राजनीति
पोखरा-साइबर मुद्दामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को हिरासतमा रहेका पोखराका पत्रकार अर्जुन गिरीको रिहाईको माग गर्दै नेपाल पत्रकार महासंघ कास्की सम्बद्ध पत्रकारहरुले धर्ना दिएका छन ।मंगलबार पत्रकार गिरीको रिहाईको माग गर्दै पत्रकारहरुले जिल्ला प्रहरी कार्यालय कास्की अगाडी धर्ना दिएका हुन ।
पोखराबाट प्रकाशितप्रसारण हुने पत्रपत्रिका, टेलिभिजन, रेडियो तथा अनलाइनहरुले बुधबार पत्रकार अर्जुन गिरी विरुद्ध लगाइएको साइबर अपराध मुद्दाको विरोध गर्दै विरोध जनाउने भएका छन्।
नेपाल पत्रकार महासंघ कास्कीले जारी गरेको पत्रमा पत्रिकाको सम्पादकीय कोलामा कालोपोत्ने, टेलिभिजन र रेडियोले बिहान ६ बजे ९० सेकेण्ड प्रसारण रोक्ने, अनलाइनमा कालो ब्यानर पप्अप÷स्किप एड प्रकृतिको राख्न अनुरोध गरिएको छ।
महासंघ कास्की अध्यक्षले पत्र जारी गर्दै ताण्डव न्यूज साप्ताहिकका सम्पादक गिरीले समाचार लेखेकै आधारमा साइबर अपराध अन्तर्गत मुद्दा बढाइनु आपत्ति भएको जनाए।
दर्ता भएको अनलाइनबाट समाचार प्रकाशित हुँदा पत्रकारलाई अवैधानिक तवरबाट झुटा मुद्दा लगाई हिरासतमा लिइनु गैरकानूनी भएको महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए।त्यस्तै, पत्रकार गिरीको रिहाईको माग गर्दै नेपाल पत्रकार महासंघ गण्डकीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।११ वटै जिल्लाका प्रशासन कार्यालय तथा प्रहरी कार्यालय अगाडी धर्ना दिन आह्वान गरिएको अध्यक्ष त्रिभुवन पौडेलले जानकारी दिए।
पोखराबाट सञ्चालित ताण्डव साप्ताहिकका सम्पादक अर्जुन गिरीलाई पक्राउ गरेको विरोधमा काठमाडौंमा प्रदर्शन गरिएको छ। अनलाइन पत्रकार समूहको अगुवाइन विभिन्न पत्रकार समूहको सहभागितामा मंगलबार माइतीघरमा प्रदर्शन भएको हो।
त्यसैगरी गिरीको रिहाईको माग गर्दै तनहुँका सञ्चारकर्मीले मंगलबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन्। नेपाल पत्रकार महासंघ तनहुँको आह्वानमा ४ बजेदेखि पाँच बजेसम्म धर्ना दिएका हुन्। धर्नापछि आयोजित विरोध कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्यले ठगी सम्बन्धि समाचार लेखेको भरमा विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दर्ता गरेर पत्रकार गिरीलाई गिरफ्तार गरिनू निन्दनीय भएको बताए।