले भने,‘धर्म, भाषा र जात अत्यन्तै संवेदनशील कुरा हुन्। यसबारेमा विचार पुर्‍याउनुपर्छ।’ शर्माले मुलुकको अबको गन्तब्य र यात्रा के हुने भन्नेबारे वैचारिक छलफल चलाउनुपर्नेमा जोड दिए। नेता शर्माले अब सबै दलको मुख्य एजेण्डा भनेको नै राष्ट्र निर्माण गर्नु र समृद्ध मुलुक बनाउनु भएको स्पष्ट पारे।

फरक प्रसंगमा उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले नै राम्रो काम गर्ने विश्वास दिलाए। उनले भने,‘सरकारको पहिलो वर्ष आधार वर्ष भयो। ऐन, कानूनहरु ल्याउनुपर्ने थियो। ती सबै ल्याएको छ। अब अर्को वर्षदेखि काम देखिन्छ। आगामी वर्षमा यो सरकारले परीणाम दिन्छ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार