logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

विप्लवसंग बार्ता गर्न प्रचण्डले पहल लिनुपर्छ : नेता सिटौला


  • राजनीति
  • बिहिबार, बैशाख ५ २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटाैलले विप्लवलाइ बार्तामा ल्यायर समस्याको हल खाेज्न सुझाएका छन् उनले यसकालागि प्रचण्ड ले नेतृत्व लिनुपर्ने सुझाव लिएका छन्।

तत्कालीन माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन महत्त्वपूर्ण भूमिका खेलेका काँग्रेस नेता कृष्णप्रसाद सिटौला विप्लवलाई राजनीतिक मूलधारमा ल्याउन र समस्याको समधान गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै अग्रसरता देखाउनुपर्ने बताउँछन् ।

उनले भने ‘हिजोको माओवादीसँगको वार्ता र उनीहरुको शान्तिपूर्ण राजनीतिमा भएको अवतरणको अनुभवका आधारमा भन्ने हो भने यसमा सबभन्दा बढी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गम्भीर रूपमा सोच्नुपर्छ । किनेभने आज विप्लव माओवादीसँग जोडिएका अधिकांश कार्यकर्ताहरु हिजो प्रचण्डसँग कहीँ न कहीँ जोडिएका थिएँ । त्यसैले पनि उहाँले एक पटक गम्भीरतापूर्वक सोच्नुपर्ने हुन्छ । अरू व्यक्तिभन्दा विप्लवलाई सहजै अवतरण गर्न सबैभन्दा सहज र सजिलो प्रचण्डबाटै सहज हुन्छ ।’

सरकारले विप्लव समूहसँग वार्ता गर्न खोजेको भए अन द ट्र्याकको खोजी गर्नुपर्ने सिटौलाको सुझाव छ ।

‘प्रधानमन्त्री र गृहमन्त्रीले भनेझैँ सरकारले विप्लव समूहसँग वार्ता गर्न खोजेको हो भने अन द ट्र्याकको खोजी गर्नुपर्छ,’ नेता सिटौलाले भने, ‘सीधै वार्तामा आऊभन्दा वार्तामा आउने अवस्था नबन्ला । वार्तामा आउनुपहिले विश्वासको वातावरण चाहिन्छ ।’

वार्ताअघि सरकारले विप्लवलाई विश्वासमा लिनसक्नुपर्ने भन्दै सिटौलाले वार्तामा सहमति हुन नसके पनि धोका हुँदैन भन्ने आश्वस्त बनाउन सक्नुपर्ने बताए ।

‘वार्ताको टेबुलमा आइसकेपछि वार्ता मिलेन भने पनि धोका हुँदैन । यथास्थितिमा फर्किन सकिन्छ । भन्ने विश्वास दिलाउन सक्नुपर्छ । यथास्थितिमा फर्कंदा त्यसपछि राज्यले सोच्ने कुरा आफ्नो ठाउँमा छ,’ नेता सिटौलाले भने, ‘पछिल्लो समय विप्लव समूहका नेता कार्यकर्ताहरु पक्राउ परेको समाचार सुनिरहेका छौँ । उनीहरुको माथिल्लो काम कारबाही कुन स्थितिमा छ ? त्यसमा सरकार र विप्लव समूहको धारण के हो ? त्यसले पनि कतिपय कुराको भविष्य निर्धारण गर्छ ।’

वार्ताका लागि विप्लवले चाहेको राजनीति पक्ष के हो भन्ने कुराले पनि केही सिनारियो देखाउने उनको तर्क छ ।

‘वार्ताका लागि राजनीतिक पक्षको पनि कुरा आउँछ । विप्लवले चाहेको राजनीति के हो ? जस्तै हिजो माओवादीले संविधानसभाबाट संविधानमा पुग्ने कुरा थियो । यता राज्यले चाहेको माओवादीले हतियार छोड्नुपर्छ, हत्या हिंसा छोड्नुपर्छ भन्ने थियो । अन्त्यमा मओवादीले हतियार पनि छोड्ने, यता संविधानसभामा पनि जाने र संविधानसभाबाट संविधान बनाएर गणतन्त्रसम्म पुग्ने एउटा राजनीतिक निष्कर्षका साथ त्यतिबेला वार्ताको भएको हो’, नेता सिटौलाले तत्कालीन अवस्थाको स्मरण गरे । उनले त्यसबेला र अहिलेको अवस्था भने फरक रहेको बताए । ‘आजको स्थितिमा त्यत्रो ठूलो राजनीतिक परिवर्तनको कुरा नहोला । तथापि यसभित्र राजनीतिक तत्त्व के हो ? जसले दुई पक्षलाई जोड्न सक्छ ? त्यो पक्षको पनि खोजी गर्नुपर्छ ।’

सरकारले वार्ता नै चाहेको हो भने त्यसका लागि कसैलाई मध्यस्तकर्ताको रूपमा अगाडि सार्नुपर्ने उनको बुझाइ छ ।

‘सरकारले वार्ता गर्न चाहेको हो भने कसै न कसैलाई वार्ताका लागि अगाडि सरेको होला । बाहिर एक्सनमा गएर विप्लव समूहलाई तह लगाउने कुरा गर्नु अर्कै कुरा भएको भन्दै सिटौलाले भने, ‘त्यो होइन भने वार्ताबाट समाधान खोज्छु भन्ने सरकारले त्यसको होमवर्क गर्नुपर्छ ।’

अब विप्लवले पनि गम्भीर हुने अवस्था आएको सिटौलाको भनाइ छ । ‘सबैभन्दा ध्यान दिनुपर्ने कुरा विप्लवतर्फ बढी छ । किन भने हिंसात्मक घटना धेरै घटिसकेपछि अहिलेको अवस्थामा त्यसले ठूलो समस्या ल्याउँछ । हिजोको जस्तो परिस्थिति आज छैन,’ नेता सिटौलाले भने, ‘शान्तिपूर्ण ढङ्गले राजनीतिक समधान गर्ने हो भने यसमा ध्यान दिनैपर्छ । एनसेलको कार्यालयमा बम विस्फोट र मानिसको ज्यान नै जाने जस्ता घटनाले कसैलाई फाइदा गर्दैन ।’

उनले थपे, ‘सरकारले यो अवस्थामा विप्लव समूहलाई विश्वासमा लिन सक्छ । राज्य र विप्लवका बीचमा विश्वासको वातावरण जसले तयार गर्छ, उसैलाई यसको जिम्मा दिनुपर्छ । यो व्यक्ति त्यो व्यक्ति भन्ने भन्दा पनि दुवै पक्षबीच विश्वासको वातावरण खडा गर्दै समन्वय गर्ने व्यक्तिलाइ अगाडि सार्नुपर्छ ।’

यदि दुवै पक्षले वार्ता चाहाने हो भने प्रतिबन्धले कुनै फरक नपार्ने सिटौलाको भनाइ छ । तर सहमतिमा उनले वार्ताका लागि दुवै पक्षले एक अर्काप्रति गरिरहेको कारबाही रोकेर पनि वार्तामा बस्न सकिने बताए ।
‘वार्ताका लागि प्रतिबन्ध भन्ने कुरा गौण हो । अहिले जुन कारबाहीको अवस्था छ । दुवै पक्ष वार्ताबाट समधान चाहन्छ भने आफ्नो गतिविधि तथा एक अर्काप्रतिको कारबाही रोक्न सक्छन्’, नेता सिटौलाले भने । राताेपाटीबाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार