logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

मन्त्रीलाई बुद्ध एयरको जवाफ “एक मन्त्रीको लागी ६८ जना यात्रुलाई असुविधा पार्न असर्थक”


  • राजनीति
  • मंगलबार, बैशाख ३ २०७६

काठमाडौं -सञ्चार तथा सूचना प्रविधि गोकुल प्रसाद बाँस्कोटा भैरहवाबाट काठमाडौंको उडान छुटेको समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएकोप्रति बुद्ध एयरले आफूहरूको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मंगलवार बुद्ध एयरले प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रीलाई कुरेको भए मौसमी कारणले विमानले भैरहवामै रात्री विश्राम गर्नुपर्ने अवस्था आउन सक्ने बताएको हो । जसबाट बाँकी ६८ जना यात्रुलाई असुविधाका साथै आर्थिक व्ययभार पनि बेहोर्नुपर्ने स्थिति आउने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्ति जस्ताको त्यस्तै :

सञ्चार मन्त्रीज्यूको उडानबारे बुद्ध एयरको ध्यानाकर्षण

विभिन्न सञ्चारमाध्यममा माननीय सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाज्यूको हिजो वैशाख २ गते भैरहवाबाट काठमाडौंको उडान छुटेको समाचार प्रकाशित भएको रहेछ । यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

१। वैशाख २ गते काठमाडौं–भैरहवाको उडान नं। ८५७, उडान समय ४ बजेको सट्टा काठमाडौं विमानस्थलको मर्मत र मौसमको खराबीको कारणले उक्त उडान बेलुका ७ बजे उडेको र अवतरण ७ बजेर ३२ मिनेटमा भएको थियो ।

२। काठमाडौंबाट उड्ने बित्तिकै हाम्रा भैरहवा विमानस्थलका कर्मचारीले त्यहाँको सुरक्षा निकायसँग समन्वय गर्दा मन्त्रीज्यू र उहाँको टोली सो उडानबाट नजाने र भोलि वैशाख ३ गते बिहानको उडानमा सिट व्यवस्था गरिदिन अनुरोध गर्नुभएको थियो ।

३।मौसम खराबीको कारण सो उडान यात्रु भरेर तुरुन्तै काठमाडौं फर्कनुपर्ने बाध्यता रहेको थियो । त्यसै अनुरूप सबै यात्रुहरूलाई विमानमा बसालिसकेका थियौं । त्यसको केही क्षणमै सहायक प्रमुख जिल्ला अधिकारीले फोन गरेर उडान रोक्नु, मन्त्रीज्यू र उहाँको टोली करीब २०–२५ मिनेट दुरीमा रहेको होटल टाइगर प्यालेस रिसोर्टबाट हिँड्नु हुने भन्ने जानकारी दिनुभयो ।

यदि अर्को ३०–३५ मिनेट कुर्नु परेको भए मौसमी कारणले सो उडान भैरहवामै रात्री विश्राम गर्नुपर्ने अवस्था आउनसक्थ्यो जसबाट बाँकी ६८ जना यात्रुलाई असुविधाका साथै आर्थिक व्ययभार पनि बेहोर्नुपर्‍थ्यो ।

सुरक्षित र सकभर समयमै उडान भर्नु हाम्रो पहिलो दायित्व हो । त्यसैकारण हाम्रो व्यवस्थापन निर्णय अनुसार सो उडान बाध्यात्मक कारणले राति ८ बजे भैरहवाबाट काठमाडौंतर्फ उडयौं र काठमाडौंमा ८ बजेर ४९ मिनेटमा अवतरण गर्‍यो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार